धरानः धरानमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–१३ का सुम्निमा चोक बस्ने ३१ वर्षीय सुचम्बर राई, धरान–१४ बस्ने ३५ वर्षीय सुनिल दाहाल र धरान–१ बस्ने २४ वर्षीय कबिर सहनी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान–१६ लेखनाथ चौकमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने सुइँको पाएको प्रहरीले कोठा भाडामा बस्ने कबिरको कोठा खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १.९१ ग्राम फेला पारेको थियो । यस्तै, उनकै कोठाबाट ट्रामोल ६६० क्याप्सुल, डिकोलिक ६० टयाब्लेट, डिसाइसईकोलिक ३६० ट्याब्लेट र स्पासपेन १२४ ट्याब्लेट पनि फेला परेको थियो ।
कबिरले नै पोल खोलेपछि अन्य दुईजना पनि समातिएको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।