उपप्राध्यापक, डा. राजेन्द्र शर्मा महेन्द्र बहुमुखी क्याम्पस, धरान
अहिले बालबालिकामा कोरोनाको प्रभाव त परेकै छ, तपाईको धारणा बुझौं न ।
–हो अहिले विश्वका बालबालिका कोरोनाबाट प्रभावित छन् । प्लेगमा १३४० मा ६० प्रतिशत जनता मरेका थिए । यसअघिका घटनाले बालबालिकालगायत सबैमा लामो असर गरेको थियो । बाल मनोविज्ञानमा असर परेको थियो । बालबालिकाले डरबाट मुक्त हुने वातावरण त्यतिबेला पनि थिएन । इराकको युद्ध २० वर्ष चल्यो । मनोविज्ञानलाई सुधार्न र बालबालिकाको सुधार्न धेरै समय लाग्यो । यसरी लामो समय युद्ध चलेका ठाउँमा मनोविज्ञानको विकास कम भएको छ ।
अहिलेको बालबालिकामा महामारीबीच कक्षोन्नति पनि अलपत्र छ । अहिले विद्यार्थीले घर नै विद्यालय बनाउनुपरेको अवस्था छ । बालबालिकालाई सामान्यीकरणतर्फ डोरयाउन कठिन नै हुनेछ । हामीले विश्वमहामारी सम्बन्धित समाचार टेलिभिजनमा हेरिरहँदा नानीले पनि एकोहोरिएर सुनिरहन्छन् ।
शैक्षिक सत्रको अन्त्यतिर उत्पन्न कोरोनाको संकटले निम्त्याएको लकडाउनले कैयन् विद्यार्थीहरूको शैक्षिक उन्नति धरापमा परेको छ भने अर्कोतिर अभिभावक तथा शिक्षकहरूलाई लकडाउनका कारण बालमनोविज्ञानमा पर्न सक्ने नकारात्मक असरको सम्भाव्यताले पिरोलिरहेको छ । वास्तवमा कोरोनाको कहर आधुनिक समाजमा विद्यमान एक चुनौती हो । तर यस चुनौतीलाई हामीले अवसरको रूपमा लिनुपर्दछ ।
अहिले सरकारले भर्चुअल कक्षा पनि सञ्चालन गरिरहेको छ नि ?
–अहिले कोरोनाको भय, त्रासभन्दा पनि विद्यार्थीलाई पढ्न नपाइने हो कि भन्ने ठूलो भय र त्रास छ । यसले विद्यार्थीको मानसिकतामा ठूलो असर गरेको छ । जस जसले अनलाइन कक्षा लिए, इन्टरनेटको पहुँच हुनेले लिए, कतिले पढाइ मात्रै भयो भन्ने खबर मात्रै सुने, ला अरूले कक्षा लिए, मैले लिइनँजस्ता मानसिक तनाव विद्यार्थीमा बढ्दै गएको छ ।
साथै विद्यार्थीमा यस्तो असर पनि पर्छ कि फेरि पढाइ हुने हो कि, रिपिट हुने हो कि नहुने हो । सरकारले अनलाइन, दुर शिक्षा, एफएम, रेडियोबाट पढाउने भनेको छ, त्यो निर्णयबाट त्रास छ, यसले बालबालिकाको शैक्षिक सफलतादेखि सामाजिक, कौशल र मानसिक स्वास्थ्यसम्ममा महामारी सङ्कट बन्न जान्छ । र, यसको परिणाम उनीहरूको बाँकी जीवनमा पनि देखिन सक्छ ।
अहिले शिक्षामा भएको लगानी व्यवस्थित ढङ्गले परिचालन भएन । विद्यालयको भवन बनाउने, ग्राउण्ड बनाउने भन्दा पनि सीमित वर्गले रेडियो, टेलिभिजन आदिबाट पढाउने भयौं । अभिभावकमा पनि चिन्ता छ–मेरो छोराले अनलाइन कक्षा लिएन के हुने हो आदि इत्यादि ।
अनलाइनमै भएपनि शिक्षा लिँदा त भैगो नि ?
–पहुँच हुनेसम्मले लिने हो । मैले माथि नै भनिसके, पहुँच नहुनेले के लिने ? यस्तो कक्षा नलिनेहरूको बाल मनोविज्ञान कस्तो होला सोंचौ त । उनीहरू वयस्क हुँदा आत्मउन्नति गर्न नसक्ने अवस्थाका हुन्छन् । यो महामारीमा कमजोर हुने खतरा बढ्दो छ । भनौं, मनोविज्ञान कमजोर हुन्छ । बालबालिकाको शैक्षिक सफलतादेखि सामाजिक कौशल र मानसिक स्वास्थ्यसम्ममा महामारी संकट बनेको छ । र, यसको परिणाम उनीहरूको बाँकी जीवनमा पनि देखिन सक्छ ।
अनलाइन शिक्षा नलिने विद्यार्थी पनि छन् नि ?
छन् । अहिले धरानकै कुरा गर्ने हो भने ५० प्रतिशत विद्यार्थी बेपत्ता छन् । उनीहरू यहाँ नबसी पुख्र्यौली थलो अर्थात् पहाडतिर पुगेका छन् । पहाडमै पनि गर्न सकिन्छ । नेपाल कृषि प्रधान देश हो । व्यवहारिकरूपमा यहाँ पढ्ने विद्यार्थीले भुलिसकेका हुन्छन् । पहाडको धारा, हलो, जुवा, खेतबारी आदिबारे जानकारी दिनुपर्छ । उनीहरूलाई यही व्यवहारिक शिक्षा दिन सकियो भने पनि भविष्यमा काम दिन सक्छ । धेरै विद्यार्थी भन्न थालिसकेका छन्–यहाँ त धान रोप्न पनि सिक्न थालेकी छु । बाबुलाई खेत जोत्नसमेत सघाउँदै आएको छु । हलो, जुवा, कुटो, कोदालो आदिबारे समेत हाम्रा अनभिज्ञ विद्यार्थीका लागि यो पनि अवसर हो । बाँझो जमीनको सही सदुपयोग पनि हुन्छ ।
अझै केही गर्न सक्छौं त ?
यद्यपि आजको युग विज्ञान र प्रविधिको युग भनेर चिनिन्छ । विज्ञान र प्रविधिले मानव समाजको जीवनशैली नै परिवर्तन गरिसकेको छ । शारीरिक परिश्रम गरेरमात्र जीवन निर्वाह गरिरहेको ढुंगेयुगका मानवजातिलाई आधुनिक युगसम्म डोरयाउनुका साथै जीवनशैली सहज र सरल तुल्याइदिएको छ ।
हो, त्यही समयले हामीलाई अवसर दिएको छ आज । आफैंसँग रमाउने । परिवारका सदस्यहरूसँग खुसी साटासाट गर्ने । तुलनात्मक रूपमा बालबालिकाहरूको मानसिक स्वास्थ्यमा यस्ता समस्याहरूले बढी असर पर्ने हुनाले हामीले असल र जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने समय हो यो ।
बालबालिकाको मनोबल गिर्न नदिन अभिभावकहरूले एउटा कलाकारको जस्तो भूमिका निर्वाह गरौं, जसका अनेक रूप हुन सक्दछन् । बालबालिकाले खेलिरहँदा हामी खेलाडी बनौं, उनीहरूले पढ्दा कहिले शिक्षक त कहिले विद्यार्थी बनौं । कहिले हाँस्यकलाकार त कहिले नृत्य प्रदर्शक बनौं । प्रेरणादायक कथाकार बनौं । उनीहरूलाई अतिआवश्यक सीप र सामाजिक व्यवहार सिकाऔं । विद्युतीय उपकरण जस्तैस् टेलिभिजन र मोबाइलको कम प्रयोग गरौं । सबभन्दा महत्वपूर्ण, आफ्नो सन्तानको असल मित्र बनौं, जसले उनीहरूलाई एक्लोपना महसुस नहोस् र रमाएर बस्न सकुन् ।
अझै भन्ने हो भने विद्यार्थी अर्थात् घरमा रहेका बालबालिकालाई आत्मबल बढाउने खालका कार्य गराइनुपर्छ । राम्रो शिक्षादीक्षा दिन अभिभावकलाई तालिमको आवश्यकता छ । उनीहरूको आत्मबल बढाउन शिक्षक, अभिभावकलाई तालिम दिँदै अभियानकै रुपमा लानुपर्छ ।