Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इन्टरनेटमा के हेर्दैछन् विद्यार्थी ?

हाम्रो कोशी आवाज
कार्तिक ११ २०७८, बिहिबार
इन्टरनेटमा के हेर्दैछन् विद्यार्थी ?

यो समय सूचना प्रविधिको विकासको अलिले सम्मको उच्चतम् विन्दु हो । यो यत्तिकै रोकिनेवाला पनि छैन । सूचना प्रविधिको विकासले एका तर्फ अनेकौँ आयामहरूमा मानिसको जीवन सहज र सरल भइरहेको छ भने यसको प्रयोग सही तरिकाले हुन नसक्दा वा दुरुपयोग हुँदा मानिसको जीवनमा अनेकौं समस्याहरू पनि आइरहेका छन् । यसका राम्रा र नराम्रा पक्षहरूबारे जानकारी राखेर मात्र यसको प्रयोग गर्न सक्नु नै मानिसको बुद्धिमानी ठहर्छ ।
हाम्रो समाजमा बालबालिकाहरूमा यसको प्रयोगलाई हेर्ने हो भने यसबाट लिने फाइदाहरू भन्दा यसले ल्याउन सक्ने समस्याहरूको जोखिम नै बढी पाइन्छ । स्मार्ट फोन, अन्य ग्याजेटहरू, इण्टरनेट, टेलिभिजन, कम्प्युटर आदिको सचेततापूर्वक प्रयोग गर्न सकेमा यसबाट पर्न सक्ने नराम्रा असरहरूबाट बच्न नै नसकिने भने होइन ।
अभिभावकहरूले थोरै मात्र भए पनि ध्यान दिने र बालबालिकालाई सही प्रयोगमा उत्प्रेरित गर्ने हो भने बालबालिकालाई स्क्रीनको नशाको सट्टा स्क्रीनबाट फाइदातर्फ मोड्न सकिन्छ । यस आलेखमा बालबालिकालाई इण्टरनेटको सही प्रयोगतर्फ मोड्नका लागि के के गर्न सकिन्छ भन्ने बारे सामान्य चर्चा गर्ने कोसिस गरिएको छ । बालबालिकाको व्यक्तित्व विकासका लागि ईण्टरनेटको प्रयोगमार्फत निम्न कार्यहरूमा उनीहरूलाई केन्द्रित गराउन सकिन्छ:
१. पढाइ लेखाइसम्बन्धी अधिक ज्ञानका लागिः
बालबालिकाको नियमित पढाइका लागि इण्टरनेट राम्रो सहयोगी बन्न सक्दछ । यसको प्रयोग अनेकौं किसिमले गर्न सकिन्छ । युट्युब वा इण्टरनेट ब्राउजरमा कक्षा स्तर अनुसारका विषयगत सामग्रीहरू खोज्ने । जस्तैः नेपालमा गरिबीको अवस्था, संसारका प्रेरणादायी व्यक्तित्वहरू, मानिसलाई फाइदा गर्ने ब्याक्टेरियाहरू, पोषण समूह अनुसार खानेकुराका प्रकार, मानव शरीरमा रक्तसञ्चार प्रक्रिया, खानेकुरामा पाइने उपयोगी यौगिकहरू आदि । नेपालमा प्रचलित पाठ्यक्रममा आधारित अनलाइन पठनपाठन सामग्रीहरू पनि खोज्न सकिन्छ ।
साना कक्षाका विद्यार्थीलाई पढाइ र दैनिक जीवनका प्रक्रियारूलाई जोड्ने खालका सामग्रीहरू खोज्न सहयोग गर्दा राम्रो हुन्छ । जस्तै, वर्षा कसरी हुन्छ ? दिन र रात कसरी हुन्छ ? इन्द्रेणी कसरी देखिन्छ ? रोगहरू कसरी सर्छन् ? झुसिलकीराबाट पुतली कसरी बन्छ ? विरुवाले कसरी खाना तयार गर्छ ? स्वस्थकर जीवनयापनका लागि केके गर्ने, केके नगर्ने ? आदि ।
२. रचनात्मक सीप विकासका लागिः
फुर्सदको समयमा विद्यार्थीको रचनात्मक सीप विकासका लागि पनि इण्टरनेट राम्रो साथी बन्न सक्छ । आफ्नो रुचिका सीपहरू विकासका लागि अनेकौं सामग्रीहरू इन्टरनेटमा पाइन्छ । उदाहरणका लागि चित्रकला, वाद्यवादन, गायन, नृत्य, नाटक, वक्तृत्वकला, सामान्यज्ञान, लेखन सीप, खेलकुद, फोटोग्राफी, कम्प्युटर प्रोग्राम, प्राविधिक सीप आदि सम्बन्धी आधारभूत ज्ञान तथा त्यससँग सम्बन्धित विविध पक्षहरूको खोजी गर्नका लागि पनि इण्टरनेट महत्वपूर्ण बन्न सक्दछ ।
त्यसैगरी अनलाइनमा वा डाउनलोड गरी पढ्न सुन्न मिल्ने इ–बुकहरू, अडियो बुकहरू तथा पोडकास्टहरू पनि इन्टरनेटमा उपलब्ध हुन्छन् । अझै फराकिलो रुपमा हेर्ने हो भने इन्टरनेटमा नै अनलाइन लर्निङ, ट्रेनिङ, स्टडीको पनि व्यवस्था गरिएको हुन्छ । यी कुराहरू चाहिँ प्रायजसो तोकिएको शुल्क तिरेर प्राप्त गर्न सकिन्छ । यसबाहेक प्रतिभा विकास गरी सफल भएका मानिसहरूको अनुभव, आत्मकथा तथा जीवनीहरू अध्ययन गरी आफ्नो कर्ममा उरत्प्रेरित हुनको लागि समेत इण्टरनेटले सघाउ पुरयाउन सक्दछ ।
३. देश, समाज र वर्तमान परिस्थितिबारे अधिकतम् ज्ञानका लागिः
मानिसले कुनै पनि कामबाट सफलता प्राप्त गर्नका लागि समय र परिस्थितिबारे राम्रो ज्ञान लिनु जरुरी हुन्छ । यसका लागि पनि ईण्टरनेट सहयोगी बन्न सक्दछ । उदाहरणका लागि निम्न किसिमले प्रयोग गरेर ईण्टरनेटलाई फलदायी बनाउन सकिन्छ :
– देशका ठूला समस्याहरू, देशमा सोचेजस्तो विकास, परिवर्तन नहुनुका कारणहरू आदि थाहा पाउन ।
– देशको विभिन्न स्थानमा बस्ने मानिसहरूको जनजीवनबारे जानकारी लिन ।
– देशका महत्वपूर्ण व्यक्ति, स्थान तथा विशेषताहरूबारे जाकारी लिन ।
– विविध महत्वका स्थानीय सामग्रीहरू जस्तै, जडीबुटीहरू, खानेकुराहरू, प्राचीन, ऐतिहासिक सामग्रीहरू आदिबारे जानकारी लिन ।
– देशको इतिहास, भूगोल, संस्कृति, राजनीति, आदि बारेको विश्लेषण (पाठ्यपुस्तकमा भएका भन्दा अधिक जानकारीका लागि )
– समाज परिवर्तनका लागि भए गरेका प्रयासहरूबारे जानकारी लिनका लागि आदि ।
– पत्र पत्रिकाहरूको इपेपर, अनलाइन न्युज पोर्टल, अनलाइन रेडियो, अनलाइन टिभी, तथा नियमित तयार हुने अनलाइन सामग्रीका अर्काइभ आदिका माध्यमबाट पनि धेरै समसामयिक विषयका धेरै कुराहरूबारे जानकारी हासिल गर्न ।
– संसारले विभिन्न क्षेत्रमा हासिल गरेका उपलव्धिबारे जानकारी लिन र त्यसबाट उत्प्रेरित हुन ।
– मानवीय गतिविधिका कारण वातावरणमा उत्पन्न समस्याहरू, त्यसले पार्ने प्रभावहरू, त्यसबाट बच्ने उपायहरू, वातावरण संरक्षणका लागि गर्नुपर्ने कामहरू आदिका बारेमा जानकारी लिनको लागि ।
४. मनोरञ्जन र स्फूर्तिका लागिः
धेरै मानिसले इण्टरनेटलाई मनोरञ्जनको साधनका रुपमा लिने गरेका छन् । कतिपयले अनलाइन गेम खेलेर, कसैले सामाजिक सञ्जालको माध्यमबाट, कसैले गीतसङ्गीत, कसैले भिडियाmे चलचित्र आदिका माध्यमबाट मनोरञ्जन लिइरहेका हुन्छन् । किशोरावस्थामा कतिपय बालबालिकाहरूले मनोरञ्जनका लागि नग्न सामग्रीहरूलाई नियमित रुपमा हेर्ने कुरालाई अध्ययनहरूले पनि देखाएका छन् । तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने बालबालिकाले इण्टरनेटका माध्यमबाट मनोरञ्जन र स्फूर्ति प्राप्त गर्ने कुरालाई पनि व्यवस्थित बनाउन सकिन्छ । उदाहरणका लागि बालबालिकालाई निम्न कुरामा केन्द्रित गरेर सार्थक मनोरञ्जन प्रदान गर्न सकिन्छ :
– सकेसम्म आफ्नो जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका गीतसङ्गीत, चलचित्र, वृत्तचित्र, भिडियो, नाटक आदि ।
– स्तरअनुसारका हास्यव्यङग्य सामग्रीहरू
– संसारका अनौठा, अद्भूत र रहस्यमयी कुराहरूसम्बन्धी सामग्री ।
– बालबालिकालाई उत्प्रेरणा जगाउने खालका सामग्रीहरू आदि ।
– व्यायाम तथा योगअभ्यास सम्बन्धी ज्ञान ।
– आत्मिक विज्ञान, आत्माको बारेमा विभिन्न योगी, दार्शनिक तथा चिन्तकहरूको विश्लेषण
– ध्यान साधना सम्बन्धी आधारभूत ज्ञान आदि ।
बालबालिकालाई इण्टरनेट बरदान कि अभिषाप भन्ने सन्दर्भमा धेरै बहस, व्याख्या र विश्लेषणहरू भइरहेका हुन्छन् । इण्टरनेटलाई कस्तो बनाउने भन्ने कुरा यसको प्रयोगमा निर्भर रहन्छ । इण्टरनेटको प्रयोगका सन्दर्भमा अभिभावकले पनि आवश्यकताअनुसार आफ्ना बालबालिकालाई सही मार्गनिर्देश गर्न सकेमा इण्टरनेट बरदान बन्न सक्दछ ।

प्रकाशित मिति: कार्तिक ११ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend