नेपाल सरकारले पटकपटक गरेर हालसम्म ४ सय १४ वटा विश्वका हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि खुला गरेको छ । त्यसो भए तापनि विश्वका एकसे एक पर्वतारोहीहरू विश्वकै अग्लो चोमोलुङ्मा अर्थात् सगरमाथा÷माउन्ट एभरेस्ट हिमालमा जति अरू हिमालमा आकर्षित हुन सकेका छैनन् । खासमा नेपाल हिमालका लागि अन्य देशहरू हेरी धेरै धनी देश हो भन्न सकिन्छ । किनभने, नेपालमा विश्वकै अग्लो चोमोलुङ्मा अर्थात् सगरमाथा-माउन्ट एभरेस्ट हिमालबाहेक तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौ अग्लो चो–ओयु, सातौं अग्लो धौलागिरि, आठौं अग्लो मनास्लु, दसौं अग्लो अन्नपूर्ण जेठो (प्रथम) हिमाल पनि नेपालमै रहेका छन् ।
यी हिमालहरूले पनि पर्वतारोहीहरूको बढी ध्यानाकर्षण गर्ने गरेको छ । त्यस्तै ७ हजार मिटर अग्ला २ सय ४० वटा हिमाल रहेका छन् । त्योभन्दा कम उचाइ भए तापनि आमा डाब्लाम, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनिको चुली, धाम्पुस पिक, नीलगिरि, हिउँचुलीलगायतका हिमाल चढ्न विदेशी पर्वतारोहीहरू नेपाल आउने गरेका छन् । त्यसबाहेक ३३ वटा टे«किङ पनि खुल्ला गरेको छ, नेपाल सरकारले । जुन पिकहरूको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।
‘पर्वत संसारको सबभन्दा गोप्य अङ्ग हो । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वाला पर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको कथन छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’ (सन्दर्भ स्रोत : डाक्टर हर्क गुरुङद्वारा लिखित ‘विषय विविध’ नामक किताबको पाना नम्बर ६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख ।) डाक्टर हर्क गुरुङले भनेभैmँ नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् ।
हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा हजारौं गुणा बढी विदेशी पर्वतारोही आउने गरेका छन् । अझ नेपालीहरू पेसेवर रूपमा पर्वतारोही हुन धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा बर्सेनि लाखौं अमेरिकी डलर नेपालका हिमाल चढेबापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी पनि तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो चोमोलुङ्मा अर्थात् सगरमाथा-एभरेस्टलगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैंमा दिएको अमूल्य उपहार पनि हो ।
डाक्टर हर्क गुरुङका अनुसार सन् १९५९-६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरूलाई एक जना बराबर ६ हजार रुपैयाँ लाग्थ्यो । अहिले त उनीहरूले चोमोलुङ्मा अर्थात् सगरमाथा-एभरेस्ट चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी मात्रै तिर्छन् ।
अन्य खर्च त कति हो कति ! हालसम्म विश्वले मान्यता दिएका विश्वका ८ हजार मिटरभन्दा माथिका अग्ला १४ वटा हिमालमध्ये ८ हजार ८ सय ४८ मिटर अग्लो चोमोलुङ्मा अर्थात् सगरमाथा÷एभरेस्ट, ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा (सेन्छेलुङ-सेवालुङ), ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्चे, ८ हजार ४ सय ९६ मिटर अग्लो यालुङ्काङ, ८ हजार ४ सय ६३ मिटर अग्लो मकालु (सेसेलुङ), ८ हजार २ सय १ मिटर अग्लो चोओ–यु, ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि, ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण–प्रथम गरी ९ वटा (६० प्रतिशतभन्दा बढी) नेपालमै छन् । जुन कुरो हामी नेपालीहरूका लागि सौभाग्य र गर्वको कुरो हो । चीन र पाकिस्तानमा पर्वतारोहीहरूले कुनै पनि हिमाल चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले रोयल्टी दर घटाउनेतर्फ अझैं पनि सोच्ने हो कि ? किनभने, हालै नेपाल सरकार र चीन सरकारले सगरमाथाको उचाइलाई समान रूपमा ८८४८.८६ मिटरलाई आधार मानेका छन् । त्यसअघि चीन सरकारले सगरमाथाको उचाइ ८८४४.४३ मिटर मात्रै मान्दै आएको थियो ।