धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले अस्तव्यस्त छ । अहिले अहिले चिकित्सक, नर्स, विद्यार्थी, कर्मचारी, सम्पूर्ण पेशागत हकहितका लागि सङ्गठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) लगायतको आन्दोलन जारी छ । प्रतिष्ठान शुद्धिकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिले विगत तीन महिनादेखि आन्दोलन गर्दै आएपनि समस्याको समाधान हुन सकेको छैन । अहिले पनि सरकारले आफूहरुको माग तत्काल कार्यान्वयन नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् । चिकित्सकहरुले बिरामी मर्कामा नपरुन् भन्दै प्रतिष्ठान बाहिरै बसेर पनि बिरामीको स्वास्थ्य परीक्षण समेत गरेको समाचार बाहिरिएका छन् । गत आइतबारदेखि ओपिडी सेवा बन्द छ । सेवा बन्द गर्दा बिरामीले दुःख पाएकोले बिरामीको दुःख देख्न नसकेपछि परीक्षण थालिएको सङ्घर्ष समितिले जनाएको छ । प्रतिष्ठान बन्द छ भनेर थाहा नहुनेहरु र झुक्किएर प्रतिष्ठान आइपुगेकालाई सेवा दिन थालिएको समितिले जनाएको छ ।
प्रतिष्ठान दक्षिण एशियामै नाम कहलिएको र प्रतिष्ठित संस्था भएपनि यहाँको बेथितिको चाङ डरलाग्दो छ । राजनीतिक कारणले आर्थिक अवस्था पनि धरासायी बन्दै गएको छ । प्रतिष्ठानको यो हालत हुनु अर्थात् थाङ्थिलो बन्नुमा राजनीति नै कारक तत्व हो । साथै प्रतिष्ठान अहिले अनियमितताको दलदलमा समेत फँसेको छ । विशेषतः काम गर्ने निकायले नै फाष्ट ट्रयाकबाट काम गर्न सकेको छैन भन्दा फरक नपर्ला । अख्तियारलगायतले फाइल मात्रै लैजाने र फाइलको चाङ बनाइरहँदा विकृति, विसङ्गति, अनियमितताजस्ता कुरामा अझै मौलाउँदै गएको र बढवा पुगेको सङ्घर्ष समितिले जनाएको छ ।
सोमबार नेकपा एमाले, राप्रपा, सङ्घीय लिम्बुवानलगायतले प्रतिष्ठानमा प्रदर्शन गर्दै तालासमेत तोडेका छन् । उनीहरुले सेवा ठप्प हु“दा बिरामी मर्कामा परेको भन्दै ताला तोडेको छन् । यसअघि भ्रष्टाचार, विकृति, विसङ्गतिलगायतका विषयमा आवाज उठाइरहेका चिकित्सक, नर्स, कर्मचारी चिकित्सकको आन्दोलन पनि लामो नै भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो र सो समितिले प्रतिवेदन समेत तयार गरेको थियो । तर सो प्रतिवेदन कार्यान्वयनतर्फ चासो नदिएको भन्दै फेरि आन्दोलनरतपक्षले ओपिडीलगायतको सेवा बहिष्कार गर्दै काम छोडेका थिए । यसले सबैभन्दा बढी बिरामी मारमा परेका छन् । धरानका जनताले धरान बाहिर जानुपरेको अवस्था छ भने धरानबाहिरका बिरामीले अन्य ठाउ“ खोज्दै जानुपर्ने अवस्था छ ।
अहिले प्रतिष्ठानमा शैक्षिक कार्यक्रम र चिकित्सा सेवा अस्तव्यस्त छ तर समाधानको पाटोमा सरकारले खासै ध्यान दिएको देखिदैन । तीन महिनासम्म पनि आन्दोलनकारीका मागप्रति सरकार संवेदनशील नहुनु भनेको त्यो भन्दा दुर्भाग्य केही होइन । सरकारले उदासिनता देखाउँदा नै अहिले यो अवस्था आएको हो भन्न सकिने आधार छन् । आन्दोलनकारीहरुसँग भएको सहमति कार्यान्वयन नै पहिलो प्राथमिकता हो । त्यसैले सहमति कार्यान्वयन गर्दै स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर बन्नु आजको आवश्यकता हो । (हाम्रो कोशी आवाज पत्रिकामा प्रकाशित)