धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीको नाम फेर्ने तयारीमा लागेका छन् । राजधानीमा जारी आठौं महाधिवेशनबाट पार्टीको नामबाट ‘माओवाद’ हटाउने उनको तयारी छ ।
प्रचण्डले नयाँ र सबैले मन पराउने नामका बारेमा आफूनिकट नेताहरूसँग छलफल थालिसकेका छन् । ‘नाम फेर्ने अध्यक्षको प्रस्तावमाथि पनि छलफल हुँदैछ,’ एक नेताले भने, ‘नयाँ नाम महाधिवेशनले अनुमोदन गर्छ । नाममा माओवादी भन्दा समाजवादी शब्द प्रयोग गर्ने विकल्पमा हामी कुराकानी गरिरहेका छौं ।’
आज १ सय २९ औं माओ दिवससमेत हो । माओ दिवसकै दिन पारेर आठौँ महाधिवेशनको उद्घाटन गरिएको थियो । तर उद्घाटन सत्रमा प्रचण्डले माओ र माओवादका विषयमा उच्चारण गरेनन् ।
पार्टीको नामबाट माओवाद हटाउन निकै पहिलेदेखि छलफल चलिरहेको थियो । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा पनि नामबारे छलफल भएको थियो ।
नामबाट माओवादलाई हटाएर ‘समाजवाद’ जोड्न सके अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि एकता हुन सहज हुने प्रचण्डको बुझाई छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तत्काल सहकार्य र चुनावी तालमेल गरेर अघि बढ्ने प्रचण्डको रणनीति ।
उसो त नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले पनि आफ्नो नामबाट माओवाद हटाएको थियो । यतिबेला विप्लवसँग पनि एकताका लागि पहल गर्न प्रचण्डले पार्टीका प्रवक्ता कृष्णबहादुर महरालाई खटाएका छन् ।
प्रचण्डले महाधिवेशन बन्द सत्रमा पेश हुने आफ्नो राजनीतिक दस्तावेजमा नाम फेर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।
राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान(ब्राण्ड)को खोजी गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रियस्तरमै त्यो ब्राण्डको खोजी भएको हो ।
संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो । नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर प्राप्त गरे । नेपालमा शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भयो । केही काम अझै पनि बाँकी छ । त्यसलाई शीघ्र पूर्णतामा लैजानुपर्ने दायित्व माओवादीकै काँधमा छ तर ढिला भएको छ ।
उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको भूमिकाको उच्च प्रशंसा गर्दै जनता र देशका पक्षमा थप क्रियाशिल हुन माओवादी नेतृत्वको ध्यानकर्षण गराए ।
जनयुद्धकालीन सहयात्री सिपी गजुरलले केही शर्तहरू राख्दै फेरि पनि माओवादीहरूका बीचमा एकताको आवश्यकता औँल्याए । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले ठूलो मेहनतका साथ नेकपा गठन भए पनि एकता जोगाउन नसक्नुको कारणहरूको खोजी गर्नुपर्ने धारणा राखे ।
नेकपा(माले)का महासचिवले त जनयुद्धकालीन एजेण्डाको स्मरण मात्रै गराए, लक्ष्यमा कहाँकहाँ चुक्यो भनेर माओवादी नेतृत्वले खोजी गर्नुपर्ने सुझाव दिए। समग्रमा सबै नेताहरूका एउटै मनोभावना थियो, माओवादीले आफ्नो एजेण्डा के कति पूरा ग¥यो र के कति एजेण्डा अझै पनि बाँकी छ भन्ने खोजी गर्न ध्यानाकर्षण गराए।
टुटफुट र विभाजनको चक्रब्यूहमा फसेको भए पनि जनयुद्धकालीन माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै वरीपरी केन्द्रित छ भन्ने यथार्थ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रष्ट देखियो । जनयुद्धकालीन १७ नेताले पार्टी छाडेको, नौ जना उच्च नेताले शहादत प्राप्त गरेको भए पनि सहिद, बेपत्ता परिवार, घाइते योद्धा सबैको आश अझै पनि माओवादीप्रति नै छ ।
एजेण्डाका हिसाबले माओवादी अब्बल देखिए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकेको छैन । यद्यपी, नेपालको राजनीतिक परिवर्तनको भूमिकामा माओवादी शीर्ष स्थानमा छ । नेतृत्वमा नै छ ।
यही सन्दर्भ जोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा नै संविधानसभाबाट संविधान बनेको ऐतिहासिक तथ्यलाई स्मरण गराए । माओवादीकै नेता नारायणकाजी श्रेष्ठ र मातृकाप्रसाद यादवले पनि पार्टीको चिन्ता गरे । उनीहरूले माओवादीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ‘प्रेसक्रिप्सन’ प्रस्तुत गरे । साङ्गठनिक कर्मकाण्ड पूरा गर्न मात्रै माओवादीको आयोजना नगरिएको भन्दै नेता श्रेष्ठले माओवादीले गर्नुपर्ने विभिन्न पाँच वटा कामका बारेमा उद्घाटन शत्रलाई जानकारी गराए ।
अर्का नेता यादवले कोही कसैले छाड भन्दैमा क्रान्तिकारी नेतृत्वले छाड्न नमिल्ने र नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पूँजीवादीको भएको बताए । नेता यादवले भने, “अहिले चलेको पुस्तान्तरणको कुरा पूँजीवादीहरूका कुरा हुन् । बुढाले छाड्नुप¥यो र नयाँलाई दिनप¥यो । स्थापित नेतालाई पाखा लगाइदिने अनि केही नजान्नेलाई नेता बनाइदिने ।” नेता यादवले पार्टी र क्रान्तिको चिन्ता गर्दै अगाडि भने, “फेस र एजले मात्रै नेतृत्व हुँदैन ।”
नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरलले पनि माओवादीको पहिचान स्मरण गर्न सुझाव दिए । उनले जनयुद्ध सुरु गर्दा ताकाको केन्द्रीय समितिले गरेको प्रतिबद्धता सम्झन विशेष गरी प्रचण्डलाई सुझाव दिए । राष्ट्रियता, जनजीविकाको विषयमा प्रष्ट भएर आए माओवादीसँग पुनः एकता हुने उनको भनाइ थियो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनयुद्धकालीन दिनहरू स्मरण गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहको बलमा गणतन्त्र र सङ्घीयता स्थापना भएको तथ्य पेश गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन नसकेको भन्दै पहिचानको खोजी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि माओवादीको मूल्य र मान्यताको खोजी गरे । उनले संविधानमा सबैथोक भए पनि केही नभएको जस्तो भएको भन्दै संविधानलाई पूर्ण बनाउन सके माओवादी नै सफल हुने धारणा राखे ।
मालेका महासचिव मैनालीले त व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेकामा जनगुनासो व्याप्त रहेको भन्दै नेपाली राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर माओवादी नेतृत्वलाई नै प्रश्न गरे । सबै नेताका धारणा सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टी एकता जोगाउन नसकेको र माओवादी आन्दोलन कमजोर भएको विषयमा आत्मसमीक्षा गर्ने दृढता व्यक्त गरे । माओवादी अरु कारणले होइन मेरो आफ्नै कारणले बिग्रिएको भन्दै अब आफैँबाट सच्याउन सुरु गर्ने अध्यक्ष प्रचण्डको स्वीकारोक्ति थियो ।
माओवादीका स्थायी समिति सदस्य पम्फा भुसालले पनि समाजवाद उनमुखसमाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ महाधिवेशनको मुख्य उद्देश्य रहेको भन्दै माओवादी अब खास रुपमा माओवादीको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे । पार्टी भित्रका नेतादेखि बाहिरका नेताहरूले समेत माओवादीको पहिचान खोजेको सन्दर्भमा महाधिवेशनबाट माओवादी कुन रुपमा प्रस्तुत हुन्छ भन्ने चासो र जिज्ञासा पैदा गरिदिएको छ ।
माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौँ महाधिवेशनले गर्नेछ । देश, जनताको विश्वासलाई कुन रुपमा माओवादीले सम्बोधन गर्ला भन्ने चासो यतिबेला आम जनमानसमा रहेको छ । कर्मकाण्डी रुपमा अधिवेशन सकिएला वा माओवादीलेभने जस्तै केही नयाँ रुपमा आउला त्यो भने पुस १५ गतेसम्म पुग्दा नै स्पष्ट भइसक्नेछ ।
