Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आठौँ स्थानमा नेपाल

हाम्रो कोशी आवाज
असार २० २०८०, बुधबार
विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आठौँ स्थानमा नेपाल

यसपालिको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालका लागि नयाँ अनुभव हासिल गर्नमा सीमित रह्यो । नेपालले यही प्रतियोगितामा पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्न पायो ।
एकै प्रतियोगितामा तीन टेस्ट टोलीविरुद्ध खेल्ने अवसर पाएको नेपालले नतिजा भने पुरानै दोहोर्याएको हो । अर्थात् यसपल्ट पनि नेपालले आठौँ स्थान प्राप्त गर्‍यो । सन् २०१८ मा भएको विश्वकप छनोटमा पनि नेपाल आठौँमा सीमित भएको थियो ।
उपलब्धि ५ वर्षअघिकै दोहोर्याए पनि नेपालको प्रदर्शनमा भने केही सुधार देखियो । प्रतियोगिताको पहिलो खेलमै घरेलु टोली जिम्बाब्वेविरुद्ध २ सय ९० रन बनाउँदै नेपालले विपक्षी टोलीलाई झस्कायो ।
सोही खेलमा ओपनिङ ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो कुनै पनि विकेटका लागि नेपाली ब्याटरले बनाएको अहिलेसम्मै ठूलो साझेदारी हो ।
उत्कृष्ट ब्याटिङका बाबजुद जिम्बाब्वेविरुद्ध नेपाल ८ विकेटले पराजित भयो । पराजय बेहोरे पनि नेपालको ब्याटिङको भने प्रशंसा भयो । दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध ६ विकेटको जित निकाल्यो । उक्त खेलमा करण केसीले ९ ओभरमा ३३ रन दिएर ४ विकेट लिएका थिए । गुलशन झाले ३ विकेट लिएको अमेरिकाविरुद्धको खेलमा भीम सार्कीले अविजित ७७ रन बनाउँदा नेपाल विजयी भयो ।
अमेरिकाविरुद्धको जितपछि नेपालको भेट दुईपटकको ओडिआई विश्वकप विजेता वेस्ट इण्डिजसँग भयो । विश्व विजेता टोलीसँग पहिलोपटक खेलेको नेपालले निडर प्रदर्शन गर्‍यो ।
सो खेलमा वेस्ट इण्डिजको मध्यक्रमका ब्याटरलाई आउट गर्न नसक्दा नेपालले ३४१ रनको लक्ष्य पाएको थियो । जवाफमा नेपालले ४९.४ ओभरमा २३८ रनमा अलआउट भयो । खेल १०१ रनले हारे पनि नेपालको प्रदर्शनको धेरैले तारिफ गरे ।
लयमा देखिएको नेदरल्याण्ड्सविरुद्धको निर्णायक खेलमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । सो खेलमा ब्याटिङ र बलिङ दुवैमा चुक्दा नेपाल सुपर सिक्समा पुग्न सकेन । नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमै अलआउट भएको थियो ।
विश्वकप खेल्ने सपना अधुरै रहेपछि नेपालले सातौं स्थानका लागि प्लेअफ खेल्नुपर्ने भयो । प्लेअफ सेमिफाइनलमा यूएईलाई ३ विकेटले हराउँदै नेपालले आयरल्याण्डसँगको भेट पक्का गर्यो ।
मंगलबार सातौं स्थानका लागि भएको टेस्ट टोली आयरल्याण्डसँगको प्रतिस्पर्धामा नेपाल ३ विकेटले पराजित हुन पुग्यो । हरारे स्पोर्ट्स क्बलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २ सय ६८ रन बनायो । नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याउन आयरल्याण्डले ८ विकेट गुमाउनुपर्‍यो ।
खेलमा हार बेहोरे पनि इंग्ल्याण्ड र पाकिस्तानलगायत विश्व च्याम्पियनलाई हराइसकेको आयरल्याण्डविरुद्ध नेपालले प्रशंसायोग्य प्रदर्शन गर्‍यो । विश्वकप छनोटको यस प्रदर्शनले युवा खेलाडीले भरिपूर्ण नेपाली टोली सही दिशामा अगाडि बढिरहेको संकेत देखाएको छ ।
एक–डेढ वर्षयता नेपालले क्रिकेटमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । टोलीको अहिलेको उपलब्धिमा मुख्य प्रशिक्षक मोन्टी देसाईको पनि महत्वपूर्ण भूमिका देखिन्छ ।
उनको आगमनपछि प्रदर्शनमा त सुधार आएकै छ, टोलीको एकता पनि थप मजबुत बनेको छ । नेपालले यही २८ असारदेखि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । समूह चरणमा नेपालले भारत, पाकिस्तान ‘ए’ र यूएईको सामना गर्नेछ ।

प्रकाशित मिति: असार २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend