नेपालीहरु स्वास्थ उपचार गर्न नपाएर कहिलेसम्म घरबार र जग्ग्गा जमिन बेच्नुपर्ने र मर्नुपर्ने ? हाम्रा सन्ततिले कहिले राम्रो शिक्षा हासिल गर्न पाउने र राम्रो स्कुल पढ्न पाउने ? सरकारी विद्यालयको स्तरोन्नति कहिले हुने ? नेपालीले कहिलेसम्म गाँस, बास र कपासको लागि दुःख झेलि रहनुपर्ने ? यी प्रश्नहरु अहिलेसम्म पनि छन् ।
प्राकृति, खोलानाला, वनजङ्गल र खनिजले भरिपूर्ण देश, जहिले अरुसँग भीख मागेर कतिञ्जेल चल्नुपर्ने ? हाम्रा युवाहरुले कहिलेसम्म खाडीमा पसिना बगाउनुपर्ने ? नेपाली यो जीवनमा समृद्ध मुलुक भएको हेर्न नपाउने ? यी तमाम प्रश्नहरुले प्रगतिशील र चेतनशील युवाहरुलाई सताइरहेको छ । देशको विकास र समृद्धि चाहने आम नेपालीलाई घचघच्याइरहेको छ । उन्नति र प्रगतिको हुटहुटीले सारा नेपाली तड्पिइरहेका छन् ।
नेतृत्वहरुले समृद्धि र विकास गर्छु भन्ने भाषणमा नसुनिएको नि होइन तर गर्न चाहने र इच्छाशक्ति भएको नेतृत्वलाई खुट्टा तान्ने प्रवृत्ति र छिर्के लगाउने प्रवृत्ति नेपालमा विकासको मुख्य बाधकको रुपमा देखापरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, दलालहरुको प्रभावमा परेर नेपाललाई हाटबजार बनाउने, नेपाललाई सधै गरिब राख्ने र अरुको अधिनस्थ राख्न रुचाउने नेताहरुको कारण मुलुक यो अवस्थामा पुगेको घाम जतिकै छर्लङ्ग छ ।
अर्कोतर्फ नेताहरुका व्यक्तिगत स्वार्थ र जुगाको लडाइँमा विदेशीहरुलाई चलखेल गर्न ‘स्पेस’ दिने काम भएको छ । नेपालमा विकास विरोधी तत्वहरुले अहिले जनमतको अपमान गर्ने काम गरेका छन् । सत्ताधारी नेताहरुको पद र सत्ताको स्वार्थका कारण देशलाई अनिर्णयको बन्दी बनाइएको छ । लोकत्न्त्रमा जनताभन्दा माथि कोही पनि हुन्नँ भन्ने कुरा नेताहरुले बुझेनन् । विश्वैमै कहीँ नभएको घटना अदालतको परमादेशबाट देउवालाई प्रधानमन्त्री नियुक्ति गरियो । यसको जवाफ आगामी निर्वाचनमा जनताले ‘ब्यालेट’बाट अवश्य दिने नै छन् ।
लोकतन्त्र, राजनीतिक दल र नेतृत्व एक अर्कामा परिपूरक हुन् । लोकतान्त्रिक व्यवस्थामा कुनैपनि देशको विकास र समृद्धि हुनु र नहुनुमा राजनीतिक दल र ती दलका नेताहरु मुख्य जिम्मेवार हुन्छन् । मुलुकको प्रगति र उन्नतिमा राजनीति ब्यवस्थाको स्थिरता नि एक ‘फ्याक्टर’ हो तर राजनीतिक अधिकार मात्रले कुनै पनि व्यवस्था टिक्दैन, यदि राजनीतिक प्रणालीले जनतालाई विकास, समृद्धि, जनताको जीवनस्तरमा सुधार र सुशासनको प्रत्याभूति दिएन भने सो व्यवस्था दिगो हुन सक्दैन र जाँदैन पनि । कतिपय स्थिर राजनीतिक व्यवस्था भएका मुलुकहरूमा पनि नेतृत्वको असक्षमता र अपरिपक्वताका कारण उक्त मुलुकहरू गरिबी र पछौटे छन् । नेपाल नि ती मुलुकहरुको सूचीबाट कहिले हट्ने ? अर्कोतिर कतिपय मुलुकहरुमा नेतृत्वको दुरदर्शिता र सही नीतिका कारण एक दुईदशकमा नै ती देशहरुले विकासमा अपत्यारिलो फड्को मारेका छन् ।
उदाहरणका रुपमा मलेसिया, सिङ्गापुर र चीनजस्ता मुलुकलाई हेर्न सक्दछौं । छिमेकी देश चीनले सी को नेतृत्वमा आर्थिक सामाजिक क्रान्तिमा छलाङ मारिरहेकोे छ । आफ्ना करोडौं नागरिकलाई गरिबीबाट मुक्त गरेको छ । अहिले विश्वको दोश्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । केही वर्षमा नै विश्व अर्थतन्त्रमा अमेरिकालाई उछिन्दैछ । हामी नेपाली भने दुई ठूला ठूला अर्थतन्त्र भएको मुलुक चीन र भारतको बीचमा पिल्सिएर पीडित भएर बसेका छौं । उनीहरुबाट न कुनै आर्थिक लाभ लिन सकिरहेका छैनौं ? कारण किन ? कारण हाम्रो आर्थिक नीति मात्र हो ? कि हामी कसैको प्रयोग त भइराखेका छैनौं ?
देशको विकासमा छिमेकीको नि ठूलो प्रभाव हुन्छ । हाम्रो जस्तो भूजडित मुलुकमा त झन छिमेकी देशहरुसँगको सम्बन्ध नङ र मासुझै रहेको हुन्छ । नेपालको भारतसँगको सम्बन्ध झन सांस्कृतिक समानता र खुल्ला सीमानाका कारण एक अर्कासँगको अन्तरनीहितरुपमा रहेको छ । हामीले उत्तरको विश्वास जित्न सकेका छैनौं कि दक्षिणतिर ज्यादा ढल्किएका छौं ? दक्षिणको विश्वास जित्न कि उत्तरलाई चिढयाइराखेका छौं । अनि चीनलाइ चियो गर्न पश्चिमा र अमेरिकाको गोटी बनिरहेका छौं ? र यस्तै यस्तै खेलहरुको खेलमा नेपाली नेताहरु रुमलिरहेका त छैनन् ? प्रश्न खडा भएको छ । अनि देशका नेताहरु उनीहरुकै दलाली गरिरहेका त छैनन् ? नेपाल कुनै छिमेकी मुलुकविरुद्ध प्रयोग हुनेवित्तिकै हामी जटिल मोडमा पुग्दछौं । गणतन्त्रको युगमा मित्र राष्ट्रहरुसँग हाम्रा हित अनुकुल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको बारेमा स्पष्ट कुरा सक्नु पर्दछ । हामीले नि छिमेकीको चासो र सुरक्षालाई पनि ध्यानमा राख्न र सम्बोधन गर्न सक्नुपर्दछ । नेपाली जनताले त्यस्तो आँट र साहस भएको नेता केपी ओलीमा देखे अनि कसैसामु नझुक्ने र विदेशी सामु खुट्टा नकमाउने राजनेताको रुपमा नेता केपी ओलीलाई जनताले मानेपछि समकालीन नेताहरुमा इष्या पैदा भएको हो ।
राष्ट्रले जब एउटा बलियो र विश्वासिलो नेतृत्व पायो तब आम जनतामा अत्मविश्वास पैदा भयो । इतिहासको लामो कालखण्ड पछि नेपाली जनताले केपी शर्मा ओली जस्तो एक राष्ट्रवादी, निडर, विकासप्रेमी, जनप्रेमी र जनतामा आशाको किरण दिने प्रधानमन्त्री र नेतृत्व पाएको थियो । ओलीको सरकार आएपछि दक्षिणतर्फ बढी ढल्किएको आर्थिक ब्यापार र राजनीति सम्बन्ध चीन हुँदै विश्व अर्थतन्त्रसँग जोडिँदै गएको थियो । उत्तरतर्फका नाकाहरु धमाधम खुल्दै थिए । सख्खा बन्दरगाह बन्दै थिए । चीनसँग ल्हासा हुँदै रेलमार्गको कुरा हुँदै थियो ।
कोभिडको महामारीले विकासको कार्यमा केही अवरोध आएपनि विकासका लहरहरु आउँदै थिए । चौतर्फी बाटोघाटो निर्माण हुँदै थिए । कालोपत्रे सडक, पुल पुलेसा निर्माण कार्य द्रुतगतिमा अगाडि बढ्दै थिए । प्रत्येक पालिकामा हस्पिटल बन्दै थिए । विकासका चौतर्फी मुहानहरु फुर्दै थिए । तुइन विस्थापन, सुरुङ मार्गको सुरुवात, तीब्र जलविद्युत उत्पदन, रानिपोखरी निर्माण, विमानस्थलको निर्माण र पुनर्निर्माण, रानीपोखरी पुनर्निर्माण, घण्टाघर पुनर्निर्माण, राज्यको सामाजिक दायित्व र नेपाललाई डिजिटल युगमा प्रवेश गराइएको थियो । देशको अर्थतन्त्र र क्षमताले भ्याएसम्म हरेक स्थानमा ओलीको नेतृत्वको सरकारले बलियो उपस्थित देखाएको थियो । देशमा विकासको ढिका खुलिसकेको थियो । नेपालीहरुको विकास, रोजगार र जनताको जीवनस्तर उकास्ने युगको सुरुवात हुँदै थियो ।
तर बीचैमा आफ्नै पार्टीका नेताहरु विदेशीको निर्देशनमा आफ्नै पार्टीको सरकार ढाल्न र आफ्नै कम्युनिस्ट फुटाउनतिर लागे । राजनीति खिचातानीले मुलुकको विकासको अभियान केही समय धकेलियो । जनताको भविश्य र सपनामा तुषारापात भयो । मजदुर, किसान, दुःखी गरिब र सुकुम्बासीको आशामाथि खेलवाड भयो । जनादेशबाट आएको सरकारलाई षड्यन्त्रपूर्वक परमादेशबाट हटाइयो । जनताद्वारा तिरस्कृत गरिएका नेता र दलको सरकार बनाइयो । तर जनताले पनि वास्तविक विकासका बैरीहरु चिन्ने मौका पाए । नेपालमा अस्थिरता चाहने पार्टी र नेतृत्वलाइ छर्लङ्ग चिन्न पाए । पटक पटक प्रधानमन्त्री भएर सिन्को भाँच्न नसक्ने पार्टी र नेतालाई झन नजिकबाट जनताले चिने । विकासको कुनै भीजन र योजना नभएको हरूवा पार्टीको नेतालाई नि जबर्जस्ती सत्तामा बसाएर लोकतन्त्रको ढ्वाङ फुके । यो सरकारको अलोकतान्त्रिक कदमलाई अग्रगमनको बोर्को ओढाएर सजाए । जनताले दिएको भोट पद र सत्ताका लागि बेच्ने नेता पनि चिन्न मौका पाए । समग्रमा यो सत्ता र पदको लागि मरिमेट्नेहरुको गठबन्धन हो भन्ने जनताले राम्ररी बुझेका छन् ।
अब आम कम्युनिष्ट कार्यकर्ताले स्पस्ट रुपमा बुझ्न जरुरी छ । अबको कम्युनिष्ट मूल प्रवाह भनेको नेकपा एमाले नै हो । देशलाई विकास, समृद्धि र स्थिरता दिन सक्ने एकमात्र नेता भनेकै ओलि हुन जस्तो लाग्छ । विदेशीको इशारामा नेकपा एमाले पार्टी र ओलीलाई सरकार बाट त षड्यन्त्रपूर्वक निकाले पनि जनताको अपार माया जनतामा झन झन बढ्दै गइरहेको छ । नेकपा एमालेप्रति जनताको आकर्षण बढ्दै गइरहेको छ । जनताको अधूरो सपना पूरा हुन नदिने लोभी पापीहरुको षडयन्त्रलाई जनताले नजिकबाट नियालिरहेका छन् । कम्युनिष्टको फुट अभिसाप हो । नेता फुटेर गएपनि कार्यकर्ता फुटको पक्षमा जानुहुन्नँ । अहिले पार्टी फुटेको अवस्था छैन । अहिलेका पार्टी छोडेर जानेहरु रुखका पात खसेका हुन् । नेकपा एमाले जस्ताको त्यस्तै छ । अब कम्युनिष्टको मूल प्रवाह नेकपा एमालेलाई बनाउन सबै लागौं ।
अपवित्र गठबन्धनप्रति जनतामा घृणा जागिसकेको छ । कम्युनिस्ट नेता कार्यकर्ताहरु र नेपाली जनताहरु अब केपी शर्मा ओलीको नेतृत्वमा गोलबन्द हुँदै जाँदैछन् । सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्न आगामी निर्वाचनमा जनताले फेरि पनि नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी गराउने नै छन् । (लिम्बू नेकपा एमालेका युवा नेता हुन्)