Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंक तथा वित्तीय संस्थाको बदनियत

हाम्रो कोशी आवाज
चैत्र ३० २०७८, बुधबार
बैंक तथा वित्तीय संस्थाको बदनियत

सहकारीले बजार प्रतिनिधि राखेर दैनिकी रुपमा पैसा सङ्कलन गर्ने गरेको छ । एक महिना अघिसम्म दुई लाख रकम सङ्कलन गर्ने बजार प्रतिनिधिलाई अहिले दैनिक १५ हजार रुपैयाँ उठाउन पनि निकै सकस छ । बजारमा धेरै व्यापारीहरुले पैसा राख्न छोड्दा उनीहरुको दैनिक उठाउने रकम स्वात्तै घटेको हो । सहकारीहरु जनताबाट नाङ्गिदा बजार प्रतिनिधिहरुले पहिलेजस्तो पैसा उठाउन सकेका छैनन् । मुलुकको आर्थिक सङ्कट र तरलता बढेको थाहा पाइसकेका जनताको मनमा सहकारीहरु कतिखेर भाग्ने हुन् मात्रै परेको छ । त्यसैले, उनीहरुले बचत गर्न छोडे बरु बचत गरेको रकम भटाभट निकाल्न थाले । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा सहकारीमा पैसा निकाल्न आउने मान्छेको भीड यत्तिकै देखिन्छ ।
सहकारीका कर्मचारीहरु अध्यक्षलाई भेट्नुस् भनेर पन्छिछन् तर अध्यक्ष आफैपनि लुकीछिपी हिँडिरहेका छन् । सहकारीमा पटकपटक जाँदा पनि अध्यक्ष नभेटिएको र रित्तो हात फर्किनुपरेको बचतकर्ताहरु बताउँछन् । अहिले वित्तीय संस्थाहरुले बढी व्याज दिएर बचतकर्ता तान्ने अनेकौ उपाय अवलम्बन गर्दैछन् । बैंकले लिखितरुपमा साढे ११ प्रतिशित ब्याज दिने भनेका छन् । तर, मौखितरुपमा १४ प्रतिशतसम्म व्याज दिने उनीहरुको भनाइ छ । त्यस्तै, सहकारीले १८ प्रतिशतसम्म ब्याज दिने बताएका छन् । मलाई फोनमा यति प्रतिशत व्याज दिने भनेको तर मैले राखिन भन्नेहरु अहिले जताततै भेटिन्छन् । सार्वजनिक स्थलमा आजकाल वित्तिय संस्थाकै बढी कुराकानी भइरहेको हुन्छ । व्याज यत्रो बढाउँदा पनि पैसा राख्ने मानिस छैनन्, किन ?
सर्वसाधारणहरु पहिलेभन्दा अहिले धेरै चेतनशील भइसकेका छन् । वित्तीय संस्थाहरुले विश्वासनीयता कायम राख्न नसक्दा तिनीहरु डुब्ने अवस्थामा आइसकेका छन् । व्याजको प्रलोभन देखाएर कतिपय यस्ता संस्थाले जनताको घरखेत खाइदिए । कतिपय बचतकर्ताको खाइनखाइ जम्मा गरेको रकम नै लिएर भागे । बढी व्याजको प्रलोभन देखाउँदै वित्तीय संस्थाहरुले जनतालाई कहीकतैको छोडेनन् । त्यसैले पनि उनीमाथि भएको विश्वास स्वाटै घट्यो । बैंकले पहिले जम्मा सात प्रतिशतसम्म ब्याज दिन्थ्यो । सहकारीले पनि दैनिक बजारबाट पैसा उठाउँछ । तर, पैसा राख्नेले जम्मा दैनिक दुई प्रतिशत ब्याज पाउँछन् । जनताको पैसा बिनाधितो राख्ने, एउटा भौचरको दिने तर, कर्जावाललाई बैंकले रुवाउनु रुवाएको छ ।
कर्जावालले धितो राखेर महङ्गो ब्याजमा थोरै ऋण पाउँथे । धितोको भ्यालेसन गरेर जम्मा आधा रकम दिन्थे । यता, तीन प्रतिशत सेवाशुल्क, घुस र शेयर त छुट्टै छ । बचतकर्ताले व्याजका लागि महिना दिनसम्म कुर्नुपर्ने हुन्छ । तर, कर्जावालको त दिनगन्तीको हिसाब ब्याज लिन्छ । यो त सरासर ठगी होइन र ? डिपोजिटकर्ता र कर्जावाल दुवै बैंकबाट ठगिएका थिए । बैंकको रणनीति र योजना बुझेपछि मानिसहरुले पैसा लगेर जम्मा गर्न छोडे । बरु व्याजपनि चाहिँदैन भनेर उनीहरुले घरमै पैसा राख्ने थालेका छन् ।
वित्तीय संस्थाकै कारणले कतिपयको घरखेत उडेको छ । मिटर ब्याजमा ऋण प्रवाह गर्ने करोडपतिलाई रोडपति बनाउने यिनीहरु सेवा दिन होइनन् सर्वसाधारण ठग्न खोलेको संस्था हुन् । महङ्गो ब्याज तिर्न नसक्दा कतिले आत्महत्या गरे । कति रातारात कुन दुलोभित्र छिरे यसको लेखाजोखा कुनचाहिँ निकायसँग छ ? धितो राखेर पैसा लिदाँँ पनि उनीहरुकै दबदबामा बस्नुपर्ने स्थिति छ । त्यसैगरी, वित्तीय संस्थाका सञ्चालकहरुले सरकार पनि डुबाएका छन् । सरकारले निश्चित क्षेत्रमा यति कर्जा प्रवाह गर्ने भनेतापनि उनीहरुले अटेर गरेका छन् ।
पछिल्लो समय मुलुकमा जतिपनि जग्गा प्लटिङ भएको छ ती सब यिनै दलालहरुको काम हो । सीधासाधी किसानसँग सस्तोमा किनेको जग्गामा डोजर लगाउने, खण्डीकरण गर्ने र बेच्ने । वित्तीय संस्थाहरु सबै दलालले चलाएका छन् । जनताको पैसा यी दलालहरुले दुरुपयोग गरेका छन् । जग्गा किन्ने र बेच्ने यही नै वित्तीय संस्था खोल्नुको उद्देश्य हो । बचतकर्तालाई थोरै ब्याज दिने, जग्गा बेचेर आएको फाइदाजति सबै आफू खाने । वित्तीय संस्थाहरुले ऐन–कानुन मिचेर घरजग्गामा मात्र लगानी गरिरहेका छन् । सरकारले कुन कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेपनि फितलो अनुगमनका कारण यिनीहरुले अटेर गरिरहेको पाइन्छ ।
यता, जनतालाई पनि आफ्नो पैसा के मा लगानी गरिएको छ ? आफ्नो पैसाको दुरुपयोग भएका त छैन ? यसको अत्तोपत्तो छैन । बैंकका दलालहरुलाई सोध्यो भने जे मा लगानी गरेपनि तपाईले ब्याज पाए भएन भनेर थर्काइहाल्छन् । दलालहरुका कारण खेतीयोग्य जमिन सिद्धियो । आर्थिक मन्दी र तरलता बढ्नुमा यिनीहरुको दोष छ । महङ्गीले सीमा नाघ्नुमा यिनीहरुकै हात रहेको छ । जग्गा प्लटिङ गर्न छोडेर उद्योगमा लगानी गरिदिएको भए आज यस्तो अवस्था आउँदैनथ्यो । बेरोजगारीको पनि अन्त्य हुन्थ्यो । आफ्नै मुलुकमा उब्जिएको खानेकुराले नेपालीको जीवन निर्वाह भइरहेको हुन्थ्यो ।
तर, वित्तीय संस्थाहरुले कसरी छिटो धनी बन्ने ? कसरी बढी नाफा कमाउन सकिन्छ ? यस विषयमा मात्र केन्द्रित बने । उनीहरुलाई मुलुक र जनताको विषयमा मतलब नै भएन । सरकारले दुई लाख रेट निर्धारण गरेको जग्गामा वित्तीय संस्थाले ३० लाखसम्म लगानी गरेको छ । सय रुपैंयाको कित्ता सेयरमा पाँच सय रुपैंया लगानी गरिरहेका छन् बैंक । १० लाखका लागि गाडीमा सात लाख कर्जा प्रवाह गर्ने पनि यिनीहरु नै हुन् । बैंक, सहकारीमा भएको पैसा आफ्नो नभई जनताको हो भन्ने यिनीहरुले सोचेनन् । जोखिमपूर्ण देख्दादेख्दै पनि लगानी गर्न यिनीहरु तत्पर रहे । कर्जा मिलाइ दिएबापत अटो शोरुमले बैंक फाइनान्सका सञ्चालकहरुलाई घुस खान दिन्छन् । त्यसैले १० लाखको गाडीमा सात लाख बैंक फाइनान्सले लगानी गर्दछन् ।
गाडी वर्षैपिच्छे पुरानो हुँदै जान्छ । किनेको एक महिनामा त्यस गाडीको मूल्य आधामा झर्छ । १० लाखको गाडी तीन लाखमा बेच्छु भनेपनि बिक्री हुँदैन । अहिले शेयर, घरजग्गा र गाडीको मूल्य घटेर गुन्द्रुकको भाउमा झरेको छ । घरजग्गा, शेयर र गाडी बेच्नेको संख्या यत्तिकै छ तर किन्ने भेटिँदैनन् । बजारमा आर्थिक मन्दी छाइसकेको छ । बैंक, फाइनेन्सले जतिपनि यस्ता वस्तुमा लगानी गरेको छ त्यो नउठ्ने बित्तिकै यहाँ तहल्का मच्चिहाल्छ । रातारात भागाभाग हुने अवस्था आउँदैछ । अहिले बचतकर्ताहरुले ब्याज चाहिँदैन, साँवा मात्र दिनुभन्दा पनि पाइरहेका छन् ।
पैसा राख्ने मान्छेहरु सामसुम भइसकेका छन् । भएको बचत जसरी हुन्छ निकाल्न सबैजना दौडधुप गरिरहेका छन् । कर्जा तिर्नेहरु मात्र व्याज तिर्न आइरहेको भेटिन्छन् । सर्वसाधारणले पाँच सय र हजारको नोट घरमै लुकाए भनेर अर्थमन्त्री जनार्दन शर्माले पटकपटक भने । तर, त्यो लुकाएको पैसालाई बजारमा कसरी ल्याउने ? भनेर अर्थमन्त्रीले निष्कर्ष निकाल्न सकेनन् । न त्यो पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउन सक्यो । न दुईहजारको नयाँ नोट निकाल्न अर्थमन्त्री सफल भए ।
अहिले बुढादेखि भुरा सबैले नेपालको हालत श्रीलङ्काजस्तै हुन्छ भनेर अनुमान लगाइसकेका छन् । अर्थविद्हरुले समेत अर्थतन्त्रमा पहेलो बत्ती बलिसकेको र बेलैमा सचेत हुन भनिसकेको छन् । विपक्षी पार्टी एमालेका अध्यक्ष तहसनहस भइसकेको बताएका छन् । घुमाउरो भाषामा नेपाल पनि श्रीलङ्काकै स्थानमा आउन आटिसकेको केपी ओलीको भनाइ छ । त्यसैगरी, सत्तारुढ दलहरुले भने नेपाल कुनैपनि हालतमा श्रीलङ्काजस्तो हुँदैन भनेर दाबी गर्दै आएका छन् । नेताहरुकै हानाथापले पानी उम्लेझै देशको सङ्कट उम्लिरहेको छ । नेपालको स्थिति नाजुक भइसकेको अरु मुलुकले पनि पत्तो पाइसकेका छन् ।
अब विदेशीले नेपाललाई ऋण दिँदैनन् । बैंक, फाइनान्समा लगेर कसैले पनि पैसा राख्दैन । कर तिर्ने ठ्याक्कै बन्द हुन्छ । आर्थिक मन्दी र तरलता झनै बढ्दै जाने सम्भावना देखिएको छ । अर्थविद्हरुले पटकपटक डुब्दो अर्थतन्त्रको जोगाउन भनिरहँदा पनि सरकारले सुनुवाइ गरेको छैन । सरकारी गाडी नदिने, आयातमा कटौती, पेन्सन र भत्तामा रोक, सरकारी कर्मचारीको तलब आधाजस्ता सुझाव अर्थविद्हरुले दिएका छन् । तर, सरकारले यो पनि लागू गर्न सकेको छैन ।
अहिले एउटा नेपालीको टाउको ६१ हजार रुपैयाँ विदेशी ऋण छ । मिटर घुमेजसरी यो ऋण बढ्दै जान्छ । ६१ बाट लाख पुग्न धेरै बेर लाग्दैन । ऋण लिएर सरकारी कर्मचारीलाई तलब–भत्ता खुवाउनुबाहेक अरु केही काम भएको छैन । मासिक खर्बौको खाद्यान्न आयात भइरहेको छ । सरकारले यसमा पनि कटौती लगाउनुपर्छ । खेतीयोग्य जमिनमा अब खेती गर्न शुरु गर्नुपर्छ । घर ठड्याउन कामको अन्त्य गरौं । यसमा सम्बन्धित सबै निकायको छिटोभन्दा छिटो ध्यान जाओस् । बढ्दो तरलताका कारण दलालीहरु भागिसकेका छन् ।
(अनुषा पत्रकारिता विषय लिएर अध्ययनरत् छिन् ।)

प्रकाशित मिति: चैत्र ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend