धरानः राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल समस्या ल्याउने चेतावनी दिएका छन् ।
एसइईको नतिजा पश्चात् आफ्नो धारणा राख्दै अध्यक्ष पौडेलले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए । आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।
शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए । उनले परीक्षा बोर्डले कस्तो विद्यार्थी भनेर नचिनेको दुई वर्ष भइसकेको टिप्पणी गरे ।
उनले भने,‘यो किसिमको निर्णय पोल्टिकल लिडरसिपले गर्ने हो भने, निरक्षर मानिसले हाइस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ ।’
उनले अगाडि थपे,‘तल्लो तहमा कक्षा अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ शिक्षकलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भने जसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढे पनि पास र नपढे पनि पास गर्दै उ हाइस्कूलसम्म पुग्छ ।’
उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए । त्यसैगरी उनले कक्षा–१२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताए । देशैभर परीक्षा संचालन हुने केन्द्रहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा सञ्चालन गर्न सकिने विश्वास ब्यक्त गरे । कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उनले बताए ।
उनले पद्धतिले विद्यार्थीहरुमा पढे पनि पास र नपढे पनि पास भन्ने मानसिकता बढाउने उल्लेख गरे । यसले भविष्यमा यसबाट मुलुकलाई ठूलो क्षति हुने बताए ।