Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँपुस्ता कुलतमा: प्रभावकारी कदम आवश्यक

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
नयाँपुस्ता कुलतमा: प्रभावकारी कदम आवश्यक

लागूऔषधको लतमा युवा लाग्नु दुःखद् हो । अहिले धरानमा दिनहुँजसो लागूऔषधसहित युवा समातिएका समाचार सार्वजनिक भइरहेका छन् । विशेषतः धरानका युवा विराटनगरदेखि झापासम्म पनि पक्राउ पर्न थालेका छन् । यसले धरानमा युवापुस्ता लागूऔषधको कुलतमा फँसेका छन् र यहाँ बढीजसो लागूऔषधको कारोबार हुने गरेको तथ्यलाई उजागर गर्दछ । भनौं अहिले लागूऔषध दुव्र्यसन धरानका लागि डरलाग्दो क्यान्सर बन्दै गएको आङ्कलन गर्न सकिन्छ । लागूऔषध नियन्त्रण ब्यूरोले सार्वजनिक गरेको एक रिपोर्टमा विश्वमा वर्षेनी २ लाख ५३ हजारको दुव्र्यसनका कारणले मृत्यु हुन्छ । वर्षेनी लागूऔषध कारोबार गर्नेविरुद्ध लगाइएको मुद्दाको संख्या पनि बढ्दो छ । एक अध्ययनअनुसार २८ प्रतिशत बढी दुव्र्यसनी एसएलसीभन्दा कम अध्ययन गरेका, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशतचाहिँ कलेज पढ्दै गरेका विद्यार्थी समेत लागूऔषध कुलत छन् ।
दुव्र्यसन बढ्नुमा विशेषतः वंशाणुगत प्रभाव, मानसिक तनाव, अशान्त परिवार, सामाजिक वातावरण, साथीभाइको सङ्गत, अत्याधिक औषधि सेवन, परिपक्व देखाउने होडबाजी आदि कारण हुने गरेको छ । राष्ट्र तथा समाजको मर्यादित संस्कार र सभ्यतालाई लागूऔषध सेवनकर्ता र कारोबारीले नकारात्मक मोडमा उभ्याएको पाइन्छ । राष्ट्रका कर्णधार सिर्जनशील युवावर्गलाई कुलतको नशामा डुबेको देखिनु राम्रो होइन । यसले सिर्जनशील युवावर्गको उर्जालाई निष्क्रिय मात्र नभई नष्ट नै गरिदिने गरेको छ । तसर्थ लागूऔषध उत्पादन, भण्डारण, ओसारपसार, बिक्री वितरण भण्डारण एवं उपयोगलाई नियन्त्रणमा पहलकदमी हुनु आवश्यक छ ।
आफ्ना छोराछोरी एकान्त प्रिय लाग्ने, थोरै बोल्ने, बोल्दा अर्को व्यक्तिसँग आँखा नजुधाइ बोल्ने, आँखा रसिलो हुने, नशालु देखिने आदिजस्ता लक्षण देखाए अभिभावकले पनि बुझ्न्होस् लागूऔषध कुलतमा हाम्रा छोराछोरी लागिसके । युवा जमात लागूपदार्थ दुव्यर्सनको शिकार हुन्छ तब क्यान्सरको सङ्क्रमण भएजस्तै हुन्छ । यसले कसैलाई राम्रो गर्दैन । यस्ता युवाहरुको समाज विखण्डनमा ठूलो भूमिका हुन्छ । अधिकांश ठूलासाना चोरी, अपहरण र डकैतीमा, हत्या, हिंसा बलात्कारमा यस्ता युवाको भूमिका ठूलो हुन्छ । त्यसैले प्रशासन, समाज र जिम्मेवार नागरिक नेतृत्वले युवा वर्गमा बढ्दै गएको लागूऔषध दुव्यर्सनको समस्यालाई समयमै ध्यान नपुरयाउने हो भने नेपालको समाज अझ बिग्रँदै र भत्कँदै जानेमा शङ्का छैन ।
लागूऔषध दुव्यर्सन बढ्नुको अर्को मुख्य कारण भनेको मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबीलाई मुखयगरी मान्न सकिन्छ । विशेषतः कौतुहलता मेटाउने क्रममा अहिलेका युवायुवती लागूऔषधको कुलतमा फँस्ने गरेका छन् । लागूऔषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले आफ्नै शरीर, परिवार, समुदाय र राष्ट्रकै भविष्यमा बर्बाद पार्दैछन् । धरानमा लागूऔषधको चुनौती थपिँदो छ । यसतर्फ समाज, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ । परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य मूकदर्शक भएर बस्न मिल्दैन ।
प्रहरीले लागूऔषधसहित लतमा लागेका युवावर्गलाई समातिरहने र अरु समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व साथै अभिभावकको भूमिका शुन्य हुने हो भने यसको नियन्त्रण सम्भव छैन । त्यसैले प्रहरीले पनि युवापुस्तालाई सधैं समातिमात्रै रहने र विभिन्न खालका सचेतनामूलक कार्यक्रम नल्याउने हो भने अवस्था भयावह नहोला भन्न सकिन्नँ । त्यसैले यसतर्फ सबैको ध्यान जानु आजको आवश्यकता हो । यसको लागि राज्य, प्रहरी प्रशासन, समाज, अभिभावकको ध्यान यतातिर जानुपर्ने देखिन्छ । सरकारी निकाय लागूपदार्थ दुव्र्यसनका घटनामा प्रचारमुखी कारवाहीमा देखिन्छ तर त्यो भन्दा बढी प्रभावकारी समयमै बुबाआमा र निजका सन्तानहरुलाई सचेत बनाउनुपर्ने आजको आवश्यकता हो । राज्यले सचेतना, युवाहरुका लागि रोजगारमूलक कार्यक्रम ल्याउने र वृत्ति विकासका अन्य विकल्पका विषयमा सोच्न सके मात्रै पनि केही हदसम्म यस्तो विकृति हट्दै जाने देखिन्छ ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend