बजारमा कालोबजारी, ठगीले गर्दा उपभोक्ताको ढाड सेक्दै गएको छ । चाडबाड नजिकिएसँगै व्यापारी सल्बलाएका छन् । साँच्चै भन्ने हो भने यतिबेला सबैभन्दा धेरै अन्यायमा परेको वर्ग उपभोक्ता नै हो । वस्तुदेखि सेवासम्मको ठगी र कालोबजारले आम उपभोक्ताको ढाड नराम्ररी सेकेको छ तर जनाको आधारभूत अधिकारीको ग्यारेन्टी गर्नुपर्ने सरकार थाहा नपाएझैं गरिरहन्छ । यो दुःखद् हो । दैनिक उपभोग्य वस्तुदेखि अत्यावश्यक स्वास्थ्य सेवा क्षेत्रमा समेत चरम ठगीको शिकार बनिरहेका नेपाली उपभोक्ताको घाउमा मल्हम लगाउने काम सरोकारवाला निकायबाट हुन सकेको छैन । दशैं, तिहार, छैठजस्ता चाडबाडमा लत्ताकपडादेखि उपभोग्य सामग्रीको भाउ अचाक्ली बढ्ने गर्दछ । कतिपय व्यवसायीले लत्ताकपडामा एक हजार पर्ने सामानलाई २ हजारसम्म लिने गरेको यथार्थ विगतबाटै जगजाहेर छ । यसतर्फ उपभोक्ता साथै सरकार सचेत बन्नु आजको आवश्यकता हो ।
बजार अनुगमनको जिम्मा पाएको सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । बजार अनुगमन भएपनि मौसमी र देखावटी अनुगमनमै सीमित छ । नेपालमा पनि नयाँ संविधानमा उपभोक्ता अधिकार मौलिक अधिकारको रुपमा स्थापित गर्ने सम्झौता भइसकेको छ । नेपालमा वस्तु र सेवा खरिदकर्ता तथा प्रयोगकर्ता उपभोक्ताहरुले आफू सुरक्षित रहेको महसुस गर्नसक्ने अवस्थाको बजार छैन । उपभोक्ताको अनुहार हेरेर मूल्य निर्धारण गर्ने व्यापारिक मनोवृत्तिका कारण पनि नेपाली उपभोक्ताहरु मारमा परेका छन् । गुणस्तरहीन वस्तु र सेवाको व्यापारको जगजगी छ भने असहज आपूर्ति व्यवस्थाले उपभोक्ता ठगिएका छन् । वस्तु र सेवाको व्यापारमा सोको मूल्य, गुणस्तर र आपूर्ति व्यवस्थापनलाई नियन्त्रणमा लिने काम सरकारको भएतापनि त्यसको सुचारु व्यवस्थापन हुन नसक्दा बजार उदण्ड र अनियन्त्रित हुँदैछ ।
दैनिकरुपमा प्रयोग हुने दाल, चामल, तेल, घिउ, तरकारी, दूध, औषधि, फलफूल, मासु पानी सबैको मूल्य छोइनसक्नु छ । लत्ताकपडाको मूल्य पनि त्यस्तै बढ्दो छ । दशैंमा मिठो खाऔं, राम्रो लाऔं भन्ने चाहना सबैको हुन्छ । यसकै बलमा व्यापारीको मनखुशी हुने गरेको छ । अब अनुगमन समिति प्रभावकारी ढङ्गबाट परिचालित हुनुपर्दछ । कृतिम अभाव सिर्जना गरी छिटो कमाउने, सस्तो सामानलाई महङ्गोमा बेच्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ । खाली कमाउने हावीका कारण सरकारको कमजोरीलाई फाइदा उठाउने, स्वेच्छाचारी नियन्त्रण गर्नु सरकारको दायित्व हो । यस कुराका नियन्त्रणका लागि सरकारी हस्तक्षेप आजको आवश्यकता हो ।