पूर्वको मात्रै कुरा गर्ने हो भने दुईवटा घटनाले मानसपटलमा छाप छोडेको छ । भर्खरै संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या र २०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा दुई परिवारका ९ जनाको एकैरातमा विभत्स हत्या । पाँचथरको घटनाको कुरा गर्ने हो भने दुई परिवारका ८ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको थियो । ७५ वर्षीय फियाकसहित उनकी श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर, नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालै धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानले देखाएको छ । यस्तै, ३४ वर्षीय धनराज शेर्मा, उनकी ३५ वर्षकी जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीय युहाना, १० वर्षीया मुना र ६ वर्षीया इच्छा शेर्माको हत्या भयो । त्यतिबेला घटनास्थलबाट केही पर कान्छा ज्वाइँ मानबहादुर माखिम झुन्डिएको अवस्थामा भेटिए । मानसिक रोगी माखिमले नै हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
यस्तै, संखुवासभाको मादी–१ उम्लिङमा पनि यस्तै घटना भयो । त्यहाँ पनि सामूहिकरुपमा विभत्स हत्या भयो । गत सोमबार ८४ वर्षीय वृद्धादेखि ५ वर्षीया बालिकासम्मको हत्या भयो । ८४ वर्षीया पार्वती कार्की, उनको छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपीन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या भयो । प्रहरीले अभियुक्त लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ । यी त केही प्रतिनिधी घटना मात्र हुन् । प्रदेश नं. १ मात्रै नभएर देशभर नै यस्ता घटना घटिरहेका छन् । आखिर किन भइरहेको यस्तो घटना ? यस्ता विषयले अहिले गम्भीर बनाएको छ । पछिल्लो समय चर्चामा आएका यी दुई घटनाले सबैको मनमा एकखालको त्रास सिर्जना गरेको छ । अहिले परिवारकै सदस्यबाट असुरक्षित हुने दिन आइसकेछ भनेर सर्वसाधारणले अट्कल काट्न थालिसकेका छन् । किन परिवार र समाजबाट हामी असुरक्षित छौं भनेर बेलैमा सोच्नु आजको आवश्यकता हो । भनौं अहिले डरलाग्दो बाटोमा समाज अघि बढ्दै गएको छ । अपराधको जालोमा नेपाल समाज अघि बढ्दै जानु दुःखद् हो । अब यसको कारण समाजमै खोजिनुपर्छ । अध्ययन हुनुपर्दछ ।
हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कयौं घटना छन्, जसको विश्लेषणबाट हाम्रो समाज कतातिर गइरहेको छ भन्ने अनुमान लगाउन सक्छौं । जीवनशैलीमा परिवर्तन, प्रविधिको विकास, वैदेशिक रोजगार, राजनीतिक र व्यवस्थाप्रतिको निराशाले पनि अपराध बढिरहेको छ । मानवता हराउँदै गएको छ । अब किन अपराध बढ्दैछ भनेर कारण खोजिनुपर्छ । नकारात्मक मनोविज्ञानको विकासले नै अपराध जन्माउँछ । यसका लागि राज्य र समाज सबै जिम्मेवार बन्नुपर्छ । त्यसैले श्रृङ्खलाबद्ध हत्या, बलात्कार, चोरी, लुटपाटजस्ता घटनाले हाम्रो समाज कतातिर जाँदैछ यसको लेखाजोखा र अध्ययन आवश्यक भइसकेको छ । यस्ता अपराधका घटना रोक्न र क्षति कम हुन दिनका लागि नैतिक शिक्षा अहिलेको आवश्यकता हो । यस्तै, न्यूनीकरणका लागि सामाजिक सचेतना आवश्यक छ । यसबाहेक युवाहरुलाई रोजगारीको अवसरमा पनि सरकार चुक्नु हुन्नँ । हत्याका घटना रोक्न समाज पनि सचेत र चनाखो बन्नुपर्छ । अपराधका घटनाहरु समाजबाटै हुने भएकोले त्यस्ता खालका घटनामा समाजको सहयोग आवश्यक छ । (हाम्रो कोशी आवाज पत्रिकामा प्रकाशित)