प्रवेशिका परीक्षामा छात्रको तुलनामा छात्राको संख्या धेरै हुने समाचार प्रकाशित भए । यसलाई केही सकारात्मकरूपमा व्याख्या विश्लेषण पनि गरियो । विगतको समयमा हुने छात्राको न्यून भर्नाको सन्दर्भमा र छोरीलाई पढाउने चेतनामा आएको वृद्धिका सन्दर्भमा सुखद मान्नुपर्छ तर सिकाइका दृष्टिले, उत्तीर्ण हुने प्रतिशत र विशिष्ट श्रेणीमा भएको अन्तरले छात्राको भर्नाको मात्र गरिने हिसाबले शिक्षामा समानताको अवस्था छैन है भन्ने प्रतिबिम्बित हुन्छ ।
भाषण, नारा र सिद्धान्तमा भन्दा व्यवहारमा नारी स्वतन्त्रता र समानताको आवश्यकता छ । विद्यालयमा छात्रामाथि हुने हिंसा, छात्रा शौचालय, दक्ष महिला शिक्षिका शैक्षिक समानताका लागि उपयोगी हुने देखिन्छ । छात्रा शौचालयको अभावमा छात्राहरूको विद्यालय छाड्ने दर, रजस्वलाको समयमा हुने विद्यालय अनुपस्थिति, परामर्श सेवाको अभाव विद्यालयमा छात्राको सिकाइका लागि वाधक रहेका छन् । त्यसैगरी घरमा घरायसी कामधन्दामा छात्राहरूको सहभागिता बढी हुने हुनाले र छोराको तुलनामा घरमा छोरीहरूलाई उपलब्ध हुने अध्ययनको समय अभाव अन्य कारक तत्वका रूपमा रहेका छन् ।
महिला सशक्तिकरणको सशक्त माध्यम भनेको शिक्षा मात्र हो । छोरीहरूलाई शिक्षा प्रदान गर्ने सवालमा भर्ना दरले मात्र पुग्ने अवस्था छैन । समानता सिकाइमा, रोजगारीमा, श्रमको ज्यालामा र घरको काममा पनि आवश्यक छ । शिक्षा विभागबाट केही वर्षअघि प्रकाशित तथ्याङ्कअनुसार हेर्दा निजी विद्यालयको प्राथमिक तहमा अध्ययनरत कुल विद्यार्थी मध्ये १३.२ प्रतिशत छात्रा छन् भने १७.७ प्रतिशत छात्र छन् भने माध्यमिक तहमा १६.२ छात्रा र २१.७ छात्र रहेका छन् । उत्तीर्ण प्रतिशतमा मात्र होइन कक्षा दोहोरयाउने र कक्षा छाड्ने दर समेत छात्रको तुलनामा छात्राको बढी रहेको छ ।
म जान्ने भएदेखि आजसम्म देखेका सुनेका र सहभागी भएका नारी दिवसमा शिक्षाका कुरा प्राथमिकतामा परेको पाएको छैन । कुनैपनि नारी दिवसले महिलाको स्वास्थ्य, प्रजनन अधिकारका कुरा गर्न सकेका छैनन्, शिक्षाका सवाल उठाएका छैनन् । राजनीतिक दल अनुसार फरक फरक ठाउँमा भेला हुने महिलाहरू दलीय स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् नारी दिवस मनाउने सवालमा । बलात्कार र हत्याका विषय नारी दिवसका विषय हुँदैनन् । विद्यालय पढ्न गएका बालिकामाथि हुने एसिड प्रहारका घटनाहरू नारी दिवसका विषय बन्न सकेका छैनन् ।
दिनभरि नारी स्वतन्त्रताको वकालत गर्दै हिँड्ने एउटी महिला आफ्नै घरमा छोरी र बुहारीलाई फरक फरक व्यवहार गर्छिन् । एक शिक्षित सहरिया नारी छोरा र छोरीका बीच फरक व्यवहार गर्छिन् । समानता र स्वतन्त्रताका कुरा घरबाट सुरु गरेर विद्यालय हुँदै समग्र समाजमा पुरयाउनु आवश्यक छ । छात्राहरूका लागि पहुँचमा होइन गुणस्तर र सिकाइमा समानता आवश्यक छ ।
माथि उल्लेख गरेका विभिन्न प्रसङ्गलाई आधार बनाउने हो भने केटाहरूले विद्यालयमा र शैक्षिक उपलब्धिमा पनि संरचनात्मक लाभांश प्राप्त गरेका छन् । विद्यालयमा अनुशासन उल्लंघनका घटनाहरू ९० प्रतिशत भन्दा बढी केटाहरूबाट हुने गर्छ । विद्यालयमा खेलकुदका सामग्री हुन वा पुस्तकालय र प्रयोगशालामा छात्राहरूभन्दा छात्र अगाडि हुन्छन् शिक्षकले छात्रलाई नै प्रोत्साहित गर्छन् । शिक्षकहरूले कक्षामा शिक्षण गर्दा छात्राहरूको सिकाइमा भन्दा छात्रको सिकाइमा बढप् चासो दिन्छन् । अभिभावकहरू छोरीको पढाइमा भन्दा छोराको पढाइसँग चिन्तित छन् । मेरो छोरीको पढाइ बिग्रियो भनेर चिन्ता गर्ने अभिभावक १० जना हुन्छन् भने ८० जना छोराको पढाइको चिन्ता गर्ने हुन्छन् । यी लगायतका धेरै कारणहरू जिम्मेवार छन् छात्राको सिकाइ सुधारका लागि । के अब हाम्रो समाज र राज्य तयार होला त नारी दिवसमा छात्रा र शिक्षाका कुरा गर्न ।
चेतनशील र प्राणीको सर्वश्रेष्ठ प्राणी भने तापनि मानिस महिलालाई गर्ने व्यवहारका सम्बन्धमा अझ पनि अन्य पशु प्राणी जत्तिको पनि हुन सकेको छैन । अझ चेतनशील भएको छैन । मानिसमा अझ पनि मानवीयता विकास भएको छैन । मानिसबाहेक अरू कुनै पनि प्राणीले गर्भमै छोरा छोरी छुट्याएर भ्रुण हत्या गर्दैनन्, छोरी जन्मियो भनेर दुःख मनाउ गर्दैनन् र पालन पोषणमा फरक व्यवहार गर्दैनन् । यही फरक छ प्राणीको सर्वश्रेष्ठ मान्छे र अरू प्राणीका बीच ।