धरानः धरान-१२ चतरालाइस्थित धरान मेघा कलेजबारे विभिन्न भ्रम फिँजाइएको कलेज प्रशासनले जनाएको छ ।
सञ्चालकहरुबीचको शेयर विवादका कारण कलेजका विद्यार्थीको भविष्य अन्यौलमा रहेको भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत् भ्रम फिँजाइएको कलेजका प्रिन्सिपल भाष्कर पौडेलले बताए । उनले कलेजको बदनाम गर्ने हेतुले गरिएको प्रचारप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । ‘हामीबीच केही आन्तरिक विवाद होला तरपनि कलेजको सम्बन्धन छैन, कलेजले विद्यार्थीको भविष्य अन्धकारमा पार्दैछ आदि इत्यादिबारे अभिभावक र विद्यार्थीलाई नै भ्रम सिर्जना हुने किसिमले गरिएको प्रचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘यस्तो प्रचारको हामी खण्डन गर्दछौं ।’
वि.सं. २०७३ सालदेखि नयाँ पुस्तामा हस्तान्तरण भएपछि धरान मेघा कलेजले नयाँ व्यवस्थापनमा आएको दोस्रो वर्षमै बीबीएसतर्फ धरानकै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल हुनु, कलेजमा प्लसटुतर्फ साइन्स, फुड न्युट्रीसियन र डायटिसियन, कम्प्युटर साइन्स, म्यानेजमेन्ट (कमर्स) र होटल म्यानेजमेण्ट समेत सञ्चालनमा ल्याएपछि आत्तिएका केही समूहहरु कुप्रचारका लागि उद्यत देखिएको अध्यक्ष कैलाश लिम्बूले बताए । ‘हामीले गरेको प्रगति देखी नसहनेहरुले हाम्रो कुप्रचार गरिरहेका छन्’, उनले भने, ‘यस्तो कुप्रचारको पछि नदौडिन अभिभावक, विद्यार्थीहरुलाई आग्रह गर्दछौं र हामी सही छौं, गलत गरेका छैनौं भन्ने कुरा पनि प्रष्टसँग राख्न चाहन्छु ।’
मेघा कलेजका सञ्चालक सागर खड्काले कलेजको प्रगति देखेर बदनाम गराउने नियत प्रष्ट देखिँदै आएको बताए । उनले कलेजले सम्बन्धन नै नलिइकन नचलाएको पनि दावी गरे । ‘कानुनी प्रक्रिया पूरा गरेको छैन भन्ने कुरा झुटो हो’, उनले भने, ‘कलेजले कानुनी प्रक्रियाहरु पूरा गरेको छ, कक्षा-११ र १२ नगरपालिकाको शिक्षा शाखाबाट सम्बन्धन लिएर चलाएको हौं । ब्याचलर तह पनि टियुबाट सम्बन्धन प्राप्त छ । कलेजको सफलता देखेर केही असन्तुष्ट व्यक्तिहरुले आरोप लगाइरहेका छन्, त्यसलाई चिर्न चाहन्छौं ।’
उनका अनुसार कलेजका केही शेयर सदस्यहरु असन्तुष्ट बनेर कुप्रचारतिर लागेका छन् । उनले कलेजको शेयर सदस्य बनेर अर्को कलेजमा गएर पढाउने, उतैको प्रचारप्रसार गर्नेहरुबाट नकारात्मक टिप्पणी गरिरहेको उनको भनाइ छ । ‘खासमा केही व्यक्तिहरुले कोभिड शुरु हुनुभन्दा अगावै राजीनामा दिएका थिए । अहिले संस्था माथि उठ्दै गएकाले त्यही पोष्ट पाउँ भन्दै महत्वकांक्षा बोक्नेहरुले अदालती प्रक्रियामा गएका हुन् । जो अदालतमा गए उनीहरुले संस्था प्रतिको दायित्व पूरा गर्न सकेका छैनन्, कलेज सञ्चालन गर्ने समयमै केही विषयहरु उठान गरिएको थियो । सबैलाई जिम्मेवारी तोकिएको थियो, त्यो पनि उहाँहरुले पुरा गर्न सक्नु भएन । प्रतिष्पर्धी कलेजले उचालेको भरमा डिस्टर्ब गर्न लागिरहनुभएको छ ।’ उनले थपे ।