Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लुतोजस्तै हराउन थाल्यो साउने संक्रान्तिको महत्व

हाम्रो कोशी आवाज
साउन १ २०७९, आइतबार
लुतोजस्तै हराउन थाल्यो साउने संक्रान्तिको महत्व

साउन महिनाको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल, परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।
साउन महिनामा भगवान शिवको पूजा गरेर पनि महिलाहरूले मनाउने गर्छन् । महिलाहरुले हरियो चुरा, रातो, पहेंलो वस्त्र, मेहन्दी लगाउँछन र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।
चर्मरोगमध्ये छिटो सर्ने लुतोबाट छुटकारा पाउन साउने सङ्क्रान्तिको साँझ अगुल्टो आकाशमा फालेर नाङ्लो ठटाउने गरिन्थ्यो । साउने सङ्क्रान्तिको सांस्कृतिक पक्षको अनेक आयाम त होलान् तर अगुल्टो फालेर लुतो भाग्ने कुरा भने अन्धविश्वास बाहेक के नै हुन्छ र ।
त्यसो त कतैकतै ‘नाङ्लो ठटाएरै त लुतो भाग्दैन’ भन्ने गरिन्छ । जुम्लामा यो दिन उत्सवका रूपमा अगुल्टो आकाशमा पाल्ने गरिन्छ । राजधानी उपत्यका पनि लुतो फाल्ने प्रचलनबाट मुक्त छैन । काठमाडौँ उपत्यकामा विशेष गरी स्युचाटार, पुरानो नैकाप, गोठाटार, नाङ्लेभारे, मूलपानी, गागलफेदी, गोदावरी, थसीखेल, थानकोट, मच्छेगाउँँ, अनन्त लिङ्गेश्वर, चोभारलगायत क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ अगुल्टो फाल्दै लुतो लैजा भनेर नाङ्लो ठटाएर होहल्ला गर्ने चलन अझै छ । स्युचाटारमा आस्थाका साथ यो पर्व मनाइँदै आएको स्थानीय दशरथ लामिछाने बताउँछन् ।
वैद्यराज सुवर्ण वैद्य भन्छन्, ‘धसिङ्घरे, भलायो, कुकुर डाइनोलाई बालेर धूपधुँवार गर्दै यसको ठूटो आकाशमा फ्याँक्दा लुतोलगायत चर्मरोगका जीवाणु नास हुन्छन्, आयुर्वेदमा यी वनस्पतिको यस्तै महत्व उल्लेख छ, यसै लुतो लैजा भनेर नाङ्लो ठटाइएको होइन ।’
ज्योतिषी डा. लोकराज पौडेलका विचारमा वर्षाको समयमा हिलोमा काम गर्नुपर्ने भएकाले चर्मरोग लाग्न सक्छ भनेरै कुकुर डाइनो, भलायो र धसिङ्घरे लगायत वनस्पतिलाई धुवाँधार गरिएको हो, यो चलन त्यति अन्धविश्वासपूर्ण भने होइन ।
आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्टका डा. पदमराज भारती चर्मरोग लाग्दा भरिसक्य नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा गएर चिकित्सकलाई देखाउनु राम्रो हुने सुझाव दिन्छन् । सारै चिलाउने, पानीका फोका आउने र कन्याउँदा पोल्दै छालामा सर्दै जाने लुतो पशुबाट मानिसमा र मानिसबाट पशुमा पनि सहजै सर्ने जीवाणुयुक्त रोग भएको चिकिसत्क बताउँछन् ।
साउने संक्रान्तिको महत्व
साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद प्राध्यापक श्रीकृष्ण अधिकारीले भने, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’ पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।
‘यो महिना व्रत बसी शिवको पूजा गर्नाले आफ्नो, श्रीमानको, सन्तानको र परिवारका सबैको कल्याण हुने धार्मिक विश्वास छ’ अधिकारीले भने । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो’ संस्कृतिविद अधिकारीले भने ।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । ‘मेहन्दी लगाउने चलन चाहिँ छिमेकी देश भारतबाट भित्रिएको हो’ अधिकारीले भने ।
लुतो फाल्ने चलन हराउँदै
साउने संक्रान्तिको साँझमा घरघरबाट नाङ्लो ठटाउँदै र होहल्ला गर्दै लुतो फाल्ने चलन पछिल्ला वर्षहरुमा भने विस्तारै हराउन थालेको छ । कृषि प्रधान देश नेपालमा असारभरी खेतमा काम गरेको हिलो पखालेर घाउ, खटिरा, दाद, लुतो भगाउने प्रचलन अनुसार साउने संक्रान्तिमा लुतो फाल्दै भोज खाने चलन बसेको हो । औषधीय वनस्पति भलायो, कुरिलो, कुकुरडाइनो, पानीसरो तथा निबुवा, कागती, अम्बाको साथमा राँको र अगुल्टो फालेर लुतो भगाउने चलन छ ।
पहिले पहिले खेतमा काम गरेपछि धेरैलाई साँच्चिकै लुतो आउँथ्यो । तर हिजोआज अलि सचेत हुने बानी बसेकाले लुतो र घाउखटिराको संक्रमण घट्दै गएको छ ।
आँगनको छेउमा उभिएर लुतो लैजा है फलाने भनेर कराउँदै अगुल्टो र राँको हुत्याउँदा छुट्टै रमाइलो र रौनक छाउँछ । कतिले त मन नपरेको छिमेकीको नाम नै भनेर लुतो लैजा है फलाने पनि भन्ने गर्छन् । जे होस् लुतो फाल्ने चलन पनि मनोरञ्जनको एउटा पाटो थियो, विकृति पन्छाउँदै लुतो फाल्ने संस्कृतिलाई पनि संरक्षण गर्नु आवश्यक छ ।

प्रकाशित मिति: साउन १ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend