Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किन बढेनन्, नौ लाख किरात ?

हाम्रो कोशी आवाज
भाद्र ३१ २०७८, बिहिबार
किन बढेनन्, नौ लाख किरात ?

किरात सभ्यता विश्वकै सबैभन्दा पुरानो सभ्यतामध्ये एक हो भन्ने विश्वका प्रायः जसो सबै विद्घान, खोज, अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, लेखक आदिले स्वीकारेका छन् । किरात वा भनौंहरु किरातीहरु ब्रह्मपुत्र तथा गङ्गा (गोङवा) नदी र यसका शाखा नदीको आसपास विकास भएको मानिन्छ । शुरुमा एसिया महादेशको ठूलो भूभाग (दक्षिण एसिया, दक्षिण पूर्व एसिया, मध्य एसिया) मा किरातीहरु रहे, बसेका थिए । किरात, किरातीहरु कस्मिरदेखि पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म फैलिएका थिए भन्ने इतिहासकारहरुको भनाइ छ ।
किरात वा भनौं किरातीहरुको ऐतिहासिकताबारे संस्कृत साहित्यहरुमा पनि प्रशस्तै चर्चा परिचर्चा गरिएको छ भन्ने भनाइ छ । जस्तो कि, अथर्ववेद, वाल्मिकी रामायण, महाभारतहरु आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरुमा किराती राजाहरु र किराती जनताहरुको उल्लेख गरेको पाइन्छ । त्यस्तै, प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात र किराती जातिको उल्लेख भएको पाइन्छ भने बौद्ध साहित्य, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकला र लोककथाहरुमा पनि किरात र किरातीहरुका बारेमा चित्रण गरिएको पाइन्छ ।
किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले (काठमाडौं उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भूभागहरुमा नै पनि किरातहरुको अनेक सम्प्रभुसत्ता सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ ।
यसरी कुनैबेला एसियाको ठूलो भूभागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशका कारण विस्थापित हुँदै आफ्नो जिमीभूमिको साथै आफ्नो असली जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भूक्षेत्रमा बाँकी रहे । हुँदाहुँदा अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश) को सानो भूभागमा मात्रै आफूलाई प्रष्टसँग किराती भनी चिनाउने जातिहरु रहेका छन् । उनीहरु पनि नेपालको भौगोलिक एकीकरणसँगै कोही ‘राई’, कोही ‘सुब्बा’, कोही ‘मुखिया’ र कोही ‘देवान’ करणमा परेका छन्, पारिएका छन्, गरिएका छन् ।
यसरी भविश्यमा उनीहरुको असली जातीय स्वपहिचान नै ओझेलमा पर्ने अवस्था आइरहेको छ । यसरी आफ्नो असली जातीय स्वपहिचान र अस्तित्व संकटमा परेका किराती महाजातिभित्र पनि सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । जस्तो कि ‘करण’को कुरो गर्दा कुलुङ जातिलाई एक उदाहरणको रुपमा लिन सकिन्छ । कुलुङ जाति पनि १६ खम्बुका अन्य सन्तानहरुझैं भूमि सुधार ऐन २०२१ गाउँगाउँ, टोलटोलमा आएसँगै, लागू भएसँगै ‘राईकरणमा’ परे । किनभने, भूमि सुधार ऐन २०२१ आएसँगै हाल जनता भनिने र ऊ बेला ‘रैती ढाक्रे’ भनिने सर्वसाधारण मान्छेहरुले पनि आफ्नो नाममा जग्गा जमीन दर्ता गर्न पाए । त्यसअघि स्थानीयरुपमा तालुकदार वा भनौं जिम्मावाल अर्थात् ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘पटवारी’ आदिको जिम्मा अर्थात् हातमा हुन्थ्यो, जग्गा–जमीनको स्वामित्व, अधिकार । रैती वा भनौं ढाक्रेहरु पनि भूमि सुधार ऐन आएसँगै फोकटमा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई, चौधरी’ हुन पाए । त्यसअघि तालुकदार वा भनौं जिम्मावालहरुले मात्रै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई, चौधरी’ लेख्न पाउँथे । जसरी हाल ‘प्रधानमन्त्री’ केपी शर्मा ओली भनी लेखिन्छ । महत्वपूर्ण कुरो के छ भने, माथिका चारवटै जाति उल्लेखित पाँचवटा जातिमध्ये चारवटाका कसैले झुक्किएर वा जानाजान आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ र ‘चौधरी’ हो भनी लेखेमा पनि उनीहरुलाई खासै समस्या छैन । किनभने, उनीहरु आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत भएका छन् ।
स्मरणीय छ, सो सूचीमा हाल कथित ५९ जाति सूचीकृत छन् । यहाँ किन कथित् ५९ जाति सूचीकृत जाति भनियो ? यसबारेमा पछि छुट्टै एक लेख लेखिने छ । कतिपय मान्छेहरुले नपत्याउलान् । तर, विसं २०५७–०५८ देखि नै १६ खम्बुका सन्तानहरुमध्ये कुलुङ जातिका अगुवाहरुले वास्तवमा ‘राई’ जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘राई’ पदवी वा पगरीलाई जातिको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान ‘कुलुङ’ ले चिनिन चाहन्छौं । राईको सट्टा ‘कुलुङ’ लेख्छौं भनी आन्दोलन र जनवकालत गर्न थाल्यौं । त्यसका लागि जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने कामहरु भयो, यो काम हालसम्म पनि भई रहेकै छ । त्यसक्रममा नेपालका विभिन्न राजनैतिक दलहरु (स–सानादेखि ठूला-ठूला दलहरु) र तिनका नेताहरुसँग भेटघाट र लविङ गर्ने, उनीहरुमार्पmत् आफ्नो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरु गरयो, गरिरहेको छ । जस्तै तत्कालीन राजनैतिक दलहरु नेकपा (एमाले), नेकपा (माले) वामदेव एमाले नर्पmकिँदासम्म, नेपाली कांग्रेस, नेपाली कांगे्रस (प्रजातान्त्रिक) देखि सीपी (माले), नेमकिपा (नारायणमान बिजुक्छे), संयुक्त जनमोर्चा (चुनाव चिन्ह हँसिया हथौडा), राष्ट्रिय जनमोर्चा (चुनाव चिन्ह गिलास), राप्रपा (नेपाल) चुनाव चिन्ह गाई, राष्ट्रिय जनशक्ति पार्टी (चुनाव चिन्ह छाता), राष्ट्रिय प्रजातन्त्र पार्टी ((चुनाव चिहन हलो) लगायत सबै राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, आफ्नो माग पूरा गराउन प्रतिबद्धता जनाउन लगाउने लगायतका कामहरु पनि विगतमा भएका थिए ।
तर, त्यही बेला अचानक विसं २०६१ माघ १९ को घटना घट्यो । सामान्यरुपमा नेपाली राजनीति बुझ्ने सबैले थाहा पाएकै कुरो हो कि, माघ १९ को सो राजनैतिक घटनापछि मन्त्रीपरिषदको कार्यकारी अध्यक्ष पनि दाजै जस्तो चुप लागेर र, टुलुटुलु हेरेर नबस्ने तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव नै भएका थिए । यसरी प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको स्थानीय विकास मन्त्रालयको प्रतिष्ठानमा फेरि पनि कुलुङ जातिका अगुवाहरुले आफ्नो मागपत्र पेस गरयो । त्यतिबेला कुलुङे ढाक्रेहरु, राजालाई जात माग्न दरबार गए समेत भने ।
हुन पनि आदिवासी जनजाति सूचीमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आफ्नो अलग्गै जातीय स्वपहिचान पनि स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री वा राज्यमन्त्री कहाँ जाने र आफ्नो समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु विगतमा धेरै पटक भएको थियो, अहिलेसम्म पनि यो काम भइरहेकै छ !
किराती खम्बुका सन्तानहरु (कुलुङ लगायत) का बारेमा इतिहासकार बाहेक हाम्रा पिर्तापूर्खा र पूर्वजहरुले मौखिक रुपमा भनी आएको र केही लिखित दस्तावेजहरुले पनि स्पष्ट हुन सहयोग गर्दछ । किरातीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरूको ठूलो योगदान रहेको छ । तर, उनीहरुको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किरातः इन एनसियन्ट इण्डिया) ।
रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरुमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भूभागसमेत रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरुले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरुले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किरातका हाँगाहरु हुन् । सन्दर्भ स्रोतः ‘किराती कुलुङ’ नामक किताब पाना नम्बर(७, ८, ९, १०, ११, … लेखकः इन्द्रबहादुर कुलुङ ।
जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबमा ‘नौलाख किरात’ उपशीर्षकमा ‘हड्सन महोदयका अनुसार किरातीहरुको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किरात’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्, ‘यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाइन्थ्यो र त्यो करको संख्या ९ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।’ यसको उल्लेख फिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । सम्भवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो …।’ भनी उल्लेख गरेका छन् ।
तर, आज आएर हेरौं त । ऊ बेलै ‘नौ लाख किरात’ भनी उल्लेख भएका किरात, किरातीहरु आफ्नै कारणले घट्दै गएर भविश्यमा मिथकमा मात्रै सीमित हुने त होइन ? भन्ने प्रश्न उठ्न थालेको छ । आफूलाई किरात, किराती भनी चिनाउन चाहनेका लागि यो प्रश्न वास्तवमै गम्भीर छ । किनभने, हरेक १०-१० वर्षको राष्ट्रिय जनगणनामा साढे १, साढे १ प्रतिशतका दरले मात्रै जनसंख्या बढ्दा पनि आज आएर किरात, किरातीहरुको जनसंख्या ४०-४५ लाख पुग्नु, हुनुपथ्र्यो कि, होइन र ?
 -ninamkirat123@gmail.com

प्रकाशित मिति: भाद्र ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend