प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन होली पर्व मनाइन्छ । नेपाल, भारत र अन्य राष्ट्रका पनि हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम् भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ । साथै, यो चाडले वसन्त ऋतुको आगमनको शंघघोष गर्छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चिर–विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरु भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चिर–लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । होली रंगहरूको चाड हो । होलीका दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक–अर्कालाई रंगीन बनाउँछन् ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । होली हिन्दूहरूको दोस्रो महान् चाड हो । यो पर्वलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ । यो पर्वले राग, रंग, द्वेष, क्रोध, ईष्र्या, त्याग गरेर साथी होस् वा दुस्मन, सबैसँग समान रूपमा प्रेमको साथ बस्न सिकाउँछ । यसैकारण यस पर्वमा सबैसँग रंग, अबिर खेलेर हाँसीखुसीसाथ बाँच्ने शिक्षा पनि यो चाडले दिन्छ ।
भनिन्छ, होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छेले एक–अर्कासित एक अद्वितीय सम्बन्ध स्थापित गर्छन् । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ ।
पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्यनारायण पूजाको स्वरूपमा गरिन्छ । सामान्यतया सत्यनारायण पूजा जहिले गरे पनि हुने कार्य हो । यद्यपि पूर्णिमाको दिनमा गरिने यस पूजाको फल निकै धेरै पाइन्छ । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रंगीन पर्वका रूपमा लिइन्छ ।
नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ । नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ । नेपालका विशेष सहरहरू काठमाडौँ, पोखरा, धरान, भरतपुर, विराटनगर, धनगढीलगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाउँहरूमा पनि होली भव्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । वर्तमान समयमा होलीले विभिन्न खालका विकृति–विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा युवाहरू इच्छाविपरीत रङ दलिदिने, हिलो लगाइदिने, युवाहरू रक्सी, गाँजा, भाङ, खाएर मात्तिनेजस्ता काम गर्छन्, जसलाई राम्रो मान्न सकिँदैन ।