Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

हाम्रो कोशी आवाज
भाद्र २६ २०८३, शुक्रबार
झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

-तोमनाथ उप्रेती
पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही भावनाले मलाई झापा पुर्यायो।नेपालको सबैभन्दा उर्वर, हराभरा, बहुसांस्कृतिक र जीवन्त जिल्लामध्ये एक।
पूर्व–पश्चिम राजमार्गमा बस अघि बढ्दै गयो। झ्यालबाहिर हरियाली विस्तारै खुल्दै गइन्। धानका खेतहरू क्षितिजसम्म फैलिएका थिए। चियाका बगानहरू बिहानको शीतमा टल्किरहेका थिए। साल, सिसौ र खयरका वनहरू हावासँग संवाद गरिरहेका थिए। सिमसारमाथि बकुल्लाहरू शान्त लयमा उडिरहेका थिए। कतै मेची नदी चाँदीको धागोजस्तै चम्किन्थी, कतै कन्काई आफ्नै मौन संगीतमा बगिरहेकी थिई। मलाई लाग्यो, पृथ्वीले आफ्नै हरियो आत्मकथा पढाइरहेकी छ।
झापाको प्राकृतिक सौन्दर्य उर्वर माटो, नदी, वन, वर्षा, सूर्य र श्रमको हजारौँ वर्ष लामो सहयात्राबाट जन्मिएको जीवनको उत्सव हो। यहाँ प्रकृतिले आफ्नो सौन्दर्य प्रदर्शन गर्दिन; उसले प्रत्येक बोट, प्रत्येक खेत र प्रत्येक नदीमार्फत जीवनको निरन्तरता अभिव्यक्त गर्छ। हावाले धानका बाला सुम्सुम्याउँदा पूरै मैदान हरियो समुद्रझैँ लहराइरहेको थियो। चियाका कोपिलामाथि झुन्डिएका शीतका थोपाहरू उदाउँदो सूर्यसँगै पन्नाजस्तै चम्किरहेका थिए। त्यो दृश्य हेर्दा मलाई लाग्यो—साँचो सौन्दर्य आँखालाई चकित बनाउने दृश्यमा होइन, आत्मालाई शान्त बनाउने अनुभूतिमा लुकेको हुन्छ।
झापा इतिहास, सभ्यता र संस्कृतिको हरियो उद्यान हो। आज जहाँ अन्नका लहरहरू देखिन्छन्, त्यहाँ कुनै समय घना वनहरूको साम्राज्य थियो। सालका विशाल रूख, बाँसका झ्याङ, सिमसार र जङ्गली जीवहरूले यस भूमिलाई ढाकेका थिए। स्थानीय राजवंशी समुदायको भाषामा “झापा” शब्दको अर्थ ढकनी वा विर्को भन्ने मान्यता पाइन्छ। वनले ढाकिएको, हरियालीले छोपिएको भूमि भएकाले यस ठाउँलाई झापा भनिएको विश्वास गरिन्छ। अर्को ऐतिहासिक मान्यता अनुसार तत्कालीन मोरङ गोश्वाराको प्रशासन पछि झापा गाउँमा सारिएपछि त्यही गाउँको नाम विस्तारै सम्पूर्ण जिल्लाको परिचय बन्यो। एउटा सानो गाउँले कालान्तरमा विशाल भूगोललाई चिनाउने नाम प्राप्त गर्यो। नामहरू पनि समयका मौन यात्रु रहेछन्। तिनीहरू सभ्यताले छोडेका स्मृतिचिह्न हुन्।
झापाको सामाजिक इतिहास पनि यसको भूगोलजत्तिकै समृद्ध छ। यस भूमिका आदिम बासिन्दा राजवंशी समुदायले नदी, वन र उर्वर माटोसँग जीवन गाँसे। उनीहरूले प्रकृतिलाई केवल उपयोगको वस्तु होइन, सहअस्तित्वको साथी माने। त्यसपछि धिमाल, मेचे, लिम्बु, राई, सन्थाल, गनगाई, ताजपुरिया लगायतका आदिवासी समुदायहरूले पनि यही माटोलाई आफ्नो घर बनाए। समयसँगै ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, तामाङ, मुस्लिम, मधेसी, मारवाडी तथा अन्य अनेक समुदायहरू यहाँ बसोबास गर्न आए।
आज झापा विविध जाति, भाषा, धर्म र संस्कृतिले मिलेर रचेको नेपालको बहुलतावादी पहिचानको जीवन्त प्रतिरूप हो। यहाँ नेपाली, राजवंशी, लिम्बु, मैथिली, बंगाली र हिन्दीका स्वरहरू एउटै बजारमा घुलमिल हुन्छन्। कुनै भाषा अर्को भाषाको प्रतिस्पर्धी देखिँदैन। बरु सबै मिलेर एउटा साझा सांस्कृतिक संगीत सिर्जना गर्छन्। मलाई लाग्यो, संस्कृति भनेको भिन्नतालाई सम्मानपूर्वक स्वीकार गरेर सहअस्तित्वको नयाँ अर्थ निर्माण गर्नु हो।
झापाको सांस्कृतिक जीवन प्रकृतिको लयसँगै धड्किन्छ। असारमा खेतहरू रोपाइँका गीतले गुञ्जिन्छन्। चियाबगानका मजदुरहरूको श्रमले बिहानलाई अर्थ दिन्छ। राजवंशीहरूको लोकसंस्कृति, लिम्बुहरूको च्याब्रुङ नृत्य, उधौली–उभौलीका पर्व, दशैँ तिहारका उत्सव, छठको आराधना, ईदको नमाज र क्रिसमसको प्रार्थना एउटै आकाशमुनि सम्पन्न हुन्छन्। यहाँ धार्मिक आस्था सहिष्णुताको अभ्यास हो। मन्दिरको घण्टी, मस्जिदको अजान र चर्चको प्रार्थनाबीच कुनै द्वन्द्व देखिँदैन। बरु तिनीहरूले झापाको साझा आत्मालाई अझ समृद्ध बनाइरहेका हुन्छन्। मैले अनुभव गरेँ जुन समाजले विविधतालाई उत्सव बनाउन जान्दछ, त्यही समाज वास्तवमा सभ्य हुन्छ।
बस अझै पूर्वतर्फ बढिरहेकी थिई, तर मेरो यात्रा अब केवल भूगोलको यात्रा रहेन। यो प्रकृति, इतिहास, संस्कृति र मानवताको गहिरो संवादमा रूपान्तरित भइसकेको थियो। झापाको हरियो माटोले मलाई एउटा सरल तर गम्भीर सत्य सिकायो—उर्वरता केवल खेतमा होइन, विचारमा पनि हुनुपर्छ। जसरी यस माटोले अन्न उमार्छ, त्यसरी नै यसले सहिष्णुता, श्रम, सद्भाव र सहअस्तित्व पनि उमार्छ। कुनै जिल्लाको वास्तविक समृद्धि त्यहाँका मानिसहरूको हृदयले मापन हुन्छ। झापा छोड्ने बेलासम्म मलाई लागिसकेको थियो पूर्वको यो हरियो भूमि प्रकृति र मानव सभ्यताबीचको सन्तुलित सम्बन्धको जीवित दर्शन हो।
उत्तरतर्फ इलामका पहाडहरू कुहिरोसँग कुरा गरिरहेका थिए। दक्षिणतर्फ तराई अनन्त मैदानजस्तै फैलिएको थियो। झापा वास्तवमा भूगोलको एउटा सुन्दर संवाद रहेछ पहाड र समथर भूमि बीचको सन्तुलन।
झापाको माटोमा पाइला टेक्नेबित्तिकै एउटा फरक अनुभूति भयो। यो माटो केवल भूगोलको सतह थिएन; यो नेपालको अन्नभण्डार थियो। यही माटोमा किसानले पसिनाका थोपाहरू छर्छन्, अनि केही महिनापछि ती थोपाहरू सुनौला धानका बालामा परिणत हुन्छन्। यहाँको उर्वर धरतीले राष्ट्रको भोक मेटाउने अन्न उमार्छ, त्यसैले मलाई लाग्यो कहिलेकाहीँ कुनै देशको वास्तविक राजधानी राष्ट्रलाई जीवन दिने उर्वर खेतहरू हुन्।
खेतका आलीहरूमा हावाले धानका बाला सुम्सुम्याइरहेको थियो। हरियो लहरहरू समुद्रका छालझैँ एकपछि अर्को गर्दै फैलिरहेका थिए। प्रकृतिले यहाँ केवल अन्न उमार्दिन; उसले आशा उमार्छ, श्रमलाई सम्मान दिन्छ र जीवनलाई निरन्तरता प्रदान गर्छ। यही माटोले मलाई पूर्वीय दर्शनको एउटा गहिरो सत्य सम्झायो—बीउ आफैँलाई माटोमा विलीन नगरेसम्म नयाँ जीवन अंकुराउँदैन। त्यागबिना सिर्जना सम्भव हुँदैन।
बिहानको कोमल घामसँगै म चन्द्रगढी पुगेँ। सुनौलो प्रकाशले सडक, रूख र भवनहरूलाई बिस्तारै स्पर्श गरिरहेको थियो। यही झापाको प्रशासनिक केन्द्र। यहीँबाट जिल्लाको शासन सञ्चालन हुन्छ, तर यसको आत्मा भने अझै खेत, वन र नदीहरूमै धड्किरहेको अनुभव भयो। सरकारी कार्यालयहरू शान्त रूपमा उभिएका थिए। पुराना बजारमा बिहानैदेखि चहलपहल सुरु भइसकेको थियो। चिया पसलहरूमा किसान, व्यापारी, कर्मचारी र यात्रुहरू एउटै बेञ्चमा बसेर गफ गरिरहेका थिए। कसैको अनुहारमा हतार थिएन। समय यहाँ घडीको सुईले होइन, मानिसहरूको सहज जीवनशैलीले मापन भइरहेको जस्तो लाग्थ्यो। मलाई लाग्यो—सभ्यता तब परिपक्व हुन्छ, जब विकासले मानिसको शान्ति खोस्दैन।
चन्द्रगढीका गल्लीहरूमा हिँड्दै गर्दा झापाको नामाकरणसँग जोडिएको एउटा रोचक इतिहास स्मृतिमा आयो। कुनै समय यस सम्पूर्ण क्षेत्रको प्रशासन मोरङ गोश्वाराबाट सञ्चालन हुन्थ्यो। पछि प्रशासनिक केन्द्र हालको झापा गाउँमा सारियो। विस्तारै त्यही सानो गाउँको नाम सम्पूर्ण जिल्लाको परिचय बन्यो।
अर्को जनविश्वास अनुसार स्थानीय राजवंशी भाषामा “झापा” को अर्थ ढकनी वा विर्को हो। शताब्दीयौँसम्म घना वनले ढाकिएको यस भूभागलाई त्यसै अर्थमा झापा भनिएको विश्वास गरिन्छ। नामहरू भूगोल, इतिहास र जनजीवनले लेखेका सांस्कृतिक अभिलेख हुन्। एउटा सानो गाउँले कालान्तरमा सम्पूर्ण जिल्लाको पहिचान बन्नु पनि समयको अद्भुत रूपान्तरण हो।
यही सोचमा डुबिरहेका बेला मेरो भेट एक जना वृद्ध राजवंशीसँग भयो। उनको अनुहारमा समयका धेरै ऋतुहरू लेखिएका थिए, तर आँखामा बालकको जस्तै चमक बाँकी थियो। मुस्कुराउँदै उनले भने, “हाम्रो भाषामा झापा भनेको ढकनी हो। पहिले यताभरि घना वन थियो। वनले ढाकेको भूमि भएकाले यसको नाम झापा रह्यो।” मैले वरिपरि नजर दौडाएँ। हरिया खेत, टाढासम्म फैलिएका सालका वन, चियाका बगान, नदीको नीलिमा र माथि तैरिरहेका सेता बादल सबैले मिलेर साँच्चै यस भूमिलाई प्रेमपूर्वक ढाकेका रहेछन्। त्यो क्षण मलाई अनुभूति भयो भाषाले कहिलेकाहीँ इतिहासका यस्ता पानाहरू सुरक्षित राख्छ, जसलाई कुनै अभिलेख वा दस्तावेजले पनि जोगाउन सक्दैन।
केहीबेरमै नेपालको पुराना नगरपालिकामध्ये एक भद्रपुरले स्वागत गर्यो। पूर्वी नेपालको व्यापारिक इतिहास बोकेको जीवित स्मृति हो। राणा शासनकालदेखि नै भारतको बिहार र पश्चिम बंगालसँग व्यापारिक सम्बन्ध कायम गरेको यस नगरले समयका धेरै परिवर्तनहरू नजिकबाट देखेको छ। पुराना घरहरू, व्यस्त बजार, सीमापार आवतजावत गर्ने सवारीसाधन र नयाँ संरचनाहरूले भद्रपुरलाई इतिहास र आधुनिकताको सुन्दर संगम बनाएका छन्। यहाँ हिँड्दा लाग्थ्यो समयले पुरानोलाई मेटाएको छैन; उसले त्यसलाई नयाँ लयसँग जोडिदिएको मात्र हो।
भारतसँग जोडिएको सीमावर्ती बजारमा पुग्दा एउटा छुट्टै संसार देखियो। नेपाली, राजवंशी, मैथिली, बंगाली र हिन्दी भाषाका स्वरहरू एउटै हावामा घुलमिल भइरहेका थिए। मसलाको सुगन्ध, चियाको वासना, मानिसहरूको हाँसो र व्यापारिक चहलपहलले बजारलाई जीवन्त बनाइरहेका थिए। यहाँ भाषा, धर्म वा राष्ट्रिय सीमाले साझा जीवनलाई अझ समृद्ध बनाएका थिए। सीमा यहाँ केवल राजनीतिक र प्रशासनिक रेखा थियो, सांस्कृतिक सम्बन्धको अवरोध होइन। मलाई ऋग्वेदको भावना सम्झना आयो—“आ नो भद्राः क्रतवो यन्तु विश्वतः” अर्थात् चारैतिरबाट शुभ विचारहरू आइरहून्। साँच्चै, सभ्यताको समृद्धि बन्द ढोकाबाट होइन, खुला संवादबाट जन्मिन्छ।
भद्रपुर विमानस्थलको छेउमा केहीबेर उभिएँ। रनवेबाट एउटा जहाज बिस्तारै आकाशतर्फ उक्लियो। केही क्षणमै त्यो बादलहरूबीच हरायो। मैले आकाशतर्फ हेरेँ र फेरि तलको उर्वर धरतीतर्फ दृष्टि फर्काएँ। त्यस क्षण एउटा गहिरो अनुभूति जाग्यो। मानिसले उड्न सिकेको छ, सगरमाथाभन्दा माथि पुग्न पनि सकेको छ, तर उसको वास्तविक शक्ति अझै माटोसँगको सम्बन्धमै छ। उडानले उचाइ दिन्छ, तर माटोले पहिचान दिन्छ। जरा नभएको रूख जसरी टिक्न सक्दैन, त्यसरी नै आफ्नो भूमि, संस्कृति र इतिहाससँग सम्बन्ध टुटेको मानिस पनि पूर्ण हुन सक्दैन। यात्राले मलाई अर्को सत्य सिकायो—आकाशले सपनाहरू दिन्छ, तर ती सपनालाई अर्थ दिने शक्ति सधैँ धरतीमै लुकेको हुन्छ।
चन्द्रगढीबाट मेरो यात्रा दक्षिणतर्फ केचनाकवलतर्फ मोडियो। सडकसँगै हरिया खेतहरू विस्तारै फैलँदै गए। धानका बाला हावाको स्पर्शसँगै लहराइरहेका थिए। सिमसार क्षेत्रमा सेता बकुल्लाहरू शान्त मुद्रामा उभिएका थिए। केहीबेरमै म नेपालको सबैभन्दा होचो भूभाग केचनाकवलमा पुगेँ। समुद्री सतहदेखि केवल ५८ मिटर उचाइमा अवस्थित यो स्थान भौगोलिक दृष्टिले नेपालको सबैभन्दा तल भए पनि, यहाँ उभिँदा मनले अनुभव गरेको उचाइ भने शब्दभन्दा धेरै माथि थियो।
केचनाकवलमा राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका अवसरमा स्थापित स्मारक आज पनि समयको मौन साक्षी बनेर उभिएको छ। स्मारकभन्दा केही पर भारतको भूमि देखिन्थ्यो। बीचमा केवल सीमारेखा थियो। तर त्यो दृश्य हेर्दा प्रकृतिले कुनै सीमा स्वीकारेकी जस्तो लागेन। हावा बिना कुनै अध्यागमन जाँच दुवैतर्फ स्वतन्त्र रूपमा बगिरहेको थियो। चराहरूले कुनै राहदानी बोकेका थिएनन्। सूर्यका किरणहरूले कुनै राष्ट्रियता रोजेका थिएनन्। एउटै आकाश, एउटै प्रकाश र एउटै पृथ्वीले दुवै भूमिलाई समान ममताले अँगालिरहेका थिए। त्यही क्षण मलाई उपनिषद्को भावना सम्झना आयो—सम्पूर्ण जगत् एउटै चेतनाको अभिव्यक्ति हो। सीमाहरू प्रशासनका लागि आवश्यक हुन सक्छन्, तर प्रकृतिले कहिल्यै विभाजन सिकाएकी छैन। उनले त सहअस्तित्व, साझा अस्तित्व र एकत्वको पाठ धेरैअघि नै पढाइसकेकी छन्।
केचनाकवलका पुराना ऐतिहासिक पोखरीहरूको किनारमा पुग्दा समयले अचानक आफ्नो गति सुस्त बनाएजस्तो लाग्यो। स्थानीय जनश्रुतिअनुसार महाभारतकालमा विराटराजका सेनापतिले निर्माण गरेका यी पोखरीहरू इतिहास र मिथकबीचको अद्भुत संगम मानिन्छन्। भीमले किच्चकको वध गरेपछि यही क्षेत्रसँग जोडिएका अनेक किम्बदन्तीहरू आज पनि स्थानीय जनजीवनमा जीवित छन्। जलमा आकाशको प्रतिबिम्ब झल्किरहेको थियो। त्यो दृश्य हेर्दा लाग्यो—इतिहास र मिथक कहिल्यै एकअर्काबाट पूर्ण रूपमा अलग हुँदैनन्। इतिहासले तथ्यलाई सुरक्षित राख्छ भने मिथकले भावनालाई अमर बनाउँछ। कुनै समाजले सम्झन चाहेका सत्यहरू कहिलेकाहीँ किंवदन्तीको रूप लिएर पुस्तौँसम्म बाँचिरहन्छन्। त्यसैले यस्ता स्थानहरू केवल पुरातात्त्विक स्थल होइनन्; सामूहिक स्मृतिका जीवित संग्रहालय पनि हुन्।
केचनाकवलबाट उत्तरतर्फ फर्कँदै म अर्जुनधारा पुगेँ। धाम नजिकिँदै जाँदा निरन्तर बगिरहेको धाराको मधुर आवाजले नै स्वागत गर्यो। त्यो ध्वनि कुनै सामान्य पानीको आवाज थिएन; त्यो अनादिकालदेखि निरन्तर प्रवाहित जीवनको संगीतजस्तो लाग्थ्यो। शिव मन्दिरको घण्टी, धूपको सुगन्ध, हरिया वृक्षहरूको शीतल छाया, सातकुने पोखरीमा निश्चिन्त तैरिरहेका रङ्गीचङ्गी माछाहरू र बीचमा गाईलाई पानी खुवाइरहेका अर्जुनको मूर्तिले सम्पूर्ण वातावरणलाई आध्यात्मिक सौन्दर्यले भरिदिएको थियो। यहाँ धर्म केवल कर्मकाण्डमा सीमित थिएन। यहाँ प्रकृतिप्रतिको कृतज्ञता, जलप्रतिको सम्मान र जीवनप्रतिको श्रद्धा एकै साथ अनुभूत हुन्थ्यो। महाभारतको किंवदन्तीअनुसार तिर्खाएका गाईहरूका लागि अर्जुनले वाण प्रहार गरी जमिनबाट जलधारा प्रकट गराएका थिए भन्ने विश्वासले यो धामलाई अझ पवित्र बनाएको छ।
पोखरीको किनारमा बसेर मैले हातमा धाराको चिसो पानी समातेँ। केही क्षणमै त्यो पानी औँलाहरूको बीचबाट बगेर हरायो। त्यस क्षण एउटा गहिरो प्रश्न मनमा उठ्यो—पानी किन कहिल्यै आफ्नो लागि बग्दैन? नदीहरू किन सञ्चय गर्न जान्दैनन्? उनीहरू जन्मदेखि अन्तिम क्षणसम्म केवल दिन जान्दछन्। खेतलाई पानी दिन्छन्। वनलाई जीवन दिन्छन्। मानिसलाई सभ्यता दिन्छन्। अन्ततः आफूलाई समुद्रमा विलीन गरिदिन्छन्। सायद यही निस्वार्थ दान नै उनीहरूको अमरताको रहस्य हो। पूर्वीय दर्शनले पनि त्यही भन्छ—आफ्नो अस्तित्वलाई अरूको हितमा समर्पित गर्न सक्नु नै सर्वोच्च धर्म हो। करुणा पनि पानीजस्तै हो; रोकियो भने सड्छ, बग्यो भने जीवन बन्छ।
धाम परिसरभित्र रहेको वेदविद्यापीठतर्फ जाँदा साना विद्यार्थीहरूको सामूहिक वेदपाठले सम्पूर्ण वातावरणलाई स्पन्दित बनाइरहेको थियो। संस्कृतका मन्त्रहरू हावासँग मिसिँदै वृक्षका पातहरूसम्म पुगिरहेका थिए। त्यहाँ कुनै जातीय विभाजन देखिएन। केवल ज्ञानको खोज देखियो। गुरु र शिष्यबीचको सम्बन्धमा अहंकार थिएन, विनम्रता थियो। मलाई उपनिषद्को एउटा गहिरो भाव सम्झना आयो—विद्याले मानिसलाई विभाजन गर्दैन, विमुक्ति दिन्छ। वास्तविक शिक्षा भनेको केवल जानकारी प्राप्त गर्नु होइन; आत्मालाई विस्तृत बनाउनु हो। जहाँ ज्ञान हुन्छ, त्यहाँ भेदभाव क्रमशः गल्दै जान्छ।
त्यसपछि मेरो यात्रा कन्काई नदीतर्फ मोडियो। नेपालको सबैभन्दा लामो पक्की पुल नदीमाथि विशाल आत्मविश्वासका साथ उभिएको थियो। तल कन्काई नदी शान्त लयमा निरन्तर बगिरहेकी थिई। एउटा मानिसले बनाएको संरचना थियो, अर्को प्रकृतिले करोडौँ वर्षमा निर्माण गरेको प्रवाह। दुवैको आफ्नै सौन्दर्य थियो। पुलले किनार जोड्थ्यो, नदीले सभ्यता जोड्थी। पुलले दूरी छोट्याउँथ्यो, नदीले जीवनलाई निरन्तरता दिन्थी। केहीबेर पुलको बीचमा उभिएर मैले नदीलाई हेरिरहेँ। उनले कुनै शब्द बोलेकी थिइनन्, तर सबै कुरा बुझाइरहेकी थिइन्। कहिलेकाहीँ मौन भाषा नै सबैभन्दा प्रामाणिक हुन्छ। धेरै गहिरा सत्यहरू आवाजमा होइन, शान्त प्रवाहमा लुकेका हुन्छन्।
साँझतिर म चिल्लागढ पुगेँ। कन्काई माईको किनारमा अवस्थित यो रहस्यमय पोखरी पहिलो दृष्टिमै इतिहासको मौन पानाजस्तो लाग्यो। चारैतिर माटोको घेरा उठाएर बनाइएको किल्लाजस्तो संरचना, स्थिर जल र वरिपरिको शान्त वातावरणले यस स्थानलाई अनौठो गरिमा दिएका थिए। कतै किराँतहरूको धार्मिक आस्था जोडिएको विश्वास, कतै विराटकालका स्मृतिहरू, कतै लोककथाहरूको प्रतिध्वनि—सबैले मिलेर चिल्लागढलाई इतिहास र रहस्यको साझा थलो बनाएका छन्। पोखरीको स्थिर पानीमा आकाशको प्रतिबिम्ब टल्किरहेको थियो। बाहिरबाट सबै कुरा स्थिर देखिन्थ्यो, तर त्यसको गहिराइभित्र समय निरन्तर प्रवाहित थियो। त्यही क्षण मलाई लाग्यो—ध्यान पनि यस्तै हुन्छ। बाहिरबाट मौन र स्थिर देखिए पनि भित्र चेतनाको नदी अविराम बगिरहेकी हुन्छ। सभ्यताले सबै उत्तर सुरक्षित राख्दैन; केही रहस्य भविष्यका पुस्ताहरूका लागि छोडिदिन्छ। सायद प्रश्नहरू पनि उत्तरजत्तिकै मूल्यवान् हुन्छन्, किनकि तिनैले मानव जिज्ञासालाई जीवित राख्छन्।
चिल्लागढको रहस्यमय वातावरणबाट बाहिर निस्किएपछि मेरो यात्रा सतासीधामतर्फ अघि बढ्यो। कन्काई नदीको किनार नजिक अवस्थित यो प्राचीन तीर्थस्थलमा पुग्नेबित्तिकै वातावरण बदलिएको अनुभूति भयो। शताब्दीयौँ पुराना पीपल र बरका वृक्षहरूले धामलाई आफ्नो विशाल छहारीभित्र अँगालेर राखेका थिए। मन्दिरका घण्टीहरू निरन्तर बजिरहेका थिए। आरतीका स्वरहरू हावासँग मिसिएर वरिपरिका वनसम्म पुगिरहेका थिए। धूप र अगरबत्तीको सुगन्धले सम्पूर्ण वातावरणलाई आध्यात्मिक बनाइदिएको थियो।
श्रद्धालुहरू मौन भावले शिवलिङ्गअगाडि प्रणाम गरिरहेका थिए। यहाँ धर्म कुनै प्रदर्शन वा औपचारिक कर्मकाण्ड जस्तो लागेन। यो त जीवनसँगको गहिरो संवाद थियो। यहाँ मानिसहरू भगवान् खोज्न आएका थिएनन्; आफ्नै अन्तरमन भेट्न आएका थिए। त्यही क्षण मलाई बुद्धको एउटा गहिरो भाव सम्झना आयो—मुक्ति पवित्र स्थानले होइन, पवित्र चित्तले दिन्छ। धामले मानिसलाई परिवर्तन गर्दैन; धाममा जागेको आत्मचेतनाले परिवर्तन गर्छ। तीर्थ वास्तवमा बाहिरको गन्तव्य होइन, भित्रको यात्राको सुरुआत हो।
सतासीधामबाट यात्रा मेचीनगरतर्फ मोडियो। बाटोभरि हरिया चियाका बगानहरू क्षितिजसम्म समानान्तर रेखाजस्तै फैलिएका थिए। बिहानको घामले चियाका कोमल पातहरूमा सुनौलो चमक छरेको थियो। हल्का हावाले कोपिलाहरूलाई बिस्तारै हल्लाइरहेको थियो। ती दृश्यहरू हेर्दा लाग्थ्यो, प्रकृति र मानव श्रमले मिलेर एउटा विशाल चित्रकला रचेका छन्।
चियाका बोटहरू मौन उभिएका थिए, तर तिनका पातहरूले हजारौँ श्रमिकका कथाहरू सुनाइरहेका थिए। ती कोमल कोपिलाहरू टिपिरहेका महिलाहरूका हातमा श्रमको लय थियो। उनीहरूको अनुहारमा पसिनाका थोपाहरू चम्किरहेका थिए, तर आँखामा जीवनप्रतिको अटल विश्वास पनि झल्किरहेको थियो। त्यही बेला मलाई अनुभूति भयो—हामीले बिहान सहजै पिउने एउटा कप चियाभित्र केवल स्वाद मात्र हुँदैन; त्यसभित्र अनगिन्ती हातहरूको श्रम, धैर्य र आशा पनि घोलिएको हुन्छ। प्रकृतिले पात दिन्छे, तर त्यसलाई जीवनको पेय बनाउने शक्ति मानव श्रमले दिन्छ।
मेचीनगरको हरियाली छिचोल्दै म पातालगंगा पुगेँ। वनको बीचमा अवस्थित यो पवित्र स्थल असाध्यै शान्त थियो। वरिपरि रूखहरूको छहारी, चिसो हावा र जलको निर्मल धारा मिलेर एउटा ध्यानमग्न वातावरण सिर्जना गरेका थिए। स्थानीय जनश्रुतिअनुसार १९९० सालको भूकम्पपछि यस स्थानबाट दूधजस्तो सेतो फोहरा निस्किएपछि यसलाई गंगाजल प्रकट भएको पवित्र स्थल मान्न थालिएको हो।
इतिहासले त्यस घटनालाई जसरी व्याख्या गरे पनि स्थानीय जनविश्वासले यसलाई आजसम्म जीवन्त राखेको छ। त्यहाँ उभिँदा मलाई लाग्यो—सत्य केवल अभिलेख र दस्तावेजमा मात्र सीमित हुँदैन; विश्वासमा पनि सत्यको एउटा गहिरो आयाम हुन्छ। हजारौँ वर्षदेखि मानव सभ्यता केवल तथ्यले बाँचेको छैन; विश्वास, आस्था र सामूहिक स्मृतिले पनि उसलाई बाँधेर राखेका छन्। पातालगंगाको स्वच्छ पानीमा मैले आफ्नो अनुहार हेरेँ। केही क्षणपछि पानीको हल्का तरङ्गले त्यो प्रतिबिम्ब मेटाइदियो। त्यही दृश्यले एउटा मौन शिक्षा दियो—अहम् पनि पानीमाथिको प्रतिबिम्बजस्तै अस्थायी रहेछ। सानो कम्पनले पनि हराइदिन्छ। स्थायी केवल जल हो; प्रतिबिम्ब होइन। आत्मा स्थिर छ, अहंकार क्षणिक छ।
पातालगंगाबाट केही पर रहेको नन्दनेश्वर मन्दिरमा पुग्दा साँझको आरती सुरु भइसकेको थियो। शिवलिङ्गअगाडि दीपहरू शान्त रूपमा बलिरहेका थिए। घण्टीको मधुर ध्वनि हावामा घुलिएको थियो। बेलपत्र र धूपको सुगन्धले सम्पूर्ण परिसर सुगन्धित बनेको थियो। शिवलाई प्रायः विनाशका देवता भनिन्छ, तर त्यहाँ बसेर मैले त्यो विनाशको अर्थ नयाँ रूपमा बुझ्ने प्रयास गरेँ। शिवले संसारको विनाश होइन, अज्ञान, अहंकार र आसक्तिको विनाशको सन्देश दिन्छन्। नयाँ चेतनाको जन्मका लागि पुरानो अन्धकार हट्नैपर्छ। बीउ अंकुराउन माटोभित्र आफ्नो पुरानो रूप त्याग्नुपर्छ। नदी समुद्र बन्न आफ्नो नाम गुमाउन तयार हुनुपर्छ। मानिस पनि तब मात्र पूर्ण हुन्छ, जब उसले आफ्नो अहंकार विसर्जन गर्न सिक्छ। शिवको ताण्डव वास्तवमा विनाशको होइन; पुनर्जन्मको नृत्य हो।
झापा यात्राको अन्तिम दिन मैले यस जिल्लाका प्रमुख नदीहरू मेची, कन्काई, बिरिङ, रतुवा र मावासँग विदाइको भेट गरेँ। प्रत्येक नदीको आफ्नै स्रोत थियो। आफ्नै गति थियो। आफ्नै कथा थियो। कतै ती चञ्चल थिए, कतै शान्त। कतै चौडा, कतै साँघुरा। तर सबैको अन्तिम गन्तव्य एउटै थियो—समुद्र। नदीहरूलाई हेर्दा मलाई लाग्यो, मानिसहरूको जीवन पनि यस्तै रहेछ। भाषा फरक हुन सक्छ। संस्कृति फरक हुन सक्छ। धर्म, जाति, परम्परा र जीवनशैली फरक हुन सक्छ। तर अन्तिम खोज सबैको एउटै हुन्छ—शान्ति, सन्तोष र अर्थपूर्ण अस्तित्व। नदीले समुद्र खोज्छ, मानिसले आत्मिक पूर्णता खोज्छ। बाहिरी यात्रा फरक हुन सक्छ, तर भित्री गन्तव्य एउटै हुन्छ।
साँझ विस्तारै झापामाथि ओर्लिँदै थियो। सुनौलो घाम धानका खेतहरूमाथि फैलिएको थियो। हावाले बालीलाई बिस्तारै हल्लाइरहेको थियो। त्यो दृश्य हेर्दा मलाई लाग्यो, धरती आफैँ मौन प्रार्थनामा लीन छ। किसानका हात मन्त्रजस्ता पवित्र देखिन्थे। बीउ यज्ञको आहुति जस्तै लाग्थ्यो। अन्न प्रसादजस्तै पवित्र प्रतीत हुन्थ्यो। त्यही क्षण मैले अनुभूति गरेँ—झापा श्रम, प्रकृति र आध्यात्मिक चेतनाको अद्भुत संगम हो। यहाँ भूगोलले कृषि सिकाउँछ। इतिहासले धैर्य सिकाउँछ। सीमाले सहअस्तित्व सिकाउँछ। नदीहरूले निरन्तर प्रवाह सिकाउँछन्। वनले मौनताको अर्थ बुझाउँछन्। धामहरूले श्रद्धाको अनुभूति गराउँछन्। र यहाँका सरल मानिसहरूले मानवताको वास्तविक परिभाषा लेखिदिन्छन्।
फर्कने बेला बस फेरि पश्चिमतर्फ दौडिन थाल्यो। झापा विस्तारै पछाडि छुट्दै गयो। तर केही भूगोलहरू कहिल्यै पछाडि पर्दैनन्। तिनीहरू स्मृतिमा बस्छन्। चेतनामा बस्छन्। जीवन हेर्ने दृष्टिमा बस्छन्। मैले अन्तिम पटक झ्यालबाट बाहिर हेरेँ। क्षितिजमा हरियो धरती र सुनौलो आकाश एकअर्कामा विलीन भइरहेका थिए। त्यो दृश्य कुनै चित्रकारको क्यानभासजस्तो लागेन; यो त स्वयं प्रकृतिले कोरेको मौन दर्शन थियो। त्यही क्षण मैले बुझेँ—यात्राको वास्तविक अन्त्य गन्तव्यमा पुगेर हुँदैन। यात्रा तब पूर्ण हुन्छ, जब कुनै भूगोल बाहिरी नक्साबाट उठेर भित्री चेतनाको स्थायी भूभाग बन्न पुग्छ। झापा अब मेरो लागि नेपालको पूर्वी जिल्ला मात्र रहेन। यो एउटा जीवित दर्शन बनिसकेको थियो—जहाँ प्रकृतिले इतिहास लेख्छ, नदीहरूले समय पढाउँछन्, वनहरूले मौनताको अर्थ सिकाउँछन्, र उर्वर हरियो माटोले निरन्तर सम्झाइरहन्छ—जसले पृथ्वीलाई प्रेम गर्छ, अन्ततः पृथ्वीले पनि उसलाई आफ्नै बनाउँछ।
उप्रेती नेपाल सरकारका उपसचिव, कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा कार्यरत् छन्

प्रकाशित मिति: भाद्र २६ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend