धरानः धरानमा कांग्रेसको महाधिवेशन शुरु भएको छ ।
शनिबार बिहान ८ बजेदेखि धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको भवनमा मतदान भइरहेको छ । मतदान हुने ७ पदाधिकारीमा १ सभापतिका लागि २ जना, २ उपसभापतिका लागि ४ जना, २ सचिवका लागि ४ जना र २ उपसचिवका लागि ४ जनाको उम्मेदवारी परेको जनाइएको छ ।
सबै पदमा २–२ जनाको उम्मेदवारी परेको छ । सभापतिका उम्मेदवार किशोर राई र श्याम पोख्रेलको प्यानलबाट उम्मेद्वारी परेको हो । किशोरको प्यानलबाट उपसभापतिमा महेन्द्र तामाङ र राजकुमार थोप्रा (लिम्बू) उम्मेदवार छन् । सचिवमा रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठ उम्मेद्वार बनेका छन् । सहसचिवमा कमला रुचाल र गोपाल कार्की उम्मेदवार छन् ।
पोख्रेलको प्यानलबाट उपसभापति पदमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बू छन् भने सचिवमा हिमाल श्रेष्ठ र जीतेन्द्र राई उम्मेदवार बनेका छन् । सहसचिवमा शिला बज्राचार्य र युनेष राना मगर उम्मेदवार छन् । यी प्यानलमध्ये एकलाई जिताउन ४८६ जनाले मतदान गर्नेछन् ।
कांग्रेसको विधानअनुसार नगर समितिमा प्रत्यक्षतर्फ २० जना महिलासहित ६० जना सदस्य रहने व्यवस्था छ । साथै समानुपातिक सदस्यहरुमा खस आर्यबाट ३ महिला सहित ७ जना, आदिवासी जनजातिबाट १३ महिलासहित २६ जना, मधेशीबाट १ महिला सहित २ जना, दलितबाट २ महिला सहित ४ जना र मुस्लिमबाट १ जना नगर समितिमा सदस्य रहने व्यवस्था छ । प्रत्यक्ष र समानुपातिक सदस्यहरु सबै निर्विरोध निर्वाचित भएको बताइएको छ ।
‘मार्केट’ मा धेरैले किशोरले सहजै चुनाव जित्छन् भनिरहेका छन् भने श्यामले पनि सहजै जित्छन् नै भनिरहेका छन् । यी दुवैजना कांग्रेसका जुझारु नेता हुन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज






























