धरानः कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ ।
सीसीएमसीको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ । यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो ।
प्रवक्ता सुनिता नेपालका अनुसार कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो । उनका अनुसार केन्द्रको सिफारिसलाई मन्त्रिपरिषद्रुबाट निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । ‘भर्चुअल र अन्य विधिबाट हुने पठनपाठनलाई निरन्तरता दिन सकिनेछ’, उनले भनिन्, ‘विद्यार्थी र शिक्षकलाई कोभिडविरुद्धको भ्याक्सिन दिन पनि विद्यालय खुलाउन सकिनेछ । तर भौतिकरुपमै पठनपाठनलाई भने माघ मसान्तसम्म रोक लगाइएको छ ।’ यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
प्रवक्ता नेपालले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको बताएकी छन् । बैठकले भिडभाड हुने सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई भने माघ मसान्तसम्म बन्द नै राख्न पनि सिफारिस गरेको छ ।
केन्द्रको सिफारिस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द हुने भएका छन् । यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम पनि माघ मसान्तसम्म नगर्ने गरी निर्णय लिनस केन्द्रले सिफारिस गरेको छ ।