Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका आयोजनाः नसेलाओस्

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
धरानका आयोजनाः नसेलाओस्

धरानमा जुनसुकै आयोजना र परियोजनाको कुरा गर्ने हो भने समयमा सकिएको पाइएको छैन । धरानमा सर्दु करिडोरका कुरा अहिले चर्चामा छ । २५ करोडको लागत इस्टिमेट, १० करोड ६२ लाखको ठेक्कामा यो परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । परियोजना बने ७ सय घरधुरीका करिब १४०० घरधुरी लाभान्वित हुने जनाइएको छ ।
धरानमा कि राजनीतिक विवाद कि अनेक स्वार्थका कारण ठूला आयोजना अघि बढ्न सकेका थिएनन् तर यो आयोजना दुई वर्षभित्र सकिनेगरी शिलान्यास भएको छ । यसले एकातिर ठूला आयोजना पनि अघि बढ्छन् भन्ने सन्देश दिएको छ । यस्तै, २०६२ मै मन्त्रिपरिषदले तीनकुनेस्थित सुन्दरवस्ती विकास आयोजनालाई अगाढि बढाउन पूर्वाधार तयारी गरी शुरु गरेको थियो तर ढिलै भएपनि अहिले सेलाएको बसपार्क बन्ने चरणमा छ । यसले पनि अब धरानमा ठूला आयोजना अघि बढ्दैछ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।
अहिले केही शुरुवात भएपनि धरानका धेरै आयोजनाहरु अन्यौलमै छन् । कति त शुरुवात भएपछि विवादमा समेत तानिएका छन् । जस्तैः खानेपानी आयोजना । अहिले पनि खानेपानी आयोजनाबारे सबैमा अन्यौलकै स्थिति छ । आयोजना खानेपानी बोर्डमा हस्तान्तरण भई अहिले परीक्षणको कामहरु भइरहेको छ भनिएको छ । खानेपानी आयोजना जुनरुपमा डिजाइन गरिएको हो । त्यो आपूर्ति सँगसँगै धरानको आवश्यकता पूरा हुन्छ कि हुँदैन भनेर हामी परीक्षणको चरणमा रहेको मेयर राईले बताउँदै आएका छन् ।
कतिपय आयोजना पूरा नहुँदा धराने जनतामा निराशा छाउनु स्वभाविक हो । त्यस्तै, धरानको एयरपोर्ट अहिले पनि अन्यौलमै छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नै स्थानीय सरकारले एयरपोर्ट बनाउन नसक्ने धारणा राखिसकेका छन् । एयरपोर्ट नबन्नुमा प्राविधिक नहुनु, यसमा लगानी गर्ने बजेट नहुनु आदि कारण उनले दर्शाएका छन् । माथि सङ्घीय सरकारका मन्त्रीहरु धरान उपमहानगरपालिका क्षेत्रमा एयरपोर्ट आवश्यक छ भन्ने पक्षमा ‘कन्भिन्स’ नभएकै कारण पनि एयरपोर्ट लथालिङ्ग बन्ने सम्भावना बढेको उनको भनाइ छ । उनी भन्छन्–जबसम्म केन्द्रीय सरकार एयरपोर्ट बन्ने विषयमा कन्भिन्स हुँदैन, तबसम्म एयरपोर्ट बन्ने सम्भावना छैन । यस्तै, अहिले धरानको बीच बजारबाट जाने कोशी राजमार्ग सरकारी मापदण्ड २ सय ५ फिटको सडक बजार बीचबाट बनाउन सम्भव छैन भनिएको छ । धरान उपमहानगरपालिका ८० फिट बनाउनुपर्छ भनेर लागिरहेको छ । यो पनि विवादमा नआउनेगरी काम गर्नु जरुरी छ ।
धरानमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने योजना अहिले त्यतिकै सीमित बनेको छ । अहिले त्यहा“ ट्याक्सीपार्कबाहेक केही हुन सकेको छैन । यसअघि त्यहा“ सब्जी बजार थियो । कतिपयले बरु सब्जीबजारबाट उपमहानगरपालिकाले फाइदा लिन सक्थ्यो समेत भनिरहेका छन् । यस्तै, धरान–३ मा निर्माण गर्ने भनिएको ‘मिट कम्प्लेक्स’ गुरुयोजनामै परेको थियो तर केहीले विरोध गरेपछि त्यो त्यतिकै रोकिएको थियो । धरान–१७ सप्तरंगी पार्कको हालत भनिसक्नु छैन । धरानमा बढीजसो राजनीतिक खिचातानी, विकासविरोधी मानसिकता आदि कारणले पनि धेरै आयोजना असफल भएको धेरैले बताउ“दै आएका छन् ।
अब यस्ता आयोजनामा विरोध गरेर मात्रै हु“दैन । विकल्प पनि दिन सक्नु आजको आवश्यकता हो । धरानमा विकासका आयोजनाहरु त्यतिकै सेलाउ“छन् भनेर टिकाटिप्पणी पनि हुने गरेको छ । सर्दु करिडोरले पनि शिलान्यासमै सीमित हुनसक्छ भनेर टिकाटिप्पणी गर्नेहरुको पनि कमी छैन । त्यसैले यस्ता आयोजना र परियोजनालाई अघि बढाउनका लागि स्थानीय सरकार डटेर लागे विश्वास गर्ने आधार रहन्छ । (हाम्रो कोशी आवाज पत्रिकामा प्रकाशित)

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend