धरानः नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् ९युएई० मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन्।
युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन्।
जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिए । शेर्पाले आज सेमिफाइनल खेल्नेछन् ।
यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेका छन् । उनी सम्मलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी हुनेछन् । प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी हुनेछन् ।
गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।