Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हामी ७ औं वर्षमा

शेखरनाथ जोगी
माघ २४ २०७९, मंगलबार
हामी ७ औं वर्षमा

हामी छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरयौं भनेर यो हर्ष हाम्रा आदरणीय पाठकसँग बाँड्न पाउँदा खुसी छौं । १८ वर्षसम्म साप्ताहिकरुपमा प्रकाशित पत्रिका र त्यसपछि दैनिकरुपमा प्रकाशित हाम्रो कोशी आवाज डटकम (अनलाइन पत्रिका) हाल ७ वर्षमात्रै पुगेको छ । हाम्रो कोशी आवाज डटकम सञ्चालन भएको समयका हिसाबले खासै लामो होइन । हामी खासमा अनलाइन पत्रिका दर्ताको हिसाबले हेर्दा ७ वर्षसम्म कुद्यौं । तर त्यसअघि पनि हामीले करिब दुई वर्ष अनलाइन पत्रिका चलाएका थियौं ।
हामीले सूचना विभागको ८३५ नम्बरमा हाम्रो कोशी आवाज डटकम दर्ता गरयौं, त्यसपछि दर्ता भएर दैनिकजसो समाचार अपडेट हुँदै गएर हेर्ने, मनन, चिन्तन गर्ने आम पाठक, दर्शकको माया, सद्भावका कारणले यस अनलाइनले थप उचाइ पनि लिन पुग्यो । त्यसपछि ‘कोशी’ को नामबाटै प्रदेश १ मा पत्रिका र अनलाइन पनि खुल्ने क्रम रोकिएन । अहिले पनि यही नाम (कोशी) लाई अगाडि पछाडि थपेर अनलाइन, पत्रिका खुल्ने क्रम जारी नै छ ।
पत्रकारिता सिक्दै सिकाउने पेशा पनि हो । काम गरिरहँदा गल्ती हुन सक्छन् । भूलचूक हुँदाका बखत माफी माग्ने नै छौँ । यसको व्यावसायिकतामा हामी कसैसँग सम्झौता गर्ने छैनौँ । हामी ‘भाइरल’ हुने नाममा सनसनीपूर्ण समाचारमा होइन, तथ्यमा रहेर पत्रकारिता गर्नेछौँ । शिक्षा, स्वास्थ्य र मनोरञ्जनलाई प्राथमिकता दिँदै समाजमा हेपिएका, दबिएकालाई प्राथमिकता दिनु हाम्रो लक्ष्य हो । समस्या छ, ‘फेक न्यूज’ बाट मान्छे छिटो हुने भाइरल बन्ने जे बिक्छ, त्यही सम्प्रेषण गर्ने नाउमा हामी जाँदैनौं । मूल्य, मान्यता र आदर्शभन्दा बाहिर गएर उत्तेजित, अपुष्ट, आाधारहीन सामग्री, कसैप्रति लान्छना लगाइने, कसैको व्यक्तिगत मान-प्रतिष्ठामा आँच पुरयाउने छैनौं, यो नै जिम्मेवार र मर्यादित पत्रकारिता हो भन्ने हामीले बुझेका छौं ।
धरान उपमहानगरपालिकामा रहेर यहाँका मुद्दा उठान गर्दैगर्दा हामीले प्रदेश १ र देशभरका महत्वपूर्ण ‘इस्यु’ बोकेका समाचारलाई पनि प्राथमिकता दिएका छौं । नकारात्मक समाचारहरू हावी हुने अनलाइन पत्रिका भनेर धेरैजसो सुन्न पाइन्छ । यस्ता कुरा हामीले पनि सुन्दै धेरैको सकारात्मक सुझाव पनि सुन्न नपाएको होइन । केही सकारात्मक पनि सुन्न, पढ्न पाइयोस् भनेर यसपटकदेखि हामीले ‘गुड न्यूज’ को पस्किने कोसिस गरेका छौं । यसले हामीलाई व्यवसायिक मात्रै बनाउने छैन, यसले सधैं, सबै सकारात्मक दिशातर्फ डोहोरिनेछ भन्ने हामीले आशा र अपेक्षा राखेका छौं ।
समग्र पत्रकारिताभित्र अनलाइन पत्रकारिताको विश्वसनीयता र व्यवसायिकता बढाउन हाम्रो कोसिस रहिरहन्छ । हामी हाम्रा पाठक, स्रोता, दर्शकलाई दिग्भ्रमित पार्ने खालका सामग्री पस्किने छैनौं । हाम्रा विज्ञापनदाता, शुभेच्छुक संस्थाहरू एकमुस्ट धन्यवादका पात्र हुनुहुन्छ । हामी सबै र सधैंका लागि उहाँहरुसँग सहकार्य गर्न चाहन्छौं । सुझाव दिने, आलोचक गर्नेहरू सबैं, सधैं हाम्रा लागि मूल्यवान हुन् भन्ने हामीले ठानेका छौं । सबैले, सधैंजसो यस्तै रचनात्मक सल्लाह, सुझाव अनि आलोचना नै हाम्रा लागि मार्गदर्शक हो, यसले नै हामीलाई लामो दुरीसम्म लैजान मद्दत गर्नेछ । हामीले गरेका गल्ती औंल्याइदिनुहुनेछ । अझै सन्तुलित, सधैं, सबैको समाचारका लागि रचनात्मक सुझाव दिनुहुन्छ, घच्घच्याइरहनुहुन्छ । तपाईंका उत्कृष्ट सुझाव, सल्लाह र निरन्तरका खबरदारी नै हाम्रो लागि प्रेरणा हुनेछन् । हामीले गरिरहेको काम फगत एउटा व्यवसायमात्र होइन, यो समाजप्रति उत्तरदायी कर्म हो, त्यसैले सधैं, सबैका लागि हामीमाझ चुनौती आएपनि हामी यताउता कतै नहेरी सदैव तपाईका पक्षमा उभिन्छौं ।
पत्रकार काम गरूञ्जेल मात्र ‘पत्रकार’ हो । जुनसुकै पेशामा यही सूत्र लागू हुन्छ । तर, नेपालमा ‘म सधैं पत्रकार भइरहन पाऊँ’ भन्ने बुझिनसक्नुको आकर्षण छ । भनौं, समग्र पत्रकारिता क्षेत्र नै राजनीति हस्तक्षेपको शिकार बन्दै गइरहेको छ । पत्रकारहरू जहिल्यै राजनीतिक दाउपेचबाट पृथक भए मात्रै पत्रकारिता स्वतन्त्र हुनसक्छ । विभिन्न गुट–उपगुटको दास भएर ‘स्वतन्त्र प्रेस’ भन्नु प्रेस स्वतन्त्रताकै अपमान हो । राजनीतिमा चुर्लुम्म डुबेका पत्रकारहरूले गर्ने पत्रकारिता कहाँ पुग्ला सोचनीय विषय नै यही हो । पत्रकारिता गर्दा अधिकांशले लेखाइ, बोलाइ वा अन्य व्यवहारमा छचल्किने र प्रतिविम्बित हुने किसिमको पत्रकारिता गर्ने गरेको देखिन्छ । म यो दलको तँ यो दलको भन्ने शब्द झुन्डिँदै गएको छ । दलीय गुट उपगुट र शक्ति प्रयोग बढ्दो छ । लोकतान्त्रिक मुलुकमा हरेक व्यक्तिको आफ्नै तर्क, विचार हुन्छन्, त्यो स्वतः राख्न पाउँछ । तर पनि रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरू दलका प्रचारक हुनु लोकतन्त्रकै उपहास हो भन्दा फरक नपर्ला । पत्रकारहरू कहीँ न कहीँ, कतै न कतैबाट पार्टीसँग जोडिएका, अन्य पेशा, व्यवसायमा पनि संलग्नता देखिएका र पत्रकारितामा कहिलेकाही झुल्किनेहरु पनि पत्रकार भन्दै हिँड्नु उचित होला ? हामी यही प्रश्न सधैं छौं । हामी भन्छौं–पत्रकारहरू नै दलको जिम्मेवार लिँदै हिँडेपछि दलीयकरणको खबरदारी र पहरेदारी कसले गर्छ ? सोचनीय छ । अनि पनि भन्छौं- हामी नेताका फेर समात्दैनौं । सधैं, सबैको लागि उभिनेछौं ।
अन्त्यमा, फेरि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
सम्पादक/प्रकाशकः शेखरनाथ जोगी

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend