Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आम्दानी नभएकालाई आएन दशैंको रौनक

रुषा थापा
कार्तिक ६ २०८०, सोमबार
आम्दानी नभएकालाई आएन दशैंको रौनक

बुढोपाकाले भन्थे, ‘सुख लुकाएर लुक्छ तर दुख लुकाएर लुक्दैँन ।’ यसपालिको दशैंमा सरकारी कर्मचारी, राजनीतिक दलका नेता, व्यापारी तथा ठेकेदारहरुले खसीबोका, च्याङ्ग्रा राँगा ल्याएर काटे । तर, आम्दानी नभएका आम सर्वसाधारण जनताले आधा किलोदेखि एक किलो मासुमा दशैं टारेको देखिन्छ । त्यो पनि खसीको किन्न नसकेर कुखुराको किनिरहेको देखिन्छ ।
दशैंमा धेरै खसीबोका, च्याङ्ग्रा र राँगा बिक्रीवितरण नभएको कुरा पनि यथावत नै छ । सँगै जोडिएको घरमा बस्ने सरकारी कर्मचारी, राजनीतिक दलका नेताहरुले ठूल्ठूल्ला खसीबोका र च्याङ्ग्रा ल्याएर काटेको हुन्छ त सँगै बस्ने आर्थिक अवस्था कमजोर भएको व्यक्तिले प्लास्टिकमा एक पाउ कुखुराको मासु ल्याइरहेको भेटिन्छ ।
अझै कुखुराको मासु समेत किन्न नसक्ने मानिसहरु आफ्रनै कोठाभित्र चुकुल थुनेर बसेका छन् । उनीहरुले दशैं दशा बराबर भएको छ । वर्ष दिनमा आएको चाडमा पनि उनीहरु रमाउन पाएका छैनन् । अहिले पैसा हुनेहरु नयाँ कपडा किन्न, खसीबोका काट्न, सवारीसाधन पूजा गर्न वा फोटो खिचेर फेसबुकमा अपलोड गर्न व्यस्त छन् ।
पैसा नहुने गरिबहरु बाटोमा कामको खोजीमा हिँडेका छन् वा बाटो छेउछाउमा भएको खाली ठाउँमा टाउकोमाहात लगाएर बसेका छन् । एउटै घरको सँगै कोठामा बसेकोमा मासु पोकेको छ त अर्को कोठामा चुलो बलेको छैन । सबै बल र फुर्ती पैसामै हुँदो रहेछ । पैसा भएकाहरु नपढेपनि नेता भएका छन् त नपढेपनि जागिर भएका छन् । ठेकेदार बनेका छन् अनि उद्योगपति भएका छन् ।
चाडबाड पनि हुने खानेको मात्र रहेछ । गरिब जनतालाई त के दशैं के तिहार । आफुसँग जायजेथा नभएपछि ऋण पनि कसले पत्याउने ? कतिपय मानिसहरु छोराछोरीले हेला गरेपछि यस्तो अवस्थामा पुगेका छन् त कतिपय अभिभावकले छोडेर गएपछि यस्तो भएका छन् । त्यस्तै, कोही नभएको एक्लो व्यक्ति पनि यस्तो अवस्थामा पुगेको पाइन्छ ।
मासु पसल, दहीदूध पसल तथा मिठाई पसलमा धनीलाई सजिलै सामान दिइन्छ । पैसा नतिरी ऊ हिँडेमा पनि साहुले के बोल्न सक्दैँन । गरिबहरु भने पसलमा सामान किन्न जाँदा पहिल्यै पैसा मागिन्छ । यता, धनीलाई त्यति नै पैसामा राम्रो मासु दिइन्छ त गरिबलाई नराम्रो मासु दिनुका साथै तौल समेत कम हुन्छ ।
अहिले बजारमा खसीको मासु १५ सय पुगेको छ । कुखुराको ५ सय र च्याङ्ग्राको २८ सय छ । त्यस्तै, राँगा, बगुरहरुको मासु पनि त्यतिकै महंगो छ । अनि गरिब जनताले यत्रो पैसा तिरेर कसरी मासु खानु ? २०७९ पुससम्म चार सय रुपैयाँ प्रतिकिलो थियो जिरा । तर, अहिले १५ सय पुगेको छ ।
एक बोरा चामलमा ५ सयदखि १२ सयसम्म बढेको छ । गेडागुडी, पिठो, तेललगायत अत्यावश्यक खाद्यान्नमा सय रुपैयाँदेखि तीन सयसम्म बढेको पाइन्छ । गरिब पनि नेपाली जनता नै हो । उसले पनि नेपाली नागरिकता पाएको छ । ऊ पनि त नेपालकै भूमिमा जन्मिएको हो ।
उसले पनि सरकारलाई कर तिरेको छ, राजनीतिक दललाई भोट हालेको छ । देश विकासमा योगदान पुप्याएको छ । संविधानअनुसार उसको पनि बाँच्ने अधिकार छ । चाडबाड मनाउनु पाउनुपर्ने अधिकार छ । तर, गरिबलाई जोकोहीले ठग्छ । घरधनीहरुले सानो, चिसो र अध्याँरो कोठाको मासिक १० हजार लिन्छन् ।
फोहोर, बत्ती र पानीको शुल्क दोब्बर तिराउँछन् । किराना पसलहरु पनि गरिब र अशिक्षित व्यक्तिलाई ठग्छन् । १० रुपैयाँको सामानलाई २० रुपैयाँ तिराउँछन् त गुणस्तरहीन, म्याद सकिएको सामान भिडाउँछन् । त्यस्तै, यातायात व्यवसायी तथा ट्याक्सी व्यवसायीहरुले पनि गरिबलाई नै लुट्छन् ।
सय रुपैयाँ भाडा भएकोमा पाँच सय असुल्छन् । अस्पतालमा डाक्टर, नर्सहरुले पनि गरिब देख्नेबित्तिकै हेला गर्छन् । सुरुमा त गरिबलाई उपचारको लागि टाइम नै दिइदैँन । दिएपनि राम्रो बोलीवचन गरिदैँन । बाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरु पनि धनीलाई सभ्य व्यवहार गर्छन् त गरिबमाथि दुव्र्यवहार गर्छन् ।
गरिबको नाम बेचेर कति समाजसेवी बनेका छन् त कति अभियन्ता बनेका छन् । उनीहरुले गरेको भ्रष्टाचार र राज्यलाई छलेको कर लुकाउँदै आएका छन् । अर्कोतर्फ सरकारी, गुठीका जग्गा दर्ता गरेर अकुंत सम्पत्ति आयआर्जन गरेका छन् । गरिबको नाम बेचेर राजनीतिक दलका नेताहरुले देशमा राजनीतिक परिवर्तन गरे ।
आफु सत्तामा पुगे । तर, गरिबको हितमा केही काम गरेनन् । हाम्रो देशका कलाकार तथा निर्माताहरुले पनि गरिबकै नाम बेचेर कमाएका छन् । गरिबको फिल्म बनाएर उनीहरुले पैसा त कमाए तर गरिबको लागि केही गरिदिएनन् । एनजीओहरु त झन् कि त गरिबलाई धर्म परिर्वतन गर्न बाध्य बनाउने कि त गरिबलाई सहयोग गरेको फोटो खिचेर विदेशबाट डलर ल्याएर खाने । अहिले पनि राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरु गरिबलाई एक माना रक्सी र एक चोक्टा मासु खान दिएमा आफुहरुलाई भोट पनि दिने र विरोध पनि नगर्ने भन्छन् ।
धनी र गरिबबीचको खाडल बढ्दै गएको पाइन्छ । गरिबलाई अरुभन्दा बढी काम लगाए पनि कम तलब दिइन्छ त धनीलाई कामै नगरेपनि महिनामहिनामा तलब उपलब्ध हुन्छ । यता, महिला र पुरुषबीच पनि भेदभाव गरिन्छ । दुवैले एउटै काम गरेपनि तलब भने फरकफरक हुन्छ । कतिपय संघसंस्थामा त गरिबलाई दिनरात काममा खटाएर पनि दशैं पेस्की दिइएन ।
बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म काममा लगाइन्छ । शनिबार वा चाडबाडका बेलामा पनि काम लगाइन्छ । घरायसी काम गर्नेहरुलाई त घरधनीहरुले आफुले लगाएको भित्रि कपडा समेत धुन लगाउँछन् । ज्यालादारी गर्दा पनि पुरुषलाई दिनको ७ सय दिइन्छ अनि महिलालाई पाँच सय । फेरि काम भने पुरुषभन्दा बढी महिलाले गरेको हुन्छ ।
दशैंको मुखमा समेत कतिपय संघसंस्था वा साहुहरुले मजदुरलाई तलब दिएन । दशैं पेस्कीको त कुरै छोडौं । उनीहरुसँग काम गर्ने मान्छेलाई तलब दिने पैसा भएन । तर, आफ्नो घरमा खसीबोका किन्ने, छोराछोरीलाई नयाँ र महंगा कपडा किनिदिने, मिठामिठा खानेकुरा खाने र विदेशी रक्सी खाने पैसा भने भयो ।
अहिले कतिपय मानिसहरु चर्चामा आउनका निम्ति आश्रममा गएर त्यहाँका बुढाबुढी वा बालबच्चालाई सहयोगी गरेको देखाउँछन् । तर, आफ्नो घरमा माग्न आउने मान्छेलाई भने एक छाक मिठो खुवाएर पठाउँदैनन् । यतिसम्म कि माग्न मान्छे आउँदा समेत उनीहरु दुव्र्यवहार गर्छन् । गालीगलौज गर्छन् ।
करोडको गाडी, लाखौंको गरगहना र महंगा महंगा कपडा ल्याएर मानिसहरु मठमन्दिर दर्शन गर्न जान्छन् । अनि मन्दिरमा माग्न बसेको मान्छेलाई एक सुको दिदैँनन् । अर्बोको घर अनि लाखौं कुकुर त्यो कुकुरलाई खुवाउने हजारौंको खान तर माग्ने मान्छे आउँदा कोठाभित्र लुक्ने चलन छ हाम्रो समाजमा ।
दशैंमा धेरै मानिसको घरमा भान्छामा पकाउने चामल समेत भएन । मासुको कुरै छोडौं । छरछिमेकमा कुनै बच्चा खान नपाएर रोइरहेको छ त कुनै बच्चा मासुभात खान नसकेर फ्रयालिरहेको छ ।
बुढोपाकाले भन्थे, ‘बुबा मरे बच्चा सुरो हुन्छ, आमा मरे टुहुरो हुन्छ ।’ कतिपयले भन्थे, ‘राडीको दिन जान्छ, टुहुराको दिन आउँछ ।’ यहाँ हेर्ने हो भने अधिंकाश राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरु विगतमा गरिब नै थिए । तर, ठाउँमा पुगेपछि उनीहरुले आफ्नो पृष्ठभूमि बिर्सिएका छन् । अहिले उनीहरुलाई आफ्नो विगतका कुरा गर्न समेत लाज लाग्छ ।
पहिलपहिला अभिभावकले आफ्ना बालबच्चालाई आफु नखाएर भएपनि अरुलाई खान दिन सिकाउँथे । झुठो नबोल्न र अरुलाई ठगेर नखान सम्झाउँन्थे । दशैंमा टीका लगाउँदा पनि अभिभावकहरुले तेरो छोराछोरीले डाँडाकाँडा ढाकोस् भनेर आर्शीवाद दिन्थे । आफ्नो छोराछोरीलाई भविष्यमा प्रगति गर्न र कसैलाई ठगेर नखान तथा आफुसँग जे छ, त्यसैमा रमाउन भन्थे ।
तर, अहिले त दशैंमा टीका लगाउँदा एउटाभन्दा बढी सन्तान नजन्माउनु र त्यो पनि नेपालमा नराखी अमेरिका, अस्ट्रेलिया पठाउनु भनेर आर्शीवाद दिइन्छ । धनी, शोषक, सामान्तीहरुले बच्चा जन्मिबित्तिकै लाखौंको मोबाइल हातमा राखिदिन्छन् । व्यवहारिक कुरा सिकाउँदैनन् । ठूलोलाई सम्मान र सानोलाई माया गर्नुपर्छ भनेर सिकाउँदैनन् ।
एकातिर काम पनि लगाउँदैनन् । १२ पास गर्नेबित्तिकै आमाबुबाको लगानीमा अमेरिका, अस्ट्रेलिया पठाइन्छ । अनि यहाँ काम गर्न सके त्यत्तै रमाउँछन्, काम गर्न नसके आत्महत्या गर्छन् । अहिले धनी र गरिबबीचको बाटो छुट्टि सकेको छ । यसले गर्दा धनी र गरिबबीच आन्दोलन हुने र त्यसले ठूलो स्वरुप लिने देखिन्छ ।
अब सरकारले कि त गरिबको जीवनस्तर उकास्न आवश्यक काम गर्नुपर्छ होइन भनेर धनी र गरिबबीच हुने आन्दोलनको लागि तयार भएर बस्नुपर्छ । मानिसले सबै सहन सक्छ तर भोक सहन सकिदैँन । भोकले मानिसलाई चोर्नदेखि मार्नसम्म सिकाउँछ । दशैंको समयमा समेत घरघरमा मानिसहरु यत्तिकै माग्न आएको पाइन्छ । बाटोमा पनि माग्ने मानिसहरु यत्तिकै छन् । यसले मुलुकको अर्थतन्त्र पनि जटिल बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति: कार्तिक ६ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend