धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० को नतिजा आज प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको छ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।
