धरानः गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज) देखि देशभर एकैसाथ सुरु भएको छ । वैशाख २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित रहेको राष्ट्रिय परीक्षा बोर्डले जाकारी दिएको छ । जसमध्ये दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा रहेका छन् ।
प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुर रायमाझीका अनुसार यस वर्ष जापानबाट १९ जना परीक्षार्थी परीक्षामा सम्मिलित हुने छन् । जापानमा इमेलबाट प्रश्नपत्र पठाइएको छ ।
अनिवार्य विषयका प्रश्नपत्र हरेक प्रदेशको फरक–फरक छन् । देशभरि ११ हजार ६१५ विद्यालयका विद्यार्थीले एसईई दिँदैछन् । तीमध्ये २९९ विद्यालय प्राविधिक धारका हुन् ।