Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटनबाटै सहजै कमाउन सकिन्छ

हाम्रो कोशी आवाज
असोज ११ २०७८, सोमबार
पर्यटनबाटै सहजै कमाउन सकिन्छ

विश्वमा सर्व प्रथम थोमस कुकको भ्रमण टोलीलाई पर्यटकको दर्जा वा भनौं मान्यता दिइएको छ । आउनुहोस्, २९ औं विश्व पर्यटन दिवसको अवसरमा थोमस कुकको भ्रमण टोलीलाई नै किन विश्वको पहिलो पर्यटकीय टोली मानियो ? भन्नेतर्फ छोटकरीमा केही गन्थन, मन्थन गरौं ।
किनभने, थोमस कुकले नै सुरुमा संगठित रुपमा आफ्नो देशका केही पर्यटकलाई आफ्नै देशको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकको रुपमा भ्रमण गराएका थिए । यसरी कुकले संगठित रुपमा भ्रमण व्यसाव अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए भने घुम्न निक्लिने मानिसहरुको पर्यटकीय वा विदा मनाउनेबाहेक अरु खास कुनै उद्देश्य थिएन । यसरी कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएको भ्रमण भएकोले उक्त भ्रमण टोलीलाई नै पहिलो ‘पर्यटकीय टोली’ मानियो । स्वदेशकै आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर कुकले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरेका थिए । सोही कारणले गर्दा उन (थोमस कुक) लाई पर्यटनको सुरुवातकर्ताका साथै पर्यटन क्षेत्रको ‘गड फादर’ अर्थात् पिता मान्ने गरिन्छ । उनले दीर्घकालीन योजनाबिना नै भ्रमण व्यवसाय सुरु गरेकाले सुरुमा उनले नाफा होइन, घाटा खाए । घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ ?
अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’को सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । यसरी उनले पाठ सिकेर सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि पछाडि फर्केर हेर्नु परेन । भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा १० जना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशहरुमा भ्रमण गर्न निस्किए ।
यसरी विश्व पर्यटनको इतिहास हेर्दा लगभग एकसय ८१ वर्षअघि बेलायत निवासी थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए यता विश्वका अधिकांश देशका अरबौं, अरब मानिसहरुले विश्वका अधिकांश देशको पर्यटकीय स्थल, ऐतिहासिक स्थल, मनोरम छटाहरु तथा सांस्कृतिक स्थल आदिको भ्रमण गरिसकेका छन् ।
निश्चय १०४ वर्षे राणा शासनकालमा नेपालमा पर्यटनले गति लिएन । ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । तर, सन् १९९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरुको संख्याले लाखको संख्या नाघ्न थाल्यो । हुन पनि सन् १९९० को प्रजातान्त्रिक परिवर्तनसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । त्यसपछि बनेको सरकारले आर्थिक उदारीकण र खुल्ला अर्थ व्यवस्थाको वकालत गरेको थियो । तापनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्न लायक कामहरु भने भएन । हुन त तत्कालीन श्री ५ को सरकारले केही गरेन त पर्यटनका लागि ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘नेपाल पर्यटन बोर्ड’ को गठन हो ।
समग्रमा हेर्दा विसं २०६२–०६३ को तेस्रो जनआन्दोलनको राजनैतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । त्यसो भए तापनि नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाइ अवधिमा भने खासै सुधार हुन सकेको छैन । जबकि विदेशी पर्यटकले नेपाल आएर गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरुको नेपाल बसाइ अवधि पनि क्रमशः बढ्दै जानुपर्नेमा त्यसो हुन नसकेर उल्टै घट्दै गएको स्थिति थियो, छ । तथापि सन् २०२० मा नेपालमा विदेशी पर्यटकले गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि पनि बढेको देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि १५.१ दिन र प्रति व्यक्ति, प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको छ ।
यसरी हेर्दा अब हामीले अहिले विश्वव्यापीरुपमा फैलिएको र, विश्वका प्रायः सबै देश र ती देशका आम सर्वसाधारण जनहरुबीच ‘त्राही माम, त्राही माम’ को अवस्थमा रहेको कोरोनाको महामारी (कोभिड(१९) ठीक अवस्थामा फर्किएपछि नेपाल भ्रमण गर्नमा आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्व त छँदैछ, साथमा गुणस्तरमा अभैm सुधार ल्याउन के गर्ने ? भन्ने सम्बन्धमा पनि हामीले बहस र छलफल गरेर अघि बढ्नुपर्नेछ । बसाई अवधि बढाउने कुरालाई पनि प्राथमिकतामा राख्नुपर्ने छँदैछ । कम्तिमा हामीले अब सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाई अवधि १५.१ दिन जुन छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको जुन छ सो दररेटलाई तत्कालै अरु बढी बढाउन नसकेतापनि कायम राख्नका लागि प्रयासचाहिँ गर्नैपर्ने देखिन्छ ।
त्यसो त नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको तथ्यांक नै हो हो भने सन् २०१५ को तुलनामा सन् २०१६, सन् २०१७, सन् २०१८ र, सन् २०१९ मा लगातार बढी रहेको देखिन्थ्यो । जस्तो सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०२० मा भने जम्मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ ।
तर, नेपाल भ्रमणमा आएका पर्यटकले नेपालमा रहँदाबस्दा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा २०१८ घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले नेपाल बसाईको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । पर्यटनको सम्बन्धमा भन्नुपर्दा धेरैलाई सुन्ने बित्तिकै तीतो लाग्ने र, ‘इथिक्स’ का कारण पनि खुलेर लेख्न, भन्न अलि अप्ठ्यारो लाग्ने विषय के छ भने नेपाल कतै हाम्रो देश नेपाल विश्वभरिकै ‘वेस्ट टुरिस्ट स्पट’ (जताभावी फोहर गर्ने, प्रकृति, वातावरण, संस्कार, संस्कृति, धर्म आदि नस्ट गर्ने) हरुका लागि स्वर्ग बन्दै जाने त होइन ?
ninamkirat123@gmail.com

प्रकाशित मिति: असोज ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend