धरानः जनता समाजवादी पार्टी (जसपा) धरानका नगर सदस्य अरुण लिम्बूसहित ४१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मङ्गलबार कांग्रेस १६ नं. वडा समितिले आयोजना गरेको एक कार्यक्रममा जसपा धरानका नगर सदस्य लिम्बुको नेतृत्वमा पार्टी परित्याग गरी ४१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य चित्राकुमारी राई, बुथ सभापति किरण आचार्य लगायत नेताहरुले खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
महामन्त्री थापाले अहिले नेपालमा एमसीसी ठूलो हाउगुजी बनेर आएको जनाउँदै एमसीसीबारे समयमै जनतालाई बुझाउन नसक्दा अहिले यो अवस्था सिर्जना भएको बताए ।
कांग्रेस जिल्ला सचिव माधव घिसिङले मुलुकभर नै कम्युनिष्टहरुले राष्ट्र र जनताको हितविपरीत काम गरेको कारण कांग्रेसप्रति विश्वास बढ्दै गएको बताए । कार्यक्रममा नगर सभापति पोखरेलले धरानका सबै वडाहरुमा कांग्रेसको क्रियाकलापहरु अहिले सही ढङ्गबाट अघि बढिरहेको बताए । उनले पार्टीलाई मर्यादित र अनुशासित बनाउनका लागि सबै वडाहरुमा प्रशिक्षण कार्यक्रम गराइने पनि जानकारी दिए ।