Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अभिभावकले बच्चासँग खेल्नुपर्छ

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७८, शनिबार
अभिभावकले बच्चासँग खेल्नुपर्छ

मलाई आफ्ना बालबालिकासँग खेल्न मन पर्छ। म उनीहरूसँग नियमित खेल्दिनँ, तर जब खेल्छु मस्तिष्क र शरीरमा एक किसिमको आनन्द महसुस हुन्छ। चाहे पारिवारिक खेल होस् वा ख्यालठट्टा होस्, बालबालिकासँगको खेलले वयस्क जीवनको उत्पीडनकारी जडताबाट केहिहदसम्म छुटकारा दिन्छ।
बालबालिकासँगको खेल कहिलेकाहीँ राम्रो अभिभावक हुने चाहना, उनीहरूलाई नाई भन्न नसक्ने अवस्था आदिबाट प्रेरित हुन सक्छ। यद्यपि, बालबालिकासँगको खेलबाट आनन्द लिन सकेको अवस्थामा त्यसले अभिभावकका लागि पनि राम्रो गर्न सक्छ।
मनोचिकित्सक डा. स्टुआर्ट ब्राउन खेल कुनै गतिविधिभन्दा बढी अनुभूति भएको बताउँछन्। ‘खेलले हामीलाई मोहित बनाएर आनन्द दिन्छ, ठाउँ र समयको बोधमा परिवर्तन ल्याउँछ। खेलमा नतिजाभन्दा बढी अनुभवको महत्व हुने गर्छ,’ उनले भने। ‘प्रकृतिले हामीलाई खेलका लागि उपयुक्त बनाएको छ। हामी खेलका लागि बनेका छौँ। साथै, हामीलाई खेलले बनाउँछ।’
अभिभावक र बच्चाबीचको सम्बन्धमा दुई फरक किसिमका चाहना र व्यक्तित्वको अन्तक्र्रिया हुने गर्छ। कुनै एक परिवारमा काम गर्ने खेलको प्रकारले अर्को परिवारमा काम नगर्न सक्छ। हाल मेरा दुई छोराहरूको मसँग खेल्ने आफ्नै किसिमको शैली छ।
मेरो चार वर्षीय कान्छा छोरालाई उनी बुवा भएको र म बच्चा भएको अभिनय खेल खेल्न मन पर्छ। मेरो आठ वर्षीय छोरा र म कुकुर डुलाउन जाँदा विभिन्न कहानी बनाउने गर्छौँ। हामी सँगै रोलर स्केटिङका लागि पनि गएका थियौँ जसमा मेरा पूर्व हकी खेलाडी श्रीमानबाहेक सबैजना हचुवामा खेल्छौँ।
बालबालिकाको उमेर बढेसँगै उनीहरूसँगको खेल अरू केहिभन्दा बढी एक अपूर्व अनुभव जस्तो थाल्छ। जो बढीभन्दा बढी खेलको खोजीमा छन्, उनीहरूका लागि बालबालिका राम्रो शिक्षक हुन सक्छन्। बाल साहित्यकार लरेल स्नाइडरका बच्चाहरू साना हुँदा उनीहरूसँग प्राय लेगो, शिल्पकला, र खेलकुद जस्ता परम्परागत खेल खेल्ने गर्थिन्। अहिले उनीहरू किशोर भइसकेपछि भने उनीहरूसँगको खेल अनुभव र विचार आदनप्रदानमा केन्द्रित हुने गरेको छ।
‘गत वर्षको गर्मी याममा लकडाउन भएका बेला हामी रातिको समयमा बाहिर घुकफिरका लागि निस्कन थाल्यौँ। हामी मध्यरातमा घरछेउको पार्कमा गएर किराहरूले निकाल्ने आवाज सुन्न थाल्यौँ,’ स्नाइडरले भनिन्। रचनात्मक शक्तिका लागि खेल राम्रो हुने उनको मान्यता रहेको छ।
‘महामारी नभएको भए हामीले त्यस्तो केही गर्ने थिएनौँ होला। जब लकडाउनको अन्त्य भयो र दिउँसो पनि हिँड्न पाइने भयो, तब हामीले मध्यरातमा हिँड्न कति रमाइलो हुँदो रहेछ भन्ने महसुस गर्याैं। रातको समयमा संसार छुट्टै किसिमको हुने रहेछ,’ उनले भनिन्।
हामी वयस्कहरूको व्यक्तिगत सुधार र उद्यमशीलतामा धेरै ध्यान दिने बानीले हामीलाई सधैँ पछि परेको र क्षमता अनुसार काम गर्न नसकेको महसुस गराउने गर्छ। अझ खराब त के छ भने हामीलाई सामाजिक वा प्रणालीगत समस्याभन्दा आफूमा रहेको समस्याका कारण त्यस्तो भएको हो भन्ने लाग्छ। फुर्सद र खेलको जीवन परिवर्तन गर्ने किसिमको जादुलाई हामीले भुलिसक्यौँ।
‘जब म काम गर्दै हुन्न, पैसाको पछाडि लागिरहेको हुन्न, तब म को हुँ? त्यस बखत मेरो दिमागमा के चल्दै हुन्छ। यी प्रश्नहरू हामी आफैँले आफैँलाई सोध्नु जरुरी हुन्छ,’ स्नाइडरले भनिन्, ‘भौतिक सुखभन्दा पृथक विषय हो यो। खेल यस्तो चिज हो जसले तपाईँलाई भौतिक सुखको दौडबाट छुटकारा दिन सक्छ। खेल मेरो लागि म ८ वर्षको छँदाको अनुभव पुनः महसुस गर्ने तरिका हो किनभने म कत्तिको उत्पादनशील छु भन्ने मलाई वास्ता नभएको त्यो अन्तिम पटक थियो।’
खेल एन्जायटी (चिन्ता) कमी गर्न पनि सहयोग गर्ने अनुसन्धानहरूले देखाएका छन्। खेलले हामीलाई तनाव व्यवस्थापन गरेर समग्र स्वस्थ्य राम्रो बनाउन पनि मद्दत गर्छ। ‘सकारात्मकता र मुड नियन्त्रणका लागि पनि वयस्कहरूका लागि खेल सहयोगी हुन सक्छ,’ ब्राउनले भने। उनका अनुसार निद्राबाट बञ्चित हुनु जस्तै खेलबाट बञ्चित हुनुको पनि दीर्घकालीन असर हुन सक्छ। खेलले हामीलाई हाम्रो समुदायसँग जोड्छ र एक अर्कासँग सहकार्य गर्न सिकाउँछ भन्ने धारणा ब्राउनको रहेको छ।
मनोवैज्ञानिक एलिसन गोप्निकका अनुसार खेल बालजीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो। ‘खेल कल्पना र सिकाएको जीवन्त र दृश्य रूप हो,’ उनले आफ्नो पुस्तक द फिलोसफिकल बेबीमा लेखेकी छिन्।
खेल्दै गर्दा बालबालिका संसारकै अब्बल वैज्ञानिकहरूको स्तरमा सोच्ने गर्छन्। उनीहरू अब्बल बललाई के गर्ने भनेर एक पछि अर्को परिकल्पनाको विकास गर्ने गर्छन्। त्यसको सम्भावनाबारे जान्न उनीहरूको मस्तिष्क आतुर रहने गर्छ।
बच्चाहरू कुनै पनि कुराको अन्वेषकको भूमिकामा प्रभावकारी रहने र वयस्कहरू अरूले खोजेका कुराहरूको प्रयोगबाट निर्णय पलन प्रभावकारी हुने गोप्निकले सन् २०२० मा गरेको एक अध्ययनले देखाएको छ। बालबालिकासँग एकैछिन् खेल्नुहोस्, तपाईँ बालबालिकाजस्तै एक अन्वेषक हुनुहुनेछ अनि जिन्दगी कति सम्भावनाले भरिएको छ भन्ने महसुस हुनेछ। (नेपालीमा अनुवाद)

प्रकाशित मिति: कार्तिक २७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend