१. अर्काको जे पनि राम्रो देख्ने र आफ्नो राम्रो कुरा पनि नराम्रो देख्ने प्रवृत्ति बढ्दै गएको छ । अरू अरूका पनि कतिपय कुरा राम्रा पनि हुन सक्छन् र त्यस्ता राम्रा कुरा ग्रहण पनि गर्नुपर्छ । तर आफ्ना ज्यादै राम्रा कुरा पनि राम्रो देख्न न सक्ने स्वभाव त कुनै पनि हालतमा उचित हुँदैन ।
२. हेर्ने सकारात्मक आँखा भएकाहरूलाई हाम्रो देशकोजस्तो प्राकृतिक सौन्दर्य अरू देशमा बिरलै देखिएला र अझ तुलनात्मक रूपमा हेर्दा कहीँ पनि देखिँदैन । हाम्रा हरिया र बाक्ला जङ्गलहरू, ती जङ्गलमा देखिने नाना थरीका रङ्गीबिरङ्गी र जातका चराचुरुङ्गीहरू, गैंडा, कृष्णसार, कस्तुरी, मृगलगायतका अति दुर्लभ जनावरहरू हामीकहाँ छन् । नागबेली परेर बगेका सयौँ नदीनालाहरू, गगनचुम्बी हिमालयहरू, विश्वकै सर्वोच्च शिखर सगरमाथा हामीसँग छ । यसप्रकारका प्राकृतिक कुराहरूलाई नहेरेर अरुको कृत्रिम जङ्गलमा मोहित हुने वर्ग हामीकहाँ छन् । तिनलाई के भनेर सम्झाउने र कसरी हाम्रो प्राकृतिक सौन्दर्यसँग मोहित हुन सक्ने तुल्याउने ? यो अत्यन्तै विचारणीय विषय छ ।
३. कला र संस्कृतिका लागि त हाम्रो देश विश्वका अरु धेरै देशभन्दा अब्बल छ । हाम्रो देशको पिकक विण्डो (मयुर झ्याल), लिच्छबि काल, मल्लकाल र शाहकालका मठमन्दिरहरू कति सुन्दर र महिमा मण्डित छन् । काठमा र ढुङ्गामा समेत बडो मेहनततपूर्वक कुँदेर बनाइएका चित्रहरू हेर्ने जोसुकैलाई बढी नै लोभ्याउने खालका छन् । तिनलाई विदेशी आएर नियाली नियाली हेरेको हामी देख्छौं । तर हामीले भने ती कुरातिर अत्यन्तै कम ध्यान दिइरहेका छौं ।
४. हामीसँग प्राकृतिक सौन्दर्यका मनमोहक सम्पदा, कला, संस्कृति मात्र होइन कि हाम्रा पुर्खाले कमाएका कहिल्यै नमेटिने ख्यातिहरू पनि छन् । ती ख्यातिहरू कहिलेदेखिका गणना गर्ने ? बयान गरिसाध्य छैन । महादेव पशुपतिनाथ, वाल्मीकि, राजा जनक, सीता, अरनिको, भृकुटी, वुद्ध, पृथ्वीनारायण शाह, बहादुर शाह, गजे घले आदि । कसबाट बयान गर्न शुरु गर्ने ? यस्ता नाम कति छन् कति ।
५. हामीसँग यस्ता धेरै आफ्नै महिमामय विषयहरू छन् । तिनको राम्ररी बयान गर्ने हो भने विश्व चकित हुन्छ । तैपनि आफ्नो नाभिमा भएको सुगन्धित ‘कस्तुरी बिना’ थाहा नपाएर बास्नाको खोजीमा भौतारिने मृगझै अन्यत्र दूर दूर देशका अप्राकृतिक कुरामा लहसिएर हिडिरहेका छौँ हामी ।
६.इलम गर्न सके, परिश्रम र आफूसँग भएको बुद्धि लागाउन सके आफ्नो देशमा बसेर नै कमाउन सकिन्छ । हाम्रो देशको हावापानी र माटो बेजोड छ । पाखुरीको तागत लगाएर कोरीबाटी गर्न सके, खनखान गरेर हलुका बनाउन सके हाम्रो देशको माटोमा सुन, हिरामोती फलाउन सकिन्छ र कल्प वृक्ष उमार्न सकिन्छ । भनाइको मतलब हो सुन र हिरामोती आर्जन गरेर करोडपति अर्बपति बन्न सक्ने उत्पादन हामी गर्न सक्छौँ । हामीकहाँको माटो कति उर्वर छ भने जे रोपेपनि फाइदा नै फाइदा पाउन सकिन्छ । गर्मीमा हुने अन्न, तरकारी, फलफूल र अति चिसो ठाउँमा सप्रने जडीबुटी र फलफूल लगाउने थरी थरीका जमिन हामीसँग छ । तर युवा बेरोगारीको संतापले डामिएर अत्यन्त उखरमाउलो अरबभूमिकै सहिनसक्नुको तातोमा पिल्सिन भौतारिइरहेका छन् । यसरी कृषि मात्र होइन अरु उद्योग—धन्दा, बन्दव्यापार, पर्यटन, विकास—निर्माणमा संलग्नता लगायतका धेरै सम्भावनाहरू हामीकहाँ छन् । तर भिल्लको देशमा मणिको कदर नभएझै यृुवापलायन दिन—प्रतिदिन बढिरेको छ
७.दलाललाई मोटो रकम बुझाएर र हुँदाखाँदाको जग्गाजमीन बेचेर पनि युवाहरू खतरा मोल्दै विदेशिएका छन् । सरकार र राजनैतिक दलहरू त्यस्ता युवालाई स्वदेशमा नै विभिन्न क्षेत्रमा रोजगारी दिलाएर राख्ने तर्फ संवेदनशील बनिरहेका छैनन् । यो दल र ऊ दलको सरकार र र राजनैतिक दलहरू भन्नु छैन । सबै दल र तिनका नेता एकै नासका कान चिरुवा जोगी जस्ता छन् । सुनौला स्वप्न बोकेर विदेशिएका युवाहरूमध्ये साला खाला चार पाँच प्रतिदिन कहिल्यै नउठ्ने गरी पीडाको सागर बोकेर रातोबाकसमा फर्किरहेका छन् । परिवारजनको शोक र वियोग वेदना खपिसाध्यको र हेरिसाध्यको छैन । तर जिम्मेवार पदमा रहेकाहरू पग्लन र संवेदशील हुन सकिरहेका छैनन् ।