आजभोलि पूर्वबाट प्रकाशित हुने, अपलोड हुने पत्रपत्रिका तथा अनलाइन न्युज पोर्टलमा हालसम्म नाम नजुरेको १ नम्बर प्रदेशको नाम के राख्ने ? भनेर छलफल र बहस भइरहेको भनी समाचार आइरहेका छन् । जुन धेरै राम्रो कुरो हो । समाचारमा जनाइएअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र (माके), नेकपा (एस), जन समाजवादी पार्टी (जसपा) आदि राजनीतिक दलले १ नम्बर प्रदेशको नाम जुराउन सघन ढंगले आफ्नो दलमा छलफल र बहस चलाएका छन्, चलाइरहेका छन् । १ नम्बर प्रदेशको नाम राख्ने सम्बन्धमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र (माके), नेकपा (एस) आदि राजनैतिक दलका नेताहरु किरात भन्नाले केवल जाति मात्रे नजनाएर ‘प्राचीन इतिहास, सभ्यता, धर्म, भूगोल, महाजाति, भाषा’ आदि पनि जनाउँछ भन्ने नबुझेर ‘किरात’ नाम राख्न हिचकिचाइरहेका छन् । ती राजनैतिक दलका नेता तथा कार्यकर्ताले ‘लिम्बुवान’ वा ‘खम्बुवान’ राख्नका लागि त झनै मान्नेवाला छैनन् । हुन त हामीलाई थाहा भएके कुरो हो कि, नेपालमा प्रदेश गठन हुँदा नै बिना नामका ७ प्रदेश गठन भएका थिए ।
जे होस्, सुरुमा आफ्नो प्रदेशको नाम राख्ने पहिलो प्रदेश ‘गण्डकी प्रदेश’ हो । त्यस्तै आप्mनो प्रदेशको नाम राख्ने दोस्रो प्रदेश ‘बागमती प्रदेश’ हो । त्यसपछि क्रमैसँग अरु प्रदेशले पनि आ–आफ्नो प्रदेशको नाम राखे । यसैक्रममा ‘सेकेन्ड लास्ट’ मा प्रदेश नम्बर दुईले आफ्नो प्रदेशको नाम ‘मधेस प्रदेश’ राखेको छ । अब अन्तिममा प्रदेश १ ले आफ्नो प्रदेशको नाम राख्नुपर्ने समय आएको छ । अबको केही महिनाभित्र आफ्नो प्रलेशको नाम जुराउन सकेन भने, प्रदेश १ मात्रै त्यस्तो प्रदेश हुनेछ, जसले आफ्नो नामसमेत जुराउन नसकी एक कार्यकाल समाप्त गर्नेछ । सम्भवतः यो एक कीर्तिमान नै हुनेछ । प्रदेश १ ले आफ्नो प्रदेशको नाम समेत नराखीकन नै आफ्नो पाँचवर्षे कार्यकाल सकेको ‘कालो इतिहास’ स्थापित नहोस् भन्ने कामना गरौं ।
१ नम्बर प्रदेशको नाम के राख्ने भन्ने सम्बन्धमा केहीले ‘अरुण, बरुण, अरुण, कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, कन्काई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ मकालु, आदि नाम राख्नुपर्ने भनी वकालत गर्ने गरेको पनि देखिन्छ । त्यस्तै अर्को पक्षले ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ नाम राख्नुपर्ने भनी आवाज उठाइरहेका छन् । तर, प्रदेश १ को नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउनेको स्वर साह्रै मसिनो र सानो सुनिने गरेको देखिन्छ । यसो हुनुमा नेपालका मूलधार, ठूला, धेरै पाठक, स्रोता भएका भनिने मिडियाले साथ नदिनु नै प्रमुख कारण हो ।
हुन पनि यसो झट्ट सुन्दा प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ ठ्याक्कै जाति नाम त्यो पनि अति जातिवादी नाम जस्तो लाग्ने ! र, अनुदारवादी आर्य खस समूहका कर्मचारीतन्त्र, माननीय, प्राज्ञ, बुद्घिजीवी, पत्रकार, लेखक, विद, विज्ञ आदिले कुनै हालतमा पनि स्वीकार नगर्ने हुनाले कम्तिमा ‘किरात’ नाम राख्न सकिने देखिन्छ । साथै किरात नाम राख्नु पनि पर्छ । किनभने, माथि नै एक प्रसंगमा भनिएझैं ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भाषा हो । त्यस्तै, किरात शब्द प्राचीन धर्म ग्रन्थहरुमै पनि प्रशस्तै उल्लेख गरिएको पाइन्छ । त्यसैले हामीले प्रदेश नम्बर १ को नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर, नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, भाषा, सभ्यता, प्राचीन धर्मग्रन्थ आदिलाई पनि स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भइसकेका छन् । अर्थात् हाल आपूmलाई किराती भन्ने जातिहरु नै लगभग तीन दर्जन रहेका छन् । जस्तै आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, जेरो, जिरेल, हायु, लिम्बू, याक्खा, सुनुवार आदि जुन जाति छन्, उनीहरुलाई किरात भनेर चिनिन्छ, अथवा उनीहरुले आपूmलाई किराती भनी चिनाउँछन् ।
हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरुले विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापकरुपमा पैmलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरात, किरातीहरु हजारौं वर्षअघि ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा आवाद गरेका थिए । त्यस्तै कस्मिरपूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकी रामायण र महाभारत (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौ उल्लेख रहेको पाइन्छ ।
त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात, किराती किरात सभ्यताका बारेमा प्रशस्तै चर्चा परिचर्चा गरिएको पाइन्छ । त्यसैले एक नम्बर प्रदेशका किराती मूलका माननीयहरु मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरुका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्यासी, दलितका साथै मधेसी आदि (यो पंक्तिकारलाई थाहा भएसम्म १ नम्बर प्रदेशमा ठकुरी, शाह, राणा जात समूहका माननीय ज्युहरु हुनुहुन्न ।) जातजातिका माननीय ज्युहरुले पनि ‘किरात’ लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाई मात्रै होइन प्रदेश नम्बर एकको सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरुले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरुलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेटिूकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए ।
भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू(भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हँुदै र आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भूक्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौं समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आपूmलाई किरात भन्नेहरुको बसोबास रहेको छ । यसरी सानो भूभागमा मात्रै आपूmलाई प्रस्टरुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् । तर, उनीहरु पनि नेपालको भगौलिक एकीकरण भएसँगै आफ्ना पितापूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आपूm असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आप्mनो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ । भनी लेखाउन, भनाउन वा लेख्न, भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङ लगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ, देखिन्छ ।
आशा गरौं, सन्निकट आउन लागेको प्रदेश नम्बर १ को हिउँदे अधिवेशनमा सबै राजनैतिक दलका माननीयले ‘किरात प्रदेश’ नाम एकमतले पारित गर्नुहोस् । यसैमा हामी सबैको कल्याण छ ।