धरानः इलाम आफैमा देश ! देशान्तर आफ्नो अनुपम, सौन्दर्य, सम्भावना र सौकतले स्थापित ठाउँ हो । तर यही सुन्दर इलामको एउटा दुर्गम भूगोल, जहाँ अभाव, कठिनाइ र उपेक्षाका छायाँहरू लामो समयसम्म बाक्लिइरहे, त्यहीँबाट एउटा उज्यालो यात्रा सुरु भयो– डम्बरकुमार तुम्बापोको ।
आज चुलाचुली गाउँपालिकाका केही भूभागहरू अझैपनि इलामको ‘कर्णाली’ का रूपमा परिचित छन् । लामो समयसम्म विकासको मूलधारबाट टाढा रहेको यस क्षेत्रमा जन्मिएर हुर्किएका तुम्बापोले भने परिस्थितिलाई आफ्नो भाग्यको सीमारेखा बन्न दिएनन् । अभावसँग सम्झौता नगरी, कठिनाइसँग नडराइ र अवसरको प्रतीक्षा मात्र नगरी उनले आफ्नै श्रम, लगन, अध्ययन र आत्मविश्वासको बलमा उज्यालोको बाटो रोजे ।
वि.सं. २०३९ मा चुलाचुली गाउँपालिका–१, कमलमा एक सामान्य किसान परिवारमा जन्मिएका तुम्बापो आज समाजसेवी, शिक्षासेवी, भाषा–साहित्यका अध्येता, संस्कृतिप्रेमी तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनको जीवनयात्रा केवल व्यक्तिगत सफलता र उपलब्धिको कथा होइन; यो अभावबाट सम्भावनातर्फ, अँध्यारोबाट उज्यालोतर्फ र सीमितताबाट व्यापक पहिचानतर्फ अघि बढेको प्रेरणादायी यात्रा हो ।

संघर्षबाट सफलतातर्फ
तुम्बापोको प्रारम्भिक शिक्षा जनता माध्यमिक विद्यालय, कमलबाट शुरु भयो । त्यसपछि जनता माध्यमिक विद्यालय, बाह्रगोठेबाट वि.सं. २०५६ सालको एसएलसी परीक्षामा सहभागी भई उनले इलाम जिल्लामै प्रथम स्थान हासिल गरे । जिल्ला विकास समिति, इलामबाट नगदसहित प्राप्त पुरस्कारलाई उनी आफ्नो जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्छन् ।
उच्च शिक्षाको यात्रामा पनि उनको उत्कृष्टता निरन्तर रह्यो । महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलामबाट आ.इ.ए. तथा आइ.एड. तहमा अध्ययन गर्दा उनी क्याम्पस प्रथम भई नगदसहित सम्मानित र पुरस्कृत भए । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट अंग्रेजी र राजनीतिशास्त्र विषयमा उत्कृष्ट अंकसहित स्नातक उत्तीर्ण गरे । क्याम्पसको स्वर्ण महोत्सवका अवसरमा देवीप्रसाद तथा लोकेन्द्रप्रसाद छात्रवृत्तिबाट समेत सम्मानित भएका तुम्बापोले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट अंग्रेजी साहित्यमा प्रथम श्रेणीमा एम.ए. उपाधि हासिल गरे । अध्ययनप्रतिको उनको लगाव, निरन्तर अभ्यास र ज्ञानप्रतिको समर्पणले उनलाई केवल डिग्रीधारी व्यक्ति बनाएन; एक अध्येता, शिक्षक र बौद्धिक व्यक्तित्वका रूपमा स्थापित ग¥यो ।

अभावलाई अवसरमा बदल्ने साहस
अध्ययन पूरा गरेलगत्तै तुम्बापोले त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरान तथा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत पिण्डेश्वर क्याम्पस, धरानमा अध्यापन गरे । अध्यापनसँगै उनले जीवनका अनेकौँ कठिनाइहरू नजिकबाट अनुभूत गरे ।
बाल्यकालमै अभिभावकविहीन बन्नुपरेको पीडा, पारिवारिक अभाव र सामाजिक चुनौतीहरू उनका लागि कमजोर बन्ने कारण बनेनन् । बरु ती नै कठिनाइहरू उनका लागि अगाडि बढ्ने प्रेरणा बने । निरन्तर अध्ययन, अथक परिश्रम, इमान्दारी र आत्मविश्वासका कारण उनी जीवनका अनेकौँ परीक्षामा सफल हुँदै गए । आज चालिस वर्षको यात्रामा आइपुग्दा उनी केवल एक असल छोरा, पति र सन्तानका पिता मात्र होइनन्ः धरानजस्तो उपमहानगरमा सामाजिक, शैक्षिक र सम्मानित पहिचान बनाउन सफल व्यक्तित्वका रूपमा स्थापित छन् ।
व्यक्तिगत सफलताभन्दा सामाजिक जिम्मेवारी ठूलो
तुम्बापोको जीवनलाई केवल व्यक्तिगत उपलब्धिहरूको सूचीमा सीमित गर्न मिल्दैन । उनी सामाजिक उत्तरदायित्वलाई आफ्नो जीवनको महत्वपूर्ण पक्ष मान्छन् । सामुदायिक पाठशाला फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका संस्थापक अध्यक्ष थता परिकल्पनाकार, यूएन स्कुल, धरानका अध्यक्ष तथा प्रबन्ध निर्देशक, युएन कलेज, धरानका क्याम्पस प्रमुख तथा नवोदय विद्या मन्दिरका प्रिन्सिपल साथैे विभिन्न शैक्षिक संस्थामा नेतृत्वदायी भूमिकामा रहेर उनले शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन् । उनका लागि शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन; व्यक्तित्व निर्माण र समाज रूपान्तरणको आधार हो । त्यसैले शिक्षासँगै भाषा, साहित्य, कला, संस्कृति र सामाजिक चेतनाको विकासलाई पनि उनले उत्तिकै महत्व दिएका छन् ।

भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सक्रिय
आफ्नो मातृभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा तुम्बापोको सक्रियता उल्लेखनीय छ । फक्ताङलुङ मिडिया हाउस, फाल्गुनन्द नोमाङ्गेन्ना सेवा संघ, माङ्गेना माङहिम, फाल्गुनन्द लाफायोङ बहुभाषिक पाठशाला, मुन्धुम पाठशाला लगायतका विभिन्न सामाजिक तथा सांस्कृतिक अभियानमा उनको संलग्नता रहेको छ ।
किराँत समुदायको भाषा, संस्कार, संस्कृति, इतिहास र पहिचानको संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्न उनले पु¥याएको योगदानले उनको सामाजिक प्रतिबद्धतालाई थप स्पष्ट बनाउँछ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, सानोगुरु बहिनन्द तथा मुन्धुमविद लाफायोङ गुरु देउबहादुर तुम्बापोका पूर्णकदका सालिक निर्माण तथा स्थापना जस्ता कार्यहरू पनि उनका सांस्कृतिक योगदानका उल्लेखनीय उदाहरण हुन् ।
जन्मभूमिप्रतिको जिम्मेवारी
कर्मथलो धरान भएपनि तुम्बापो आफ्नो जन्मभूमि चुलाचुलीप्रति उत्तिकै जिम्मेवार र सक्रिय छन् । आफ्नै जन्मभूमिको विकास, शिक्षा, संस्कृति र सामाजिक चेतनाका लागि उनले निरन्तर योगदान दिँदै आएका छन् । २०७४ साल मंसिर १० गते तत्कालीन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई पहिलोपटक चुलाचुलीमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी सम्मान गर्ने ऐतिहासिक अवसर सिर्जना गर्न उनको महत्वपूर्ण भूमिका रह्यो । त्यस्तै, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, शिक्षामन्त्री धनिराम पौडेल तथा प्रदेश प्रमुख परशुराम खापुङजस्ता विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न समयमा चुलाचुलीमा उपस्थित गराई सामाजिक तथा विकाससम्बन्धी कार्यहरू अघि बढाउन उनले खेलेको भूमिका पनि स्मरणीय र प्रशंसनीय छ ।
यसले चुलाचुलीको सामाजिक तथा ऐतिहासिक पहिचानलाई थप स्थापित गर्न महत्वपूर्ण योगदान पुरयाएको छ ।

समाजका लागि केही गरौं भन्ने सोच
तुम्बापोको सक्रियता धरानमा मात्र सीमित छैन । चुलाचुलीमा समेत विभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक संस्थाहरूको स्थापना र सञ्चालनमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष योगदान रहेको छ ।
–फाल्गुनन्द नोमाङ्गेन्ना सेवा संघ
–फाल्गुनन्द लाफायोङ बहुभाषिक पाठशाला
–माङ्गेना माङ्हिम
–मुन्धुम पाठशाला
यी संस्थाहरू केवल भवन वा संगठन मात्र होइनन्; भाषा, संस्कृति, शिक्षा र सामाजिक चेतनाको संरक्षण गर्ने अभियानका आधारस्तम्भ हुन् ।
यात्राले फराकिलो बनाएको दृष्टिकोण
सामाजिक, धार्मिक, शैक्षिक तथा सांगीतिक क्षेत्रमा रुचि राख्ने तुम्बापोले किराँत समुदायको उद्गमस्थल तथा आस्थाको केन्द्रका रूपमा मानिने फक्ताङलुङ हिमालको ११ दिनको पदयात्रासमेत गरिसकेका छन् । साथै सिङ्गापुर, दुबई, थाइल्यान्ड र हङकङलगायतका देशहरूको भ्रमण गरी विभिन्न समाज, संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पनि प्राप्त गरेका छन् । यी यात्राहरू उनका लागि केवल घुमफिरका माध्यम थिएनन्; अनुभव, ज्ञान र दृष्टिकोण फराकिलो बनाउने अवसर पनि बने ।
शिक्षासँगै संगीतमा पनि महत्वपूर्ण योगदान
शिक्षालाई संगीत र संगीत लाई शिक्षा सँग जोड्ने उदेश्यले ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नाराका साथ सांगीतिक क्षेत्रमा पनि केही योगदान पुगोस् भन्ने उदेश्यले तुम्बापोकै परिकल्पनामा कोशी स्तरीय एसईई आइडलको स्थापना भयो । यही कार्यक्रमबाट संगीतलाई शिक्षा जोड्ने काम मात्र नभएर धेरै संगीतकार, गायक, नृत्यकारहरुले समेत सांगीतिक प्लेटफर्म पाउनुका साथै रोजगारी पनि प्राप्त गरेका छन् । एसईई आइडलकै प्लेटफर्ममा हरेक वर्ष एसइई दिएरका विद्यार्थीहरुले आफ्नो गायन, नृत्य र वाक कलाको प्रतिभा देखाउन पाइरहेका मात्र छैनन् धेरैले उच्च शिक्षा अध्यायनका लागि निशुल्क छात्रवृत्तिसँगै नगद पुरस्कार पनि प्राप्त गरेका छन् । ‘एसइई आइडल’ सातौं संस्करणसम्म आइपुग्दा कोशी प्रदेशकै एक प्रतिष्ठित कार्यक्रमको रुपमा स्थापित भइसकेको छ । तुम्बापोको संगीतप्रतिको प्रेम र लगावकै कारणले होला धेरै गीतहरू लेखिसकेको अवस्था छ भने साहित्यको विद्यार्थी पनि भएर होला धेरै कथा, कविताहरु पनि लेखिरहेका छन् ।
सम्मान र पहिचान
अध्ययन तथा अनुसन्धानमा निरन्तर सक्रिय, समाज र सामाजिक मूल्य–मान्यताप्रति प्रतिबद्ध, कर्तव्यप्रति इमानदार तथा सम्भावनाका सच्चा सारथीका रूपमा परिचित तुम्बापोले शिक्षा क्षेत्रमा पुरयाएको महत्वपूर्ण योगदानका लागि तत्कालीन प्रदेश नं. १ का मुख्यमन्त्री श्री शेरधन राईबाट औपचारिक सम्मानसमेत प्राप्त गरेका छन् । उनका उपलब्धिहरूले एउटा महत्वपूर्ण सन्देश दिन्छन्– सफलता जन्मसिद्ध अधिकार होइन, निरन्तर संघर्ष, लगन, अनुशासन र सही उद्देश्यबाट निर्माण हुने उपलब्धि हो ।
उज्यालो यात्राको निरन्तरता
तुम्बापोको जीवनलाई एउटा वाक्यमा परिभाषित गर्नुपर्दा भन्न सकिन्छ– अभावको अँध्यारोबाट सम्भावनाको उज्यालोतर्फ निरन्तर अघि बढेको जीवनयात्रा ।
शिक्षा, साहित्य, सङ्गीत, सञ्चार, समाजसेवा र संस्कृतिको समुच्चय विकासमा आफ्नो शक्ति, समय, सोच र जिम्मेवारी समर्पित गर्दै आएका तुम्बापो बहुआयामिक व्यक्तित्व, बहुआयामिक नेतृत्व र बहुआयामिक प्रतिभाका धनी छन् । उनको यात्रा व्यक्तिगत सफलताको शिखरमा पुगेर रोकिने यात्रा होइन । बरु आफूले प्राप्त गरेको ज्ञान, अनुभव र उपलब्धिलाई समाज, समुदाय र नयाँ पुस्ताका लागि उपयोग गर्ने निरन्तर अभियान हो ।
त्यसैले तुम्बापोको ‘उज्यालो यात्रा’ केवल एउटा व्यक्तिको सफलताको कथा होइन; यो संघर्षलाई शक्तिमा, अभावलाई सम्भावनामा, सपनालाई कर्ममा र कर्मलाई उपलब्धिमा रूपान्तरण गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो । उज्यालो खोज्दै हिँडेका तुम्बापो आज आफैं एउटा उज्यालो बनेका छन्– आफ्नो जन्मभूमिका लागि, आफ्नो समाजका लागि र नयाँ पुस्ताका लागि ।
र अन्त्यमा यो पनि भनौं, डम्बरकुमार दबदबे हिलोमा फूलेको कमल फूल पनि हुन् भन्दा अत्युक्ति नहोला ।







