–तिर्थ कार्की
केटाकेटी हुँदाको दशैं पो दशैं त
बुबाले कमेरोले घर छ्यापेर चिटिक्क पार्नु हुन्थ्यो
र पो दशैं आए जस्तो हुन्थ्यो,
आमाले रातो माटोले कमेरो मुनि घर पोतेर चिटिक्क पार्नु हुन्थ्यो
र पो दशैं आए जस्तो हुन्थ्यो,
पल्ला घरे अन्तरे काका, डाँडाघरे माइला दाइहरु मिलेर गाउँमा लिङ्गे पिङ हाल्थे
र पो दशैं आए जस्तो हुन्थ्यो,
दाजुभाइ–दिदीबहिनी मिलेर दशैंभरीलाई पुग्ने घाँस काटेर थुपारिन्थ्यो
र पो दशैं आए जस्तो हुन्थ्यो,
परदेश गएकाहरु लर्को लाएर गाउँ फर्किन्थे र पो दशैं आए जस्तो हुन्थ्यो,
घर वरिपरि कोदोबारी र नजिकै खेतमा धानका बाला लहलह हुन्थे
र पो दशैं आए जस्तो हुन्थ्यो,
गाउँघरको बाटोघाटो सबै मिलेर मर्मत र सरसफाइ गरिन्थ्यो
र पो दशैं आए जस्तो हुन्थ्यो,
हजुरआमाले घटस्थापनाका दिनदेखि घर–आँगन वरिपरि सफा गर्न थाल्नु हुन्थ्यो
र पो दशैं आए जस्तो हुन्थ्यो,
नयाँ लुगा लगाएर गाउँका सबै केटाकेटी पुतलीझै रङ्गीचङ्गी देखिन्थे
र पो दशैं आए जस्तो हुन्थ्यो,
अहिलेको दशैं खोइ कस्तो दशैं…।
विजयादशमीको सम्पूर्णमा हार्दिक शुभकामना