धरानः बुबाआमाले आफ्ना छोराछोरीहरुमा असल आचरण विकास गर्न निम्नानुसारका कार्यहरु अनिवार्य गर्नुपर्ने हुन्छ ।
१) बालबालिकाहरुलाई उनीहरूको उमेर अनुसारको बानीको विकास र चरित्र निर्माण सम्बन्धी शिक्षा दिने ।
२) आत्म–अनुशासन तथा सन्तुलित सुविधा र जिम्मेवारीता सम्बन्धी ज्ञान दिने ।
३) बुझाइ, बोलाइ र गराइमा एकरुपता ल्याउन सिकाउने ।
४) अहंकारलाई विनम्रतामा रुपान्तरण गर्न सिकाउने ।
५) माया, मोहभन्दा पनि करुणामय प्रेम दिने बानी बसाल्ने ।
६) नकारात्मक होइन सकारात्मक ढंगले कथाको माध्यमबाट उत्प्रेरित गर्ने ।
७) बच्चाहरुलाई उनीहरूको कमजोरीको होइन खुबीको प्रशंसा गर्ने , अपमान होइन उनीहरूलाई सम्मान गर्न थाल्ने ।
८) बच्चामा सोंच्ने, खोज्ने, आत्मविश्वास बढाउने, निर्णय गर्ने तथा नेतृत्व क्षमताको विकास गर्ने उपायहरु सिकाउने ।
९) विशेषतः साना छोराछोरीहरुलाई विकल्प रहितभन्दा विकल्प सहितको प्रश्न विनम्रतापूर्वक सोध्ने ।
१०) व्यस्तताको कारण देखाई बुबाआमाले छोराछोरीहरुलाई रुपैयाँ दिने तर समय नदिने जस्तो गलत कार्य गर्दै नगर्ने ।
११) बच्चामा डर पैदा गर्ने होइन बरु उनीहरूलाई जिम्मेवार बनाउन विश्वासनीय वातावरण सिर्जना गर्ने ।
१२) बच्चाको भावना र स्वभावलाई बुझी उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने र व्यवहार गर्ने ।
१३) बच्चाहरूसँग दुरी कम गर्न र उनीहरूको साथ सहयोग प्राप्त गर्न बुबाआमाले समय उपलब्ध गराउने ।
१४) बच्चाले प्रयोग गर्ने सेवा–सुविधा सम्बन्धमा जानकार रहने ।
१५) घरमा परिवारका सदस्यहरुबीच घरभित्र वा बाहिरको विषयलाई लिएर गाली–गलौज, दुव्यवहार, झै–झगडा, हिंसा गर्दै नगर्ने ।
१६) बच्चाको उपलब्धिहरुलाई प्राथमिकता दिँदै सजाएर राखिदिने ।
१७) बच्चाको अध्ययन तालिका, कार्यतालिका र लक्ष्यप्राप्तिसम्बन्धी योजना निर्माणमा सहयोग गर्ने ।
१८) उनीहरूले गरेको कोसिसलाई खुलेर प्रशंसा गर्ने ।
१९) किचनसम्बन्धी आवश्यक कार्य गर्न सिकाउने ।
२०) घरमा अध्ययनशील वातावरण सिर्जना गर्ने ।
२१) बच्चा माथि गरिने रोकटोक र ठोकसम्बन्धी नीतिलाई पूर्णरुपमा निष्कृय पार्ने ।
२२) बच्चामा असल आचरणको विकास गर्न बुबाआमाले पनि असल आचरण प्रदर्शन गर्ने अर्थात् बुवाआमाबाट गल्ती वा कमी–कमजोरी भएमा त्यसलाई सहर्ष स्वीकार गर्ने ।
२३) बच्चालाई भगवानले प्रदान गर्नुभएको अतुलनीय अमूल्य उपहारको रुपमा स्वीकार गर्ने ।
२४) बच्चाले काम गर्दाको सिलसिलामा हुने गल्तीलाई गल्तीको रुपमा नहेरी उसले गरेको प्रयासको रुपमा बुझ्दै पूर्ण समर्थन गर्ने ।
२५) छोराछोरीहरुमाथि अनावश्यक अपेक्षा राख्दै नराख्ने ।
२६) आफ्ना छोराछोरीहरुलाई अरुसँग तुलना गर्दै नगर्ने ।
२७) असल बुबाआमा बन्ने र सोही अनुसारको भूमिका निर्वाह गर्ने ।
२८) आफ्नो आचरण असल नबनाई बच्चामा असल आचरण निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गर्दै नगर्ने ।
२९) बच्चामा नेतृत्व क्षमता विकास हुने किसिमले व्यवहार गर्ने ।
३०) सम्भवतः छोराछोरीहरुको असल मित्र बन्ने प्रयास गर्ने ।