धरानः दशैंको रौनक शुरु भइसकेको छ । अहिले नेपाली चाडबाडको याम हो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ अनि विस्तारै तिहार आउँदैछ । तिहारसँगै नेपाल सम्वत् फेरिन्छ, नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रूपमा मनाइन्छ । अनि छठ आउँछ । हामी चाडवाड, पर्व र उत्सवहरूमा रमाउने गर्दछौं । वास्तवमा प्रत्येक चाडवाडलाई मुख फेर्ने अवसरका रुपमा पनि हेर्न गरिन्छ ।
वास्तवमा यसअघि सम्भवतः चाडबाडको सन्देश पनि यही थियो कि– मुख फेरौं, लुगा फाटो फेरौं, मनका फेर्नुपर्ने पत्रहरू पनि फेर्ने प्रयास गरौं । हुन पनि हो, चाडवाडले सम्बन्धलाई प्रगाढ बढाउँदै लैजान्छ, भत्के–चर्केका सम्बन्धहरूलाई पनि टाल्न सघाउँछ र नयाँपन दिन्छ । कोरोना कहरले चाडबाड खल्लो नै भयो । तर यसपटक दशैंले त गाउँ–शहरलाई जोड्ने पुलको काम गरेको छ । धेरैजसो जन्मथलो अर्थात् गाउँ पुगिसकेका छन् ।
दशैंलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीका रुपमा समेत मनाइने गरेको छ । धर्मसँगै दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रुपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वकदेखि मनाइँदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ । नयाँ कपडा फेर्ने, मिठा खानेकुरा खाने मात्र होइन आफन्तसँगको भलाकुसारी र भेटघाट दशैंको सवैभन्दा आकर्षक पाटो हो । यसले आत्मियता बढाउन मद्दत गरेको छ । तर पनि दशैंमा केही विकृति पनि भित्रिँदै गएको छ । यसलाई पनि निमिटयान्न पार्दै दशैं मनाऔं । हामीलाई चाडवाडले नवीनता देऊन् । हाम्रो उल्लास र उत्साह दिगो बनोस् । दशैं मनाउनेहरूको लागि यो अवसर शुभ रहोस्, शुभकामना । साथै हाम्रा विज्ञापनदाता, पाठक तथा शुभचिन्तकहरूको पनि दशैं शुभ रहोस् ।