धरानः अब एसईई परीक्षामा ३५ प्रतिशत ल्याउनैपर्ने भएको छ । यतिका प्रतिशत नल्याए फेल । विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा तोकिएको न्यूनतम अङ्क ल्याउनैपर्ने व्यवस्था गरिन लागेको हो । अक्षराङ्कन विधिले सिकाइ गुणस्तरमा प्रभाव पारेको भन्दै यस्तो तरिका अपनाउन लागिएको हो ।
हाल सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर कुल आउने अङ्कका आधारमा मूल्याङ्कन गरिँदै आएको छ । एक सय पूर्णाङ्कको विषयमा प्रयोगात्मकमा शिक्षकले खल्तीबाट २५ अङ्क दिने गरेका छन् र परीक्षामा विद्यार्थीले पाँच अङ्कमात्र हासिल गरेमा स्वतः डीप्लस प्राप्त हुने अवस्था छ । यो अवस्थाले विद्याथीमा सिकाइ र पढ्ने बानीको ह्रास भएको तथा यसले गुणस्तर खस्काएको ठहर शिक्षा निकायले गरेको छ ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपससचिव) गणेशप्रसाद भट्टराईले अक्षराङ्कन पद्धति कार्यविधि संशोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै भने, ‘मन्त्रालयले स्वीकृत गरेलगत्तै नयाँ व्यवस्था कार्यान्वयनमा आउने छ ।’ उनले यो व्यवस्था यसै वर्षबाट कार्यान्वयनमा ल्याइने बताए ।
उनका अनुसार ७५ अङ्कको सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र २५ अङ्कको प्रयोगात्ममा न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने प्रस्ताव गरिएको छ । ‘सैद्धान्तिक र प्रयोगात्मक दुवैमा न्यूनतम अङ्क हासिल गरेकै हुनुपर्दछ । हालको जस्तो सैद्धान्तिक र प्रयोगात्मक जोड्ने पद्धति रहनेछैन’ उनले भने, ‘तोकिएकोभन्दा कम प्रतिशत हासिल गर्नेहरुको प्रमाणपत्रमा नन ग्रेडेड भनी उल्लेख गरिनेछ ।’
केन्द्रका उपसचिव भट्टराईका अनुसार कक्षा १ देखि १२ सम्म एउटै किसिमको मूल्याङ्कन पद्धति अवलम्बन गरिनेछ । न्यूनतम ग्रेड प्राप्त गर्न नसक्नेहरुका लागि प्रत्येक कक्षामा ग्रेड वृद्धिको परीक्षाको व्यवस्था रहनेछ ।
यसैगरी मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको कार्यविधिको मस्यौदामा गणित विषयमा पनि प्रयोगात्मक अङ्कको व्यवस्था गरिएको छ । हाल एसईईमा गणित विषयबाहेक सबैमा प्रयोगात्मक व्यवस्था छ । यो व्यवस्थाले कमजोर विद्यार्थीको प्राप्ताङ्कलाई स्वाट्टै माथि बढाइदिएको छ । उनले अब शिक्षकले जथाभावी रुपमा प्रयोगात्मक अङ्क दिन नपाउने बताए । उनका अनुसार प्रयोगात्मकमा विभिन्न पाँच आधार समावेश गरिनेछ । प्रयोगात्मक, परियोजना, सामुदायिक कार्य, इन्टर्नसिप र प्रस्तुति चरण रहेनछ । यसअन्तर्गत विद्यार्थीको हाजिरी, क्रियाकलाप, सहभागिता, त्रैमासिक परीक्षाको अङ्क लगायतको पनि मूल्याङ्कन गरी अङ्क दिने व्यवस्था हुनेछ ।