Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने टोलीको तमोरमा रयाफ्टिङ मज्जा

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
धराने टोलीको तमोरमा रयाफ्टिङ मज्जा

धरान–१ छाताचोक छेऊमा रहेको तमोर रिभर एडभेन्चर प्रालिको कार्यालयमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई फोन गर्दै गरेको भेटिए– ए साथीहरु छिटो आउनुपरयो । अघिल्लो दिन अर्थात् शुक्रबार नै धरान उपमहानगरपालिकाले १६ जनाको टिम तयार गरिसकेको रहेछ । त्यही टिम नै शनिबार कार्यालयमा आइपुगे ।
टिममा थिए– प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, मेयर राई, मेयरकी धर्मपत्नी रिना राई धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख उपसचिव रत्नबहादुर कटुवाल, विज्ञ समिति सदस्य सुजेन्द्र तामाङ, उपमहानगरपालिकाका सल्लाहकार अनिल श्रेष्ठ, सामाजिक विकास शाखाकी प्रमुख प्रज्ञादेवी निरौला, धरान–१८ का वडाध्यक्ष प्रविन राई, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, पर्यटन प्रवद्र्धन समितिका सदस्य सरोज भट्टराई, सूचना तथा पर्यटन महाशाखाकी रमिला कुलुङ, कांग्रेस क्षेत्रीय नेता मुरारी भट्टराई, कांग्रेसका युवा नेता युनेष राना मगर, स्थानीय विनिता राई, पत्रकार सञ्जीता धमला र म पनि ।
छाताचोकमा ‘रेडी’ अवस्था थियो– पहाडी जिल्लाको कुनाकुना चहारिसकेको अनि कच्ची सडकमा भोगिसकेको ‘साँघुरी यातायात प्रालि’ नामको बस । पुरानै भएपनि इन्जिन भने दह्रो जस्तो लाग्ने । सबै भेला भएपछि लाग्यौं तमोर नदीतर्फ । मेयर राई र केही व्यक्ति ड्राइभरको छेऊमा लुसुक्क बसे । अन्य व्यक्ति पछाडि । हामीसँग रयाफ्टिङका सञ्चालक मदन ढकाल पनि सँगै थिए । उनी भन्दै थिए– तमोरमा धेरै मजा आउँछ नि, अझ भन्ने हो भने छालसँग लुकामारी खेल्न त झनै मजा । यो मुटु दह्रो हुनेले जलयात्राको गन्तव्य हो, तपाईहरु पनि मुटु दह्रो नै बनाएर मजा लिँदै चतरा आउनुहोस् है त्यहीँ भेटौं ।
भेडेटार छेऊछाऊ पुगेपछि अधिकांशले अमिलो अमला खाए । धरान–१८ का वडाध्यक्ष प्रविनले बोकेको अमला अधिकांशलाई एकवटा पुग्यो । बाँड्नेमा थिइन्– सञ्जीता । उनले बाँडेको अमला अधिकांशले मिठो मानी खाए । तमोर पुगेपछि बसबाट सबै झरे । खाजा खाने निधो पहिल्यै रहेछ । खाजा खाए । अधिकांशले माछा–भुजा खाए , केहीले थुक्पा ।
तमोर किनार (विश्रान्ति आश्रम छेऊ) मा पुगेपछि मेयर राई, उपसचिव रत्न सर, वडाध्यक्ष प्रविन, सल्लाहकार अनिल, युवा नेता युनेष लगायतले रबरबोट (डुङ्गा) मा हावा भर्न सघाए ।
गाइड साइला (साइला परियार) ले लगभग १५ मिनेटको ब्रिफिङपछि शुरुमा रयाफ्टिङ जाने भनेर चम्किएकाहरुको अनुहार पनि मलिन देखियो । कारण थियो– साइलाको ब्रिफिङ । उनले भनिरहेका थिए– ‘रिक्स’ पनि हुन्छ तर रिक्स भएपनि हामी सहजै नदीबाट उत्रिन सक्छौं । उनका भनाइअनुसार लाइफ ज्याकेट लगाएपछि नदीमा परिहाले उत्तानो परिहाल्नुपर्छ । उनले थपिरहे– चाहेर पनि हामी नदीमा डुब्न सक्दैनौं । अलिकति पानी त खाइहालिन्छ नि तर पनि डराउनुपर्दैन, आत्तिनु पर्दैन । उनका अनुसार बोटबाट खसिहाले नडुब्ने लाइफ ज्याकेट, हेलमेटले काम गरिहाल्छ । गाइड लालेले सुनाइरहे– पौडी खेल्न आउँदैन भनेर डराउनु पर्दैन । हामी कसैलाई पनि डुब्न दिदैनौं । हामी कस्तो बेला जाँदा खतरा हुन्न भनेर सबथोक विचार र तयारी गरेपछि मात्रै खोलामा पसेका हुन्छौं ।
गाइडले ‘गो बोट’ भन्नेबित्तिकै हामी हाम्रो यात्रा अघि बढ्यो । मनमा दुविधा थियो तरपनि उत्साहित थिएँ । किनभने म यसअघि पनि रयाफ्टिङ यात्रामा गइसकेकै थिएँ । उत्साहित सबैको अनुहारमा चमक आयो । हामीसँगै यात्रा गर्ने अधिकांश पौडी खेल्न नजान्ने नै रहेको पाइयो । त्यहाँ पुगेका सञ्चालक मदनले पनि मजा हुन्छ भन्दै घरतिर बस लिएर फर्किए । उनीहरुलाई मैले पनि ब्रिफिङ गरे– मन मलिन नबनाउनुहोस्, सहजै हुन्छ ।
यात्रा शुरु भएपछि सबै रमाए । आफू, प्रदेश १ का सांसद श्रेष्ठ, मेयर राई, वडाध्यक्ष प्रविन, युनेश, रिना, सञ्जीता र सविना एउटा बोटमा र अन्य अर्को बोटमा । म आफू, मेयर, वडाध्यक्ष प्रविन र युनेष प्याडल समाउनेमा थियौं ।
हामीसँग थिए– गाइड लाले उर्फ लालकुमार राई । तमोरको पुलमुनिको सानो रयापिडमै सबै रमाए । करिब ७ मिनेटपछि आउने रयापिड (छाल) मा पस्दा धेरैले मनोरञ्जन लिए । रबरबोटका डोरीमा खुट्टा अल्झाएका अधिकांशको खुट्टा भएभरको बल लगाएर भित्र छिराइसकेका थिए भने डोरी समात्नेले पनि सक्दो डोरी समातिसकेका थिए । उनीहरुले छाल पार गरेपछि भने– मजा त छालमै रहेछ । सबैजना पुसको चिसो पानीले निथ्रुक्कै भिजेका थिए । भित्री बस्त्रसम्म पानी पुगेपछि ८० वर्ष पार गरिसकेका सांसद चन्द्रप्रसादले समेत भने– वाह मजा त यसमा रहेछ । जब छाल आउन लाग्छ वा अप्ठयारो पर्न लाग्छ, त्यतिबेला गाइडले भनिहाल्थे ‘प्याडल फरवार्ड, अल ब्याक’ अनि सहज भएपछि ‘स्टप’ । हामी पनि त्यसै गर्दै अघि बढ्यौं ।
अघिअघि हेल्मेट लगाएर टाउकोमा ‘गो–प्रो लगाएर बतासिएका जोजो (यस क्षेत्रमा चिनिने नाम) अर्थात् सन्दीप राई कायाकिङमा थिए । उनी अलि अघि बढ्थे, छालको अवस्था र बाटोको अवस्थाबारे नियाल्थे, हाम्रो डुङ्गाले पछ्याइरहन्थ्यो । कायाकिङ यस्तो हो– जहाँ एकजना मात्रै बस्न मिल्ने । रिना र सञ्जीताले त्यसमै बस्दा मजा हुन्छ होला भनिरहन्थे । सञ्जीताले त यतिसम्म भनिन् कि खाना खुवाउने ठाउँमा म यसमा एकपल्ट नचढी छोड्दिनँ । उनले त्यसमा चढेर टिकटक बनाउने धोको रहेको सुनाइन् ।
दोस्रो छालले नगरपालिकाको कर्मचारी रमिलालाई हुत्याएर झारेपछि…

दोस्रो छालमा पुगेपछि धेरैको डर अलि कम भइसकेको थियो । त्यो छाल आउनुअघि एकछिन साइडमा दुवै बोट रोकिए । मेयरकी पत्नीले बोकेका सुन्तला, छोकडा, उसेनेको मकै सबैले खाए । बाँड्नेमा थिए–मेयर आफैं । दोस्रो रयापिडमा अर्को डुङ्गामा चढेकी धरान उपमहानगरपालिकाकी कर्मचारी रमिला नमज्जाले झरिछिन् ।
हामी बढ्दै गरेको डुङ्गाका गाइड लाले (लालकुमार) ले झट्ट पक्र भनेको आवाज सुनियो । कायाकिङवाला छालमा परेको हुनाले सन्दीपले उनलाई पक्रिन सकेनन् । किनभने छालले उनलाई घरी तल, घरी माथि उतार्दै थियो । त्यतिकैमा हाम्रै गाइड लालकुमार अघि बढे अनि उनलाई छाललाई जित्दै हाम्रो बोटमा उतारे अर्थात् उद्दार गरे ।
त्यसपछि अर्को बोटमा रहेका सबैले गडगडाहट ताली बजाए । त्यसपछि उनलाई आफू बसेकै बोटतर्फ पठाइयो । सबैको अनुहार निन्याउरो बन्यो तर छालामा झरेपनि उनी भने जोशिलै थिइन् । हैट, छाल आएपछि खुत्रुक्कै झरिछु, मैले त चाल नै पाइन्, पानीमुनि डुबेपछि पो म पानीभित्रै रहेछु भन्ने थाहा भयो, उनले जोसिलै स्वरमा भनिन् ।
हाम्रो बोटको गाइड लालकुमारले खिन्न मन पारेको हाम्रो टिमलाई हौस्याउन लागिरहे– यसअघि त यो ठाउँमा बोट नै पल्टिएको थियो, त्यतिबेला धेरैलाई उद्दार गरेको थिएँ । उनले थपिरहे– म नै थिएँ शुरुमा बोट पल्टाउने । धेरैपल्ट बोट पल्टियो । उनले भारतीय पर्यटक त गम्छामा रयाफ्टिङ आउने गरेको भन्दै हँसाए पनि । रयाफ्टिङमा छाल उठेको ठाउँलाई रयापिड भनिने गाइड लालकुमारले भनिने रहेछ ।
हाँस्दै हाम्रो टोली अघि बढ्यो । तेस्रो छालमा पुनः मज्जाले भिजियो । क्यामेरा पहिल्यै सेफ्टी ब्यागमा पोको पारिएको थियो । फोटो खिचौं त पहिल्यै लागेको थियो तर पनि त्यहाँ फोटो खिच्ने रहर पूरा हुने अवस्था थिएन । ज्यान हुत्तिने छालमा फोटो खिच्ने कुरै भएन ।
तेस्रो रयापिड भेट्नुअघि घाम पनि लागेको हुनाले धेरैजसो निदाएको जस्तै देखिन्थे । तेस्रो रयापिड कतिखेर आइपुग्छ होला भनेर धेरैको मनमा जिज्ञासा नै रहेको पाइयो । सांसद चन्द्रप्रसादले त रयापिडमै मजा हुने सुनाए । रयापिडमा जोखिम बढी तर मज्जा आउने उनको भनाइ थियो । यस्तै जोखिम र मजाका लागि त आएका हौं नि भनेरै उनको जोसिलो भनाइले सबै हर्षित पनि थिए । त्यसपछि गाइड लालेले हामीलाई अघि बढाए । उनले हाम्रो टोलीलाई विभिन्न कुराहरु सुनाएर हँसाइरहे ।
बीचमा पुगेपछि सामान उतारेर हावा भर्ने काम भयो । धेरैले थकाइ पनि मारे । त्रिवेणी पुगेपछि खाना खाने बेला भयो । मेयर राईले कुखुराको मासु लोकल भए ठीक हुने जवाफ दिए ।
खाना खाइसकेपछि हाम्रो टोली अगाडि बढ्यो । कायाकिङमा रहेका सन्दीपले छालसँगको पौंठेजोरीलाई भिडियोमा उतार्न ल्याएको ‘गो–प्रो’ क्यामेरा छालैपिच्छे खिचिरहे । कायिक सन्दीप गो–प्रो ले खिचेको भिडियो धरान आएपछि सबैले बाँड्ने शर्त थियो ।
तमोरमा मात्रै होइन त्रिवेणी दोभानमा आएपछि पनि छालसँग पौठेजोरी खेल्दै पर्ने रहेछ । सबैले पौठेजोरी खेल्दै धार्मिक गन्तव्य बराहक्षेत्र आएपछि लामो सास फेरे । मेयरले भने– म त पानीले नुथु्रक्कै भिजेछु अनि प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ दाइ पनि । उनीहरु लगलग कामिरहे, यात्रा अघि बढिरह्यो । कोशीको पुलमुनि आइपुगेपछि सञ्जीताले कायिकमा मज्जा लिइन् । कायिकवाला सन्दीपले छोडिदिए । तर पनि रबरबोटमा चढेर उनले समाइरहेका थिए । उनी भन्दै थिइन्– प्लिज नछोड्नु है ।
यात्राको क्रममा ३४ किलोमिटर छालसँगको पार गर्न लागियो । चतराघाट उत्रिएर रबरबोटका हावा खुस्काएपछि गाडीमा लोड गरेपछि हाम्रो यात्रा टुङ्गीयो । बिहान मूलघाट लैजाने गाडीले फेरि धरान ल्याएर आयो । कौतुहल मन लिएर तमोर झरेको टोली मूलघाटबाट बगेर चतरा आएपछि यात्राका मिठा अनुभव लिएर फर्कियो । चतराको सडकमार्ग हुँदै धरान आइयो । हाम्रो यात्रा सकियो ।

दुई दर्जन रयापिड
मूलघाटदेखि चतरासम्म पुग्दा झन्डै दुई दर्जन छाल रहेको गाइड लालेले सुनाए । उनले देशभरकै नदीमध्ये बढी जोखिम र मज्जा आउने भनेको तमोर नै हो रे । यो नदी देशभरको जोखिममध्ये दोस्रो स्थानमा छ भनेर सुनाउँदै अधिकांशले जिब्रो टोके । उनले यो नदी जोखिम रहेपनि उद्दार गर्न सजिलो हुने सुनाए । उनका अनुसार ठूलो र कोप्चिएर रहेको छालमा जोखिम बढी र अन्यमा सजिलो हुने पनि बताए । उनका अनुसार नदी धेरै घुमाउरो अनि चेपचाप रहेको रयापिड धेरै भएकाले तमोर अलि अप्ठ्यारो नदी त हो ।
धरान साहसिकमा अगाडि
धरान साहसिकमा पनि अगाडि छ । यो कुरामा सबैले सहमत जनाए । प्रदेश सांसद चन्द्रप्रसाद, मेयरलगायतले यसबारेमा धेरै वर्णन गरिरहे । हुन पनि हो धरान साहसिक खेलमा अगाडि नै छ । यहाँ प्याराग्लाइडिङ, साइक्लिङलगायत अन्य साहसिक खेल हुन्छन् । सञ्चालक ढकालका अनुसार धरान आएर तमोर जलयात्रामा जान चाहनेले मङ्सिरदेखि जेठसम्म ३ हजार रुपैयाँमा एकजना जान पाउने बताउँछन् । उनका अनुसार यो खेल यहाँ सञ्चालनमा ल्याएको २००५ देखि शुरु भएर हाल १६ वर्ष भइसक्यो ।
उनले ताप्लेजुङको दोभान, अरुणमा लेगुवा र सुनकोशीबाट रयाफ्टिङ व्यवसाय गर्दै आएको बताए । तमोरको लागि १० घण्टाको प्याकेज हुन्छ । त्यसमा ३४ किलोमिटर पार गर्नुपर्ने हुन्छ । सुनकोशीमध्ये तमोर नदीमध्ये अलि अप्ठेरो, बढी जोखिमपूर्ण रयापीड भएको श्रेणीमा पर्ने उनले बताए । उनले पर्यटन गतिविधि चलिरहेपनि कोरोना कहरले केही महिना लगानी उठाउन पनि धौ धौ भएको सुनाए । दुई वर्ष त व्यवसाय ‘लस’ गएको सुनाए । उनका अनुसार अहिले पनि अफिस चलाउने, स्टाफ पाल्नेबाहेक केही भएकै छैन ।

फर्केपछि…
फर्केपछि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले फोन गरे– भाइ रयाफ्टिङ कस्तो भयो ? मैले भनें– उपमहानगरपालिकाकी कर्मचारी रमला मिस छालमा झर्नुभयो । उनले सहजै भने– त्यसो भए रयाफ्टिङ ‘एडभेन्चर’ र अविस्मरणीय बनेछ । उनले सुझाए– धराने जमात मात्रै नभएर अहिले धेरै नेपालीले एडभेन्चरमा फरकपन खोज्दैछन् । रयाफ्टिङ एउटा फरक हो । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख कटुवालले अन्त्यमा भने– साहसिक रयाफ्टिङ खेल रमाइलो र फन्नी हो ।
छालसँगै खसेकी रमिलाले थोरै घुँडा, छेपारीतिर भेटेको र औंला समेत ठोक्किएको हुनाले केही दुखेको अनुभव भएपनि आफूलाई छालसँगै झरेकोमा कुनै गुनासो नरहेको बताइन् । ‘पहिला नै गाइडले झरेपनि केही हुँदैन भनेर भनेकोले आफूमा ‘कन्फिडेन्स’ लेवल हाइ भएको र केही हुँदैन भनेर सोचिरहेको र म सहजै निस्किन्छु भन्ने मनमा लागिरहेकोले खासै डर लागेन ।’
मेयर तिलक राईले धरानको विकासका लागि यस्तो साहसिक पर्यटन आवश्यक रहेको प्रतिक्रिया दिए । उनले धरानेले नै रयाफ्टिङ गराउने गरेकोमा सञ्चालक ढकाललाई धन्यवाद दिए । धरान उपमहानगरपालिकाका विज्ञ समिति सदस्य सुजेन्द्र तामाङले रयाफ्टिङले धरानलगायत छेऊछाउका क्षेत्र उकास्ने बताए ।
सञ्चालक मदन ढकाल के भन्छन्–
तमोरको पानी पनि त्यति चिसो हुँदैन जति पहिलो पटक रयाफ्टिङ गर्न जानेको मन चिसिन्छ । खोलामा पसेपछि के होला ? कथम्कदाचित लडियो भने ? बीचैमा चिप्लिएर खसियो भने ? यस्ता अनगिन्ती प्रश्नले तनमन चिसो बनाएकै हुन्छ । त्योसँगै कस्तो हुन्छ होला ? कतिखेर पानीमा पस्ने होला ? पानीको छालसँग कसरी जोगिने होला ? जस्ता प्रश्न पनि मनमा खेलिरहन्छन् । प्रश्नैप्रश्नको बीचमा मन अत्यन्तै रोमाञ्चित भइरहेको हुन्छ । जब ‘रिभर गाइड’ ले रयाफ्टिङको विषयमा जानकारी गराउँछन् तब मनका छालहरु यसरी उर्लिन्छन् । हेल्मेट र लाइफ ज्याकेट लगाएर चढेपछि मनमा उब्जिएका तमाम शंका बिस्तारै हराउँदै जान थाल्छन् । पानीको छालले शरीर भिजाइदिँदा एकप्रकारको रोमाञ्चकता आउँछ त्यसपछि सबैले गर्ने कुरा एउटै हुन्छ– कतिखेर आउला रयापिड ।
तस्वीरहरुः शेखरनाथ जोगी

DCIM100GOPROGOPR2915.

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend