Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कृषिबाटै धनकुटा यसरी धनी, धनी बनाउने १० कृषि उत्पादन

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०८०, शुक्रबार
कृषिबाटै धनकुटा यसरी धनी, धनी बनाउने १० कृषि उत्पादन

जीवनप्रसाद राई
सरकारले विगतदेखि नै महत्व दिएका जिल्लामध्ये एक हो, धनकुटा। राणाकालमा पूर्वी नेपालको प्रमुख प्रशासकीय एकाइका रूपमा रहेको यो मनोरम पहाडी जिल्ला पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो। कृषि सम्बन्धी कार्यक्रम र परियोजनामा पनि धनकुटा प्राथमिकतामा पर्दै आएको छ। राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र (पारिपात्ले), पाख्रीबास कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजना (हिले), रेशम खेती कार्यक्रम, रिड आयोजना, प्राकृतिक स्रोत व्यवस्थापन कलेज (पाख्रीबास), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सिंधुवा) यहीं सञ्चालित छन्।
सरकारी प्राथमिकतामा परेर विगतदेखि धेरै लगानी खन्याइए पनि कृषिको व्यावसायिक विकास र कृषिजन्य उद्योग स्थापनाका हिसाबले धनकुटा पछाडि देखिन्छ। यस्तो हुनुको कारण र कृषिको प्रवर्द्धनका लागि गर्नुपर्ने ब्रान्डिङबारे यो लेख केन्द्रित छ।
उत्पादनको ब्रान्डिङ
आजको विश्वमा कृषिमा आधारित उद्योगहरूको विस्तार गर्दै कृषि वस्तुको ब्रान्डिङबाट धेरै मुलुकले आर्थिक फड्को मारेका छन्। नेपालमा केही समययता कृषि उत्पादनको ब्रान्डिङ गर्न थालिए पनि यसको आकार निकै सानो छ।
ब्रान्डिङले उपभोक्तालाई विश्वास र भरोसा दिने भएकाले बजारीकरण र व्यवसाय प्रवर्द्धनका लागि यसको ठूलो अर्थ हुन्छ। धनकुटाकै कुरा गर्दा यहाँको नरिवल बिस्कुट निकै लोकप्रिय छ। धनकुटाको कोसेलीका रूपमा देश–विदेश पुग्ने यस्तो बिस्कुट उद्योग यहाँ धेरै वटा सञ्चालनमा छन्। यस्तै, विष्णुमाया कन्दङवाले उत्पादन गरिरहेको बेलको जूसले पनि ब्रान्ड बनाएको छ। नारायणी र गुराँसे चिया उद्योगहरूले त उत्पादन देश बाहिर निर्यात गरिरहेका छन्।
यद्यपि कृषिमा विविधता बोकेको धनकुटाले ब्रान्डिङमा अपेक्षित काम गर्न सकेको छैन। अनेकौं कृषि वस्तु उत्पादन भए पनि तिनले पहिचान बनाउन नसक्दा वेलावेला बजार र मूल्य नपाउने समस्या चर्कने गरेको छ। धनकुटाले कृषिबाट लाभ लिने हो भने निम्न कृषि वस्तुको ब्रान्डिङमा ध्यान दिनुपर्छः
१) एभोकाडोः विभिन्न फलफूलमध्ये पछिल्लो समय एभोकाडोको व्यावसायिक खेतीमा किसानको अधिक आकर्षणका आधारमा २०७५ सालमा धनकुटा नगरलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरियो। तर, चर्चा गरिए जति यसको व्यावसायिक प्रवर्द्धन नै हुन सकेको छैन। ग्रेडिङ, प्याकिङ र स्टिकर टाँसेर बजारमा लैजाने तथा यो फलबाट विविध परिकार बनाउने गरी उद्योग स्थापना गर्ने काम भएको छैन।
यस्तो काम निजी लगानीबाट वा कृषकहरू आफैं संलग्न रहने सहकारीले गर्न सक्छन्। निजी तवरबाट ब्रान्डिङ गर्न धेरै लगानी चाहिन्छ। एभोकाडो खरीद गरेर ग्रेडिङ गरी स्टिकर टाँसेर बजार पठाउन श्रमिक, प्रविधिमा अधिक खर्च लाग्छ। यसैले पब्लिक कम्पनी बनाएर पनि काम गर्न सकिन्छ।
२) सुन्तलाः धनकुटा सुन्तलाका लागि कहलिएको जिल्ला भए पनि त्यस अनुसार राम्रो बजारीकरण हुन सकेको छैन। यहाँ विशेष गरी साँगुरीगढी, स्याउले र खोकुमा सुन्तला उत्पादन बढी हुन्छन्। विगत लामो समयदेखि हचुवाकै भरमा बिक्री हुँदै आएको यहाँको सुन्तलालाई ग्रेडिङ र प्याकिङ गरी स्टिकर राखेर बजारमा पठाउन सके राम्रो मूल्य पाउन सकिन्छ।
३) रायोको सागः धनकुटाको रायोको साग निकै मीठो मानिन्छ। यसलाई आकर्षक रूपमा ब्रान्डिङ गरी नजिकका शहरका कृषि मार्ट वा सुपर मार्केटहरूमा लैजान सकिन्छ।
४) काँक्रोः नरम, आकर्षक र सलाद खान स्वादिलो हुने भएकाले धनकुटाको हरियो काँक्राका पारखी धेरै छन्। यसको बीउ र ताजा उत्पादनको ब्रान्ड निर्माण गर्न सक्ने माग धेरै बढाउन सकिन्छ।
५) अदुवाः धनकुटाको एउटा प्रमुख उत्पादन अदुवा पनि हो। यसलाई प्रशोधन गरेर स्लाइस बनाई सुकाएर वा धूलो बनाएर बजारमा लैजान सकिन्छ।
६) कालो बंगुरः जनजिब्रोमा धराने कालो बंगुरको नाममा ब्रान्ड स्थापित देखिन्छ। पाख्रीबासे कालो बंगुरलाई आफ्नो सम्पत्ति बनाउन चुक्दा धनकुटाले लाभ गुमाइरहेको छ। कालो बंगुरबाट फाइदा लिने हो भने जिल्लामै आधुनिक प्रशोधन केन्द्र स्थापना गरेर गुणस्तरीय मासु र विभिन्न परिकार बेच्न सकिन्छ।
७) बन्दाः ३४ वर्षअघि सिप्रेड नामक गैरसरकारी संस्थाले नेपालमै पहिलो पटक बेमौसमी तरकारी खेतीमा आधारित परियोजना चलाएपछि धनकुटामा शुरू भएको बन्दाकोपीको व्यावसायिक उत्पादन अहिले पनि निरन्तर छ। तर, बन्दाको ब्रान्डिङमा कहिल्यै पहल नगरिंदा यसको बजारको अभाव वेलावेला सामना गर्नुपरेको छ। धनकुटाको बन्दालाई निश्चित ब्रान्डमा बजारमा लैजाने व्यवस्था गरे मूल्य धेरै हदसम्म स्थिर पार्न सकिन्छ।
८) गोलभेंडाः धनकुटाको गोलभेंडाले कम मूल्य पाउँदा बिलौना गर्ने र बढी मूल्य आउँदा रमाएर बस्ने मात्र काम हुँदा यसको ब्रान्डिङ अलपत्र छ। आकर्षक प्याकिङ र ब्रान्डिङमा यहाँको गोलभेंडा बजारमा ल्याए धेरै फाइदा लिन सकिनेछ।
९) केराः पाख्रीबास नगरपालिका कसेनीमा असामे जातको केरा निकै प्रख्यात छ। यसलाई ब्रान्डका रूपमा स्थापित गर्न सके धनकुटाको आर्थिक विकासमा टेवा पु¥याउन सक्छ।
१०) दुग्ध परिकारः छिमेकी जिल्ला इलामले दूग्ध परिकारमा धेरै काम गरे पनि धनकुटा भने इलामका ती उत्पादन कोसेलीको रूपमा बेचेर बसिरहेको छ। धनकुटाले आफ्नै ब्रान्डमा दुग्ध परिकार बजारमा पठाउन सक्ने ठूलो अवसर छ।
ब्रान्डिङबाट फाइदा
कृषि वस्तुको ब्रान्डले सबैभन्दा पहिला ठाउँको प्रवर्द्धन गर्छ। धनकुटे बिस्कुट भने जस्तै धनकुटाको एभोकाडो, धनकुटे गोलभेंडा, धनकुटाको कालो बंगुर आदि नामले यहाँको कृषिवस्तु अन्यत्र पुग्ने हुन्छ। ब्रान्डिङ गरेपछि उत्पादनमा लागेका किसानको आम्दानी त सुनिश्चित हुने नै भयो, प्रविधि, व्यवस्थापन आदि क्षेत्रमा अन्य मानिसहरूले पनि रोजगारी पाउनेछन्।
अहिले कृषिका कच्चा वस्तु बिक्री गरेर आम्दानी गरिरहेको धनकुटाले ब्रान्ड मूल्य सिर्जना गर्न सके अहिलेभन्दा बीसौं गुणा बढी रकम भित्र्याउन सकिन्छ। ब्रान्ड निर्माणले समग्रमा धनकुटाकै प्रवर्द्धन भएर पर्यटन गतिविधि चलायमान बनाउनुका साथै थप लगानी भित्र्याउन सक्छ।
कृषि वस्तुको ब्रान्रुड निर्माणमा निजी क्षेत्रबाट पहलकदमी हुनुपर्छ। यसमा धनकुटा उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण हुने भए पनि उसले यस सम्बन्धमा केही गरिरहेको देखिंदैन। किसानको आर्थिक स्तर उकास्दै जिल्लाको कृषि र कृषि व्यवसायको प्रवर्द्धनबाट मनग्गे आम्दानी गर्ने हो भने वाणिज्य संघले पाइला चाल्नुपर्छ।
धनकुटामा सात स्थानीय तह छन् र प्रत्येक पालिकामा उद्यम विकास हेर्ने शाखा छ। पालिकाहरूले त्यही शाखा मार्फत कृषिका ब्रान्ड निर्माणमा सहयोग गर्न सक्छन्। त्यसका लागि पालिकाको नेतृत्वले ब्रान्डको महत्त्व र उद्यमशीलताबारे बुझ्नुपर्ने हुन्छ।

प्रकाशित मिति: फाल्गुन ४ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend