Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘म मुस्किलले बाँचे, आँखैअगाडि परिवार गुमाएँ’

हाम्रो कोशी आवाज
भाद्र १६ २०८३, मंगलबार
‘म मुस्किलले बाँचे, आँखैअगाडि परिवार गुमाएँ’

धरानः भदौ १० गते बिहान रसुवाको सीमावर्ती क्षेत्र टिमुरेमा आएको विनाशकारी लेदोसहितको भीषण बाढीले धेरैको जीवन समाप्त पार्‍यो । भोटेकोशी नदीमा आएको सोही भीषण बाढीका कारण मोरङको लेटाङ नगरपालिका–६ लामिटार घर भई टिमुरेमा ‘पाख्रिन होटल’ (हेटौँडे होटल) सञ्चालन गर्दै आएका भुवनसिंह तामाङ (भुवनकुमार) भने लेदोमा बगेर पनि बाँच्न सफल भए ।
बाढीले उनको होटलसँगै परिवारका चार सदस्यलाई भने बेपत्ता बनायो । बाढीमा परी भुवनका परिवारका चार सदस्य– पत्नी सोना (सोनाम) लिम्बू, बुहारी मेघा (मेनुका) लिम्बू, सासू देवीमाया तामाङ र छोरा–नाति पासाङ तामाङ अझैसम्म बेपत्ता छन् । आजसम्म पनि उनीहरूको कुनै अत्तोपत्तो छैन ।
भुवनका आफन्तका अनुसार भुवनको उद्धार भइसकेको र उनी हाल उपचारपछि काठमाडौँमा भाइको घरमा छन् । ‘उहाँ (भुवनसिंह तामाङ) त भेटिनुभएको छ, मेरा ससुरा हुनुहुन्छ । उहाँ १० गते नै सम्पर्कमा आउनुभएको हो । काठमाडौँमा हुनुहुन्छ अहिले,’ भुवनकी बुहारीले भनिन् ।
सुरुमा रेडक्रस वा सीडीओ कार्यालयको भेटिएको सूचीमा नाम नपरेपछि भ्रम सिर्जना भए पनि भुवन भने जीवितै फेला परेका हुन् । तर परिवारका अन्य चार जना भने अझै बेपत्ता रहेको ती आफन्तले पुष्टि गरिन् ।
‘सुरुमा बेपत्ता भनिए पनि उहाँ भेटिनुभयो । तर सासू, दुई जना दिदी (बुहारी/श्रीमती) र छोरा (पासाङ तामाङ, सोना लिम्बू, मेघा लिम्बू र देवीमाया तामाङ) अझै भेटिनुभएको छैन । उहाँहरू चारै जना एउटै घरका हुनुहुन्छ,’ भुवनकी बुहारीले भनिन् ।
तामाङ परिवार २०७१ सालदेखि रसुवाको सीमा क्षेत्र टिमुरेमा बस्दै आएका थिए । पछिल्लो ५–६ वर्षदेखि उनीहरूले रसुवागढी ड्राइपोर्टको पारि पाख्रिन होटल सञ्चालन गरिरहेका थिए । उक्त होटल स्थानीय स्तरमा हेटौँडे होटल भनेर पनि चिनिन्थ्यो ।
बाढी आउने समयमा होटलमा परिवारबाहेक अन्य मानिस पनि थिए । ‘होटलमा त १०–१२ जना नै हुनुहुन्थ्यो होला । सिनो/कन्स्ट्रक्सनका ड्राइभरहरू, भ्यान र टिपरका ड्राइभरहरू खाना खान र बस्न आउनुभएको थियो,’ उनले भनिन्, ‘सञ्चालन भइरहेको होटलमा एक्कासि माथिबाट लेदोसहितको बाढी आयो र सिङ्गो होटल नै बगाएर लग्यो ।’
घटना विवरण अनुसार भुवन बाढी आउनुभन्दा केही समयअघि मात्रै काम विशेषले होटलभन्दा केही तल टिमुरे बजारतिर झरेका थिए । त्यही कारण उनी प्रत्यक्ष रूपमा होटलभित्रै परेनन् । तर माथिबाट आएको बाढीको ठुलो भेलले उनलाई पनि छाडेन ।
‘ससुरा बुबाचाहिँ तल टिमुरेतिर झर्नुभएको रहेछ । त्यही भएर त्यहाँ टिमुरेको नयाँ भवन बन्दै थियो, त्यही भवन निर पुग्नुभएको बेला माथि गट्टेखोलाबाट बाढी आएको देख्नुभएछ । भाग्दाभाग्दै बुबालाई पनि बाढीले भेटेछ, धेरै चोटपटक लाग्यो । पछि होस आउने बेला अलि पाखातिर ठेलिँदै हिलो–लेदोबाट उठेर माथि पाखातिर लाग्नुभएको रहेछ । उहाँको फोन चाहिँ आफ्नै हातमा रहेछ, अनि उहाँ आफैँले फोन गरेर घटनाबारे भन्नुभएको हो,’ भुवनकी बुहारीले भनिन् ।
आफ्नो त्यो दर्दनाक क्षण र आँखैअगाडि परिवार गुमाउनुको पीडा सम्झँदै भुवन भने भावुक हुने गरेका छन् । ‘होटलमा मेरा परिवारका चार जनासहित खाना खाइरहेका अन्य १० जना जति हुनुहुन्थ्यो, बाढीले कसैलाई बाँकी राखेन । म केही तल झरेकोले बाँचेँ, लेदोमा बगेर मुस्किलले बाहिर निस्किएँ,’ भुवनलाई उद्धृत गर्दै बुहारीले भनिन् ।
भाग्यवश हातको मोबाइल भने छुट्न नपाउँदा भुवनले आफन्तलाई सम्पर्क गर्न सके । पछि सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई धुन्चे लग्यो । त्यहाँबाट टोखास्थित ग्रीनसिटी अस्पतालमा ल्याएर भर्ना गरियो ।
लेदोमा पुरिएर गम्भीर घाइते भएका भुवनको शरीरका विभिन्न भागमा चोटपटक छ । भित्री शारीरिक चोटभन्दा पनि आफ्ना परिवारका सदस्यहरू र वर्षौंको मेहनतले बनाएको घर गुमाउनुको पीडाले उनलाई बढी पोलेको छ ।
यता घटना घटेको यत्तिका दिन बितिसक्दा पनि हराइरहेकाहरूको खोजीमा राज्य तथा स्थानीय प्रशासनले खासै चासो नदेखाएको परिवारको गुनासो छ । ‘सरकारले केही पनि गरेको छैन । सुरुमा उद्धार गरेर ग्रीनसिटीमा भर्ना गराउनुभयो, अहिले त केही खबर छैन,’ भुवनकी बुहारीले भनिन् ।
पीडित परिवारले अझै पनि आशा नमारेको भन्दै सरकारी निकाय, सुरक्षाकर्मी र स्थानीयवासीलाई बेपत्ता भएका सोना लिम्बू, मेघा लिम्बू, देवीमाया तामाङ र पासाङ तामाङको खोजी कार्य निरन्तर जारी राखिदिन र क्षतिपूर्तिको व्यवस्था गरिदिन पुनः अनुरोध गरेका छन् ।

प्रकाशित मिति: भाद्र १६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend