धरानः नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ ।
यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षभरी गर्ने कामको विवरण पनि सार्वजनिक गरिएको हो ।
निर्वाचन परिचालन मूल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच वर्षसम्म एमालले गर्ने कामबारे जानकारी गराएका थिए । एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिल गरिसकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको बताए । विगतमा एमालेबाट विजयी जनप्रतिनिधिहरुले गरेको कामले पार्टीको शिर उठेको मात्र होइन, मतदाताहरुको सम्मान पनि भएको उनको भनाई छ ।
एमाले नेतृत्वको स्थानीय सरकारले ८० प्रतिशत भन्दा बढी काम गरिसकेको तर उपनिर्वाचनमा एमालेको नेतृत्व गुमेको कारण अढाइ वर्ष धरानले गति लिन नसकेको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।
‘अहिले हामीले प्रतिबद्धता जाहेर गरिरहँदा खेरी यहाँका नियमित हुने कामहरु त छँदैछन् ती बाहेक धरानलाई साँच्चै समृद्ध बनाउनका निमित्त ठूला मेघा प्रोजेक्टहरु सञ्चालन गर्नुपर्छ ।’ उनले भने, ‘जसले सदियौंसम्म धरानको आर्थिक समृद्धिको र आर्थिक आधार निर्माण गर्न सक्दछन् भन्ने एउटा निष्कर्षका साथ हामीले सामान्य भाषामा भन्दा ‘गेम चेन्जिङ प्रोजेक्ट’ हुन सक्छन् भनेर केही प्रोजेक्टहरु अगाडि सारेका छौ । यी कुरालाई केन्द्र भागमा राखेर निर्वाचनमा होमिएका छौं ।’
एमालले प्रदेश नम्बर १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको छ । त्यसका लागि पूर्वाधार विकासका योजना अघि सार्ने बताएको छ ।
निर्माणाधीन बसपार्कलाई पनि एमालेले पहिलो प्राथमिकतामा राखेको छ । सप्तरङ्गीपार्कलाई प्रदेश नं १ कै गन्तव्य हुन सक्ने गरी डिजाइनमा विकास गर्ने योजना रहेको छ । यस्तैगरी शिवजट्टाको सौन्दर्यकरण त्यसको विकास र विस्तार, विष्णुपादुका, कोकाखोलामा ड्याम र त्यहाँ बोटिङलगायतको प्रोजेक्ट छ, त्यसलाई सम्पन्न गर्ने एमालेले योजना ल्याएको छ ।
शुरु गरिएको औद्योगिकग्रामलाई पूरा गर्ने, व्यवस्थित आधुनिक सहरको नमूनाको रुपमा बनाउनुपर्ने आधारभूत कुराको व्यवस्थापन गर्ने एमालेले जनाएको छ ।
यस्तै ४ नम्बर वडामा मनमोहन पार्क शुरु गरेको र त्यसलाई पूरा गरी ग्रामिण पर्यटनलाई सुदृढ गर्ने उल्लेख गरेको छ । तारेभीरमा रक क्लाइमिङको डिपीआर तयार गरिसकेको र निकट समयमै रक क्लाइमिङ सञ्चालन गर्ने योजना ल्याएको छ । यस्तै, एमालेले धरानमा केवलकार सञ्चालनको पनि योजना ल्याएको छ । निर्माणाधीन आदिवासीी जनजाति संग्राहलयलाई पूरा गर्ने, ठूला प्रोजेक्टहरुलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको छ । ‘नगरपालिकाको आफनो लगानीले मात्र सम्भव छैन । हामी सामूहिक निजी साझेदारीको माध्यमबाट यी कामहरु पूरा भइसकेपछि धरानको दीर्घकालिन आर्थिक आधार बन्छ । यसमा फोकस भएर हामी जान्छौं ।’ सुवेदीले भने ।
ड्रिम प्रोजेक्टहरुलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधारहरुलगायतको काम गरेर जाने योजना रहेको उनले बताए ।
बैशाख २४ गते धरानको भानुचोकमा चुनावी सभा
यही बैशाख २४ गते भानुचौकमा दिउँसो १२ बजेबाट धरानको भानुचोकमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी सभा हुने भएको छ । प्रदेश १ लाई नै सन्देश दिने गरी चुनावलाई फोकस गरी पार्टी अध्यक्ष ओलीको उपस्थिति हुने एमालेले जनाएको छ ।
प्रस्तावित ठूला परियोजना जसले धरानको मुहार फेर्न सक्छन्
–धरान खेलग्राम
–निर्माणाधीन स्मार्ट बसपार्क
–सप्तरंगी पार्क
–शिवजट्टाको सौन्दर्यकरण र पर्यटकीय पूर्वाधार विकास
–किरातकालीन विजयपुर दरबार पुनर्निर्माण
–औद्योगिक ग्राम धरान–६
–स्लटर हाउस
–विष्णुपादुका मन्दिर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास
–कोकाहा ड्याम धरान–२०
–मनमोहन पार्क हर्दिया धरान–४
–तारेभिर रक क्लाइङविङ धरान–२०
–केवलकार
–आदिवासी जनजाती बहुजातीय संग्रहालय