Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्रष्टाचारको रकमले नै देश बन्छ !

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
भ्रष्टाचारको रकमले नै देश बन्छ !

देशैभर भएका जेब्राक्रसहरु सबै मेटिसकेको छ । मानिसहरुको अत्यन्त चाप हुने स्थानहरुमा समेत जेब्राक्रसको सुविधा छैन् । आकाशे पुल त अलि परकै कुरा भयो । तर पुलको व्यवस्था नहुँदा सर्वसाधारणहरुलाई ओहोरदोहोर गर्न निकै कठिनाइ हुने गरेको छ । सडक विभाग र भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि जेब्राक्रस र आकाशे पुल राख्नतर्फ खासै चासो दिँदैन । कतैकतै जेब्राक्रस भइहालेपनि तिनीहरु मेटिसकेको अवस्था छ । अर्थ मन्त्रालयले जेब्राक्रस मर्मत गर्न वर्षेनी भारी छुट्याउने गर्दछ । नजिक–नजिक आकाशे पुल बनाउन अर्थ मन्त्रालयले अर्बौ बजेट छुट्याएको छ । तर सडक विभागको हाकिम र ठेकेदारको मिलोमतोमा कमिशनको खेलमा झारा टाल्ने काम भइरहेको छ । यसमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सीमित व्यक्तिको पनि हात छ । न जेब्राक्रसमा कलर लगाइएको छ न आकाशे पुल नै बनेको छ । अनि यत्रो बजेट गयो कहाँ ? काम भने केही नगर्ने आएको बजेटजति सबै मिलेर कुम्ल्याउने यसरी देशविकासले गति लिन सक्छ । भक्तपुरको राधेराधे, जडीबुटी र तीनकुनेमा पुल बनाउने लागेको चार वर्ष बितिसक्यो ।
चार वर्षसम्म एउटा पुल निर्माण हुन सक्दैन भने यस्तो देशमा भएका नेताहरुले के गर्न सक्लान् । सरकारले पुल बनाउन बजेट पारित गर्ने ठेकेदार आधा काम गर्ने पैसा लिने अनि गायब । अहिले बनेको पुलहरुमा समेत कमसल सामान हालिएको छ । वर्षदिन नटिक्ने पुललाई अरर्बौं रुपैयाँ खर्च गरिएको छ । पुल बनाउने ठेकेदारले इञ्जिनियरहरुलाई समेत किनिसकेको छन् । देशको उच्च ओहोदामा बस्नेहरुलाई जसले बढी कमिसन दिन्छ उसले ठेक्का पाउँछ । काम हेरेर होइन कमिसन हेरेर ठेक्का दिइन्छ । जेब्राक्रस नै हेरौ एक महिनाअघि लगाइएको रङ महिना दिनमै मेटिसकेको हुन्छ ।
ठेकेदारहरुले गुणस्तरहीन, म्याद सिद्धिएको सामानको प्रयोग गर्छन् । एकदमै सस्तो सामान किनेर निर्माण गर्छन् अनि बिलचाहिँ तीन गुणा बढीको बनाउँछन् । निर्माण व्यवसायीहरुले राजनीतिक दललाई चन्दा दिएको र सरकारी कर्मचारीलाई दिएको घुस ठेक्काबाट उठाउँछन् ।
निर्माण व्यवसायीहरुले एक वर्षमा सिद्दयाउँछु भनेर सरकारसँग सम्झौता गर्छन् । त्यही काम गर्न पाँच वर्ष लगाउँछन् । त्यहीमाथि वर्षैपिच्छे सरकारलाई बजेट थप्न लगाउँछन् । जनताले तिरेको कर वालुवामा पानी हालेझै भएको छ । निर्माण व्यवसायीहरुले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति न शुद्धीकरण विभागले छानबिन गर्छ । न त अख्तियार नै यिनीहरुले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति छानबिन गर्न अघि सर्छ । नेपालमा भएको अतिख्यार नामको लागि मात्र हो । हजार रुपैयाँ घुस खानेलाई अख्तियारले समातेर के के न गरी भन्छ । करौडौको भ्रष्टाचार गरेर खुल्लारुपमा हिँडिरहेकोलाई अख्तियारले केही गर्न सक्दैन । माओवादी पक्षको अध्यक्ष पुष्पकमल दाहाल पनि ठेकेदारकै घरमा बस्छन् । जनताले तिरेको कर झ्याम बनाउने माफियाको घरमा दाहाल बस्छन् । एक वर्षमा सिद्दिने काम १० वर्ष लगाएर राज्य र जनता ठग्ने काम भइरहेको छ ।
२०४६ सालभन्दा अगाडि एक जोर चप्पल किनेर लगाउन नसक्नेहरु पटकपटक देशको प्रधानमन्त्री र मन्त्री बने । यिनीहरुको अहिले रोपनीदेखि पाँच रोपनीसम्म बनेको घर छ । यिनीहरुले लवाइखवाइ हेर्दा त कुनै पुँजीपति पुष्ठभूमिबाट आएको जस्तो देखिन्छ । यत्रो सम्पति यिनीहरुले कहाँबाट जोडे । यो सिधै भ्रष्टाचार नै हो । देशमा साँच्चिकै विकास गर्ने हो भने २०४६ सालपछिका नेतादेखि वडाध्यक्षको सरकारी कर्मचारी छानविन गर्नपर्छ । सरकारी कर्मचारीदेखि हरेक व्यवसायीको सम्पत्ति छानबिन गर्नुपर्छ । यिनीहरुले भ्रष्टाचार गरेर राखेको रकमबाटै देश विकास गर्न पुग्छ । नेताहरुले आफ्नो पाँच पुस्तालाई पुग्ने सम्पत्ति जोडेर राखेको छन् । छानबिन गर्न अहिलेको सरकारले सक्दैन् । किन कि सरकारमा बस्नेहरुले नै भ्रष्टाचार गरेका छन् । आफ्नै पोल खुल्छ भनेर पनि छानबिन गर्दैनन् । आफूसँगै हिँडेका कार्यकर्ताले काठमाडौंमा घर बनाउँदा अर्को कार्यकर्ताले त्यसको विरोध गर्न सकेन ।
नेपालमा नैतिकता बेच्न सक्ने मान्छेले मात्र गरिखान सक्दो रहेछन् भन्ने उदाहरण छ । राजनीति एउटा फोहोरी खेल मात्र हो । भ्रष्टाचार गर्नसक्ने माथि जान्छन् । भ्रष्टाचार गर्न नसक्नेले आफ्नो घरखेत सिद्धियाएका छन् । झूठो बोलेर, जनतालाई ढाँटेर ठेकेदारसँग कमिशन खाएर मन्त्री, प्रधानमन्त्री बन्ने नेपालमा प्रशस्तै छन् । अहिले भएका अधिकांश सांसद् पनि त्यहीपाराका पात्र हुन् । यिनीहरुको सम्पत्ति कति छ भन्ने कसैले सुइकोसमेत पाएको छैनन् । यिनीहरुले यत्रो सम्पत्ति कहाँबाट जोडे जनतालाई अत्तोपत्तो छैन । खानलाई धौ धौ पर्ने परिवारबाट आएका व्यक्तिहरु अर्बौका मालिक कसरी बने ? जनताको नाम बेचेर प्रधानमन्त्रीदेखि मन्त्री बनेका छन् ।
जनताको अगाडि गएर झूठा आश्वासन दिन यिनीहरुलाई लाज लाग्दैन । आजसम्म कुनैपनि नेताले हाम्रै कारणले देश बिग्रियो भनेर भन्न सकेका छैनन्, कुनै राजनीतिक पार्टीले हाम्रो कारण देशका युवाहरु खाडी जान बाध्य छन् भनेर कहिल्यै भनेका छैनन् । यो विडम्बना हो ।
जहिले गरिबको नाम बेचेर भ्रष्टाचार गरिरहने ? हाम्रो देशका नेताहरु कतिसम्म लाज पचेका छन् । नेपाली कांग्रेसको विगतका प्रधानमन्त्री शुशील कोइरालाले बैंकमा खाता नभएर हात तलब थापेको कुरा पनि अझै कतिलाई स्मरण नै होला । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री पदबाट हट्दा एउटा छाता लिएर बालुवाटारबाट बाहिरिए । यी दुई नेता मरेर गएपनि जनताले सम्झिरहन्छन् । अहिले जुनसुकै पार्टीको नेता प्रधानमन्त्री बन्दा यिनीहरु भ्रष्टाचारी हुन् भनेर जनताले निडरताका साथ खुलेआम भन्छन् । भ्रष्टाचार गरेर पैसा कमाएका छन् । विदेशीसँग ऋण लिँदै जनताको सेवक बन्दैनन् । भ्रष्टाचारीलाई जनताले सवक सिकाउनैपर्छ ।
हालः भक्तपुर (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्) ।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend