Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालबालिकाको शिक्षामा कोरोनाको प्रभाव

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
बालबालिकाको शिक्षामा कोरोनाको प्रभाव

अनिता गुरागाईं (धनकुटाबाट फोन गर्दै) : हेल्लो ।
पवित्रा नेपाल (धरान) : हेल्लो मैले सुनिरहेको छु अनिता भन्नु न ।
अनिताः के छ खबर, ठीकै छ नि ?
पवित्राः ठीकै छ ।
अनिताः अनि सुन्नु न स्कुलले त अनलाइन कक्षा चलाउन थालेछ नि होइन ?
पवित्राः हो नि, चलाउन थालेको भन्ने सुनेकी छु तर मैले पनि खासै वास्ता गरेको छैन ।
अनिताः त्यही त यहाँ (ग्रामीण क्षेत्र) मा त अझैपनि ‘टुकी युग’ छ । कसैलाई फोन गर्नुपरयो भने पनि कता नेटवर्क दिन्छ भन्दै डाडाँतिर कुद्नुपर्ने अवस्था छ, कसरी छोराछोरीलाई अनलाइनमा जोड्ने होला चिन्तामा छु । नानीहरू पनि धरान जाऊँ जाऊँ भनिरहन्छन् । मलाई पनि अनलाइन कक्षा शुरू भयो भन्ने सुनेपछि हतारचाहिँ लागेको छ, फेरि यतातिर खेतीपाती शुरू भयो, खेती सकेर नै आउने होला नि ।
पवित्राः अहिले अनलाइन कक्षा, पछि अनलाइन छुटेकालाई र अनलाइन पढ्ने सबैलाई फेरि पढाउने भन्ने सुनेकी छु । केही टेन्सन लिनुपर्दैन । सहरका पनि सबै विद्यार्थीहरूले कहाँ पढ्न पाएका छन् र अनलाइन कक्षा ? सहरका सबै विद्यार्थीसँग इन्टरनेट, स्मार्ट फोन, कम्प्युटर र ल्यापटप हुन्छ भन्ने पनि हुँदैन । इन्टरनेट भएकाहरूको पनि समस्या उस्तै छ । कतिको त इन्टरनेट छ, कतिको छैन त यसैमा चित्त बुझाउनुपर्छ नि ।
अनिताः ए हो र ? तरपनि अहिले पढेजस्तो त पछि हुँदैन होला । कति छुट्ने हो ‘तनाव’ भइसक्यो ।
यो संवाद धरानका अभिभावक र धनकुटा घर (आफ्नो पुख्र्यौली थलो अर्थात् पहाडी जिल्ला) पुगेका अभिभावकबीचको हो । बिदा भएपछि छोराछोरी समेत लिएर पहाड र गाउँको घर पुगेकी उनमा चिन्ता छ– अनलाइन कक्षा त कतै छुट्ने होइन ? आफ्नो एक छोरा र एक छोरीलाई अनलाइन कक्षामा उपस्थित गराउन नसकेको पीडा उनले फोनमा पोखेकी हुन् ।
हो, बालबालिका भनेका भोलिका देशका कर्णधार हुन् । कोरोना कहर कहिले सकिन्छ भन्न सकिने अवस्था छैन । बालबालिकाको शैक्षिक सफलतादेखि सामाजिक कौसल र मानसिक स्वास्थ्यसम्ममा महामारी सङ्कट बनेको छ । अहिलेसम्म यति लामो समय विद्यालय बन्द भएका उदाहरण छैनन् तर, प्रतिकूल मौसमका कारण यति लामो अवधिका लागि विद्यालय बन्द हुँदा बालबालिकामा परेको असर परेको छ । बालबालिकाका लागि विद्यालयहरू बन्द हुनु कोभिड–१९ को सबैभन्दा ठूलो प्रत्यक्ष असर हो । भनौं कोरोनाको असर अझ शिक्षा क्षेत्रका बालबालिका, अभिभावक, विद्यार्थीलाई पनि परेको छ । स्कुल कहिले लाग्ने हो, लागिहाले पनि के गर्ने, कसो गर्ने भन्ने छटपटी बढेको छ । असार १ गतेदेखि सरकारले अनलाइन (भर्चुअल कक्षा) चलाउने निर्णय गरेको छ । यसले अभिभावक, विद्यार्थी, शिक्षकलाई अझै धेरै तनाव थपेको छ । बालबालिका र अभिभावकलाई कोर्ष पो सकिने हो कि चिन्ता थपिएको विद्यार्थी,ं अभिभावकहरू बताउँछन् ।
विद्यार्थी कोही पढ्दै, कोही ज्ञान लिँदै
धरान–१६ की सविना श्रेष्ठ कक्षा–७ मा पढ्छिन् । उनी पढ्ने स्कुलले अनलाइन कक्षा शरूरु गरिसकेको छ । तर, उनले भने अनलाइन कक्षा लिन पाएका छैनन् । सुरुवाती दिन ( १५ दिनजति) लकडाउन हुँदा उनले चित्र कोरेर समय बिताइन् । ‘शुरूमा चित्र कोरेर समय बिताएँ, पछि ममीले युट्युब खोलिदिएपछि अहिले युट्युबमा राम्रा र ज्ञानगुनका कुरा हेरेर बिताउँछु ।’ उनले अहिले भने अनलाइन कक्षामा सहभागिता जनाएको बताइन् । धरान–१६ कै प्रेक्षा राई घरमै कोरोनाको सावधानी अपनाउँदै आमाबाबुसँग फूलमा पानी हाल्ने, आमालाई घरभित्रको काममा सघाउने साथै युट्युबमा राम्रा फिल्म, ज्ञानगुनका कुरा सुन्दै, हेर्दै आएको तर अहिले अनलाइन कक्षामा सहभागिता जनाएको बताउँछिन् ।
धरान–१९ का अन्जना राई ‘इन्डोर गेम’ खेलेर रमाउने गरेको बताउँछिन् । उनले घरमै बाबाले किनिदिएको लुँडो पनि खेल्दै आएको बताइन् । ‘हात धुन्छु, खाना खान्छु, मास्क लगाएर छिमेकी साथीलाई डाकेर लुँडो पनि खेलिरहेको हुन्छु ।’ उनले थपिन्, ‘तर अहिले अनलाइन कक्षामा सहभागिता जनाउन थालेकी छु ।’
लकडाउनमा रोकिएकी झापा घर भएकी (हाल धरान–६ पानबारी) मा बस्दै आएकी दिया विष्ट टिकटकमा नृत्य गरेको भिडियो हाल्दै, साथीहरू र दिदीहरूसँग रमाउँदै बस्दै गरेको बताउँछिन् । ‘टिकटकमा नृत्य हाल्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेको छु ।’ उनले भेटमा थपिन्, ‘अहिले पनि घर लगिदिने सवारी साधन नभएकाले घर फर्किन पाएको छैन, साथीहरूले इन्टरनेटबाट कक्षा लिन थालिसकेका छन् भन्ने सुनेकी छु, उता घरबाट ममीले पनि फोन गरिरहनुभएको छ, आउन सक्ने भए आइज । तर म जान पाएको छैन ।’
धरान–१६ का गणतन्त्र चौक छेऊ (सुकुम्बासी वस्ती) की सविना कार्की घरमै छिन् । उनलाई अनलाइन कक्षाबारे थाहा समेत छैन । कोरोना भाइरसले गर्दा बाहिर निस्किन हुँदैन भनेर घरमै रहेको बताउँदै उनले लजाउँदै भनिन्, ‘अनलाइन कक्षा शुरू भनेको सुन्छु, इन्टरनेट छैन, मोबाइलमा रिचार्ज सकियो । अहिले मेरो दैनिकी बाबुआमालाई सघाउँदै बितिरहेको छ ।’ धनकुटाका आभा चापागाईं अनलाइन कक्षा लिन नपाएको दुखेसो गछिन्, ‘म धनकुटातिरै छु’, उनले भनिन्, पढाइ बिग्रिने पो हो कि, कोर्ष सकिने पो हो कि, कहिले धरान आएर पढ्ने थाहा छैन ।’
अभिभावकः कोही ढुक्क, कोही तनावमा
धरानका सन्तोष लिम्बूले फेसबुकमा पोट्याए– नयाँ पुस्तालाई काम सिकाइँदैछ है तपाई नि ? उनले फेसबुकमा राखेका थिए–आफ्नो छोरालाई घर सफा गर्दै गरेको फोटो । उनको पोष्टमा अगेन्द्र लिम्बूले कमेन्ट गरे–नानीमै बानी गराउने हो राम्रो हो सर । धरान–१५ की अभिभावक सम्झना लिम्बू छोराछोरीलाई घर बाहिर नजान सुझाएको बताउँछिन् । ‘जानु हुँदैन, कोरोना सर्छ भनेपछि अहिलेसम्म बाहिर निस्केका छैनन्’, उनले भनिन्, ‘घरकै काम सघाउँछन्, युट्युब र टिभीमा मनोरञ्जनात्मक कार्यक्रम, हँसाउने कार्यक्रम हेर्ने गर्दछन् ।’ उनले अनलाइन कक्षाबारे आफ्लाई केही थाहा नभएको बताइन् । ‘नानीको पढाइ एक वर्ष धकेलिएपनि धकेलियोस, म त जहिलेदेखि स्कुल लाग्छ, त्यही बेलादेखि नै स्कुल पठाउँछु ।’
धरान–१६ की अभिभावक विद्या राई भन्छिन्, ‘उसले जे गर्छ, त्यही हालतमा छाडिदिनुपर्ने बाध्यता छ । बिदाका समय बाहिर घुमाउन लजाने कुनै अवस्था नरहेकाले उनले मोबाइल दिएर छोरालाई भुलाउँदै आएकी छिन् । उनी भन्छिन्, ‘सरकारले लकडाउन नहटाएसम्म दैनिकी यसैगरी बित्नेछ ।’
धरान–६ की अभिभावक गोमा खनाल अहिले सरकारले अनलाइन कक्षा सञ्चालन गरेपछि अभिभावकमा थप तनाव सिर्जना बताउँछिन् । ‘मेरो नातिनी (दिया विष्ट) झापादेखि लकडाउन शुरू भएदेखि नै यहाँ आएर बसिराखेकी छिन्, उता अनलाइनबाट कक्षा शुरू भएको सुनेकी छु, के गर्ने के नगर्ने तनावमा छु ।’ उनले भनिन् ।
अनलाइन कक्षामा विद्यार्थी छन् पनि छैनन् पनि
विद्यालय उमेर समूहका बालबालिकाहरू दिनभर विद्यालय गएर अध्ययन गर्ने हुन् तर अहिले अनलाइनबाट घरलाई विद्यालय बनाउनुपरेको अवस्था छ । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका प्रधानाध्यापक वेनिन्द्र कटुवालले अनलाइन कक्षा सञ्चालन गरिसकेको दावी गर्छन् । ‘कक्षा सञ्चालन गरिसकेका छौं, आधा बढी विद्यार्थी अनलाइन कक्षामा सहभागिता जनाएपछि पठनपाठन सुचारू गरेका हौं ।’ उनले भने ।
धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई ८० प्रतिशत विद्यार्थी अनलाइन (अर्चुअल) कक्षामा सहभागिता जनाएको बताउँछन् । ‘हाम्रो विद्यालयका बालबालिका स्थानीयबासी हुन्, त्यही भएर पनि भर्चुअल कक्षामा बढी सहभागिता भएका हुन्’, उनले दावीका साथ भने ।
धरान–१६ स्थित सियोन स्कुलका डाइरेक्टर खड्गबहादुर थापा मगर साढे सात सय विद्यार्थीमा तीन सय विद्यार्थी मात्रै भर्चअल कक्षामा सहभागिता जनाएको बताउँछन् । ‘हाम्रोमा साढे ७ सय विद्यार्थी अध्ययनरत् छन् कोही पहाडका, कोही तराईका, त्यसैले साढे चार सय विद्यार्थी सम्पर्कविहीन छन् ।’ उनले भने ।
धरानकै सरकारी विद्यालय पब्लिक माविका प्राचार्य इन्द्रमोहन झाले भर्चुअल कक्षा सञ्चालनको तयारी थालिएको बताए । ‘अभिभावकले खासै बुझ्दैनन्, अभिभावकले नबुझेपछि, खासै विद्यार्थीले पनि चासो लिएनन्, त्यही ढिलै भएपनि तयारी थालिरहेका छौं, हेरौं, कसको विचार कस्तो आउँछ, हाम्रा अभिभावक कतिपय किसान हुनुहुन्छ भने कतिपय अशिक्षित । त्यसैले बच्चा आफैले जानेर गर्न नसकेसम्म चुनौती नै छ ।’
दिनमा चार पिरियड कक्षा सञ्चालन गर्दै आएका शिक्षक शम्भु रेग्मी अनलाइन कक्षाले पठनपाठनमा केही समस्या भएको बताउँछन् । ‘विद्यार्थीले भनेको बुझ्दैनन्, शिक्षक मात्रै कराइरहेका हुन्छन्, विद्यार्थीले ध्यान दिँदैनन् । तनाव, अप्ठ्यारो, तलब नपाएको अवस्था, आर्थिक, भौतिक हिसाबले पनि शिक्षकहरू पीडित भइरहेको विसम परिस्थितिमा नैतिक हिसाबले पनि काम गर्नुपर्ने बाध्यता रहेको छ’, उनी थप्छन्, ‘हामीले अनलाइन राखेका सामग्री पनि उपयोगी भएका छन् । सामान्य अवस्था भएपछि विशेष कक्षा सञ्चालन गरेर छुटेकालाई सिकाउने तयारी छ ।’ मुख्य शहरहरूको तुलनामा साना कक्षाको विद्यार्थीको अनलाइन कक्षामा नियमति उपस्थिति नभएको उनी बताउँछन् । तर, विद्यार्थी तथा अभिभावकको अनलाइन कक्षाप्रतिको बुझाइ स्पष्ट नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘शुल्क लिनका लागि अनलाइन कक्षा चलाएको भन्ने कतिपय अभिभावकको भ्रमले केही विद्यार्थी सिकाइबाट बञ्चित भइरहेका छन् ।’
धरानस्थित युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो अहिलेसम्म अनलाइन कक्षा केटाकेटीलाई भुलाउने कामजस्तो मात्र भएको बताउँदै भन्छन्, ‘यो नै पूर्ण होइन । धरानमै पनि इन्टरनेटको ठूलो समस्या छ, यो त विद्यार्थी र अभिभावको दिमाग भुट्ने मात्रै हो । शहरमा इन्टरनेट फ्रि नहोला, अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षकले बोलेको कुरा एउटा विद्यार्थीले शुरूमै सुन्छ, अर्को विद्यार्थीले २० सेकेण्डपछि सुन्छ । अनि कसरी पढाउनु ?’
उनी बन्दाबन्दीले शिथिल बनाएका जनमनमा चामल किन्ने पैसाले सिमकार्ड हाल्न धौधौ परेको यथार्थ रहेको बताउँदै एउटै मोबाइल वा ल्यापटपमा बाँडेर पढाइ सम्भव पनि नहुने बताउँछन् । सबै विद्यार्थीसामु अनलाइनको पहुँच पुरयाउनु र व्यवस्थित गर्नुपर्ने उनको कथन छ । उनी भन्छन्, ‘पहुँचकै कारण कति पढिसके होलान् आफू चाहिँ पछि परिने हो कि भन्ने अधिकांश विद्यार्थीमा तनावको विषय बन्नसक्छ ।’
धरान उपमहानगरपालिका बाल सञ्जालकी अध्यक्ष अप्सरा खत्री बालबालिकाले लामो समय बिदामा बस्दा तालिम लिन नपाएको, अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउन नपाएको, संघसंस्था (रेडक्रस) लगायतमा सहभागिता जनाउन नपाउँदा प्रतिभा मर्दै गएको बताउँछिन् । उनले अर्को महत्वपूर्ण कुरा धरानमा बालमैत्री घोषणा हुन बाँकी रहेका वडामा बालमैत्री घोषणा हुन नपाएको बताइन् । ‘अझै केही वडा बालमैत्री घोषणा हुन बाँकी छ, उनले भनिन्, ‘यसले पनि बालबालिकाका गतिविधिमा समस्या पैदा गर्ने र बालबालिकामा दीर्घकालीन असर पर्ने बताइन् ।

घरमै सीपयुक्त कुरा पढ्न सकिन्छ
धरान पढ्दै आएकी सुमित्रा लिम्बू संखुवासभा पुगेकी छिन् । सहरमै जन्मिएकी, हुर्किएकी उनी यही बसेर पढ्थिन् तर चैत ५ गते स्कुल छुट्टी भएपछि उनी पहाडसम्म पुगेकी हुन् । पुख्र्यौली घर पुगेकी उनले पहाडमा पाइने सबै पकारको चिज देख्न पाइन् । ‘पहाडको धारा, हलो, जुवा, खेतबारी सबै देखिसकें, यहाँ त धान रोप्न पनि सिक्न थालेकी छु ।’ उनले फोनमा भनिन् । धरानकै प्रविण दाहाल पनि संखुवासभामै छन् । उनी पनि बाबुलाई खेत जोत्नसमेत सघाएको बताउँछन ्। ‘खेल जोत्न चाहिने सामग्री (हलो, जुवा, कुटो, कोदालो आदि) बारे केही भएपनि ज्ञान लिएँ ।’ उनले फोनमा सुनाए ।
कोरोना कहर कहिले सकिन्छ भन्न सकिँदैन । बालबालिका भोलीका राष्ट्रसेवक भएकाले उनीहरूलाई रचनात्मक काममा लगाउनुपर्छ । यो राज्यको दायित्व पनि हो । त्यसैले विकल्प खोजिनुपर्छ । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेन्द्र शर्मा अहिले स्कुल नलागे कोर्ष सक्न गाह्रो हुने बताउँछन् । ‘सक्नका लागि शनिबार पनि विदा गरेर पढाउलान् तर विद्यार्थीलाई भार थपिन्छ ।’ उनले भने । उनले यसले गर्दा विद्यार्थीमा बेस कमजोर हुने पनि बताए ।
उनले विद्यार्थीको मानसिकतामा ठूलो असर गरेको बताउँदै उनले भने, ‘जस जसले अनलाइन कक्षा लिए, इन्टरनेटको पहुँच हुनेले लिए, कतिले पढाइ मात्रै भयो भन्ने खबर मात्रै सुने, ला अरूले कक्षा लिए, मैले लिइनँजस्ता मानसिक तनाव बढ्छ साथै विद्यार्थीमा यस्तो असर पनि पर्छ कि फेरि पढाइ हुने हो कि, रिपिट हुने हो कि नहुने हो ।’ अहिले पनि विद्यार्थीमा कोरोनासँगै अनलाइन कक्षाले नै भय, त्रास सिर्जना गरेको बताउँछन् । ‘सरकारले अनलाइन, दुर शिक्षा, एफएम, रेडियोबाट पढाउने भनेको छ, त्यो निर्णयबाट त्रास छ, यसले बालबालिकाको शैक्षिक सफलतादेखि सामाजिक, कौशल र मानसिक स्वास्थ्यसम्ममा महामारी सङ्कट बन्न जान्छ । र, यसको परिणाम उनीहरूको बाँकी जीवनमा पनि देखिन सक्छ ।’
उनले घरमै बसेका नानीहरूका लागि पनि अभिभावकले समन्वयको भूमिका निर्वाह गर्नुपर्ने सुझाए । ‘पहाडतिर पुगेका अर्थात् इन्टरनेटको पहुँचमा पुगेका बालबालिकाका लागि अभिभावकले सिकाउने कुरामा जोड दिनुपर्छ ।’ उनले थपे, ‘यो पनि त शिक्षा हो नि, पहाडतिर हुनेले हलो, कुटो, कोदालो, खेतबारी, खोला–खाल्सा आदिमा बालबालिकालाई थप शिक्षा दिन सकिन्छ भने यही हुनेले पनि घर व्यवहारका कुरा सिकाउन सकिन्छ ।

महामारीको छायाँले पछिसम्म सताउला ?
कोरोना भाइरसको सङ्क्रमणका कारण विद्यालयहरू बन्द भएपछि बालबालिकामा पर्ने वास्तविक असरबारे धेरै छलफल भएका छन् । तर, निचोड निस्किन सकेको छैन । उनीहरूको व्यवहारिक, भावनात्मक र सामाजिक विकासमा यसले नकारात्मक असर पुरयाउँछ । अझ ठूलो चिन्ताको विषय के हो भने, लामो समय विद्यालयहरू बन्द रहँदा बालबालिकाले आफूले पहिल्यैदेखि जानी राखेको कुरा पनि बिर्सन थाल्नेछन् । यसको परिपुरण निकै कठिन हुनेछ । बन्दाबन्दीको परिणामले अहिलेका बालबालिका वयस्क हुँदा उनीहरूको वौद्धिक स्तरमा गम्भीर प्रभाव पार्न सक्छ ।
बालबालिकामा कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने उनले बताए । उपपाध्यापक शर्मा भन्छन्, ‘अभिभावकलाई छुट्टै तालिमको आवश्यकता छ । उनले महामारी दीर्घकालसम्म रहन सक्ने र बाल मनोविज्ञान कमजोर हुन सक्ने खतरा औंल्याउँदै भने, ‘बालबालिकाले डरबाट मुक्त हुने वातावरणका लागि अभिभावक, शिक्षक, सबैले आत्मबल बढाउने कार्य गर्नुपर्छ ।’ उनले इराकको युद्ध बीस वर्ष चल्दा मनोविज्ञानको विकास भएको र बालबालिकाको मनोविज्ञान सुधार्न धेरै समय लागेको बताउँदै अभिभावक, शिक्षकलाई तालिम दिँदै आत्मबल बढाउन अभियानकै रूपमा लानुपर्ने बताए ।
बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास तथा क्वारेन्टिनमा बस्नुपर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकार भएकाहरूले आग्रह गरेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ प्रा. डा. निदेश सापकोटाले भय, त्रासको वातावरणले बालबालिका र शिक्षामै पनि दीर्घकालीन असर गर्ने बताए । ‘यसो भन्दैमा सबै आत्तिनु भएन, बालबालिका कुमालेको माटो जस्तो भएकोले हामीले पनि बालबालिकालाई त्यस्तै बनाउन सकिन्छ, अभिभावक, शिक्षक लागे मात्रै पनि हुन्छ, त्यसका लागि राज्य दरिलो भएर लाग्नुपर्ने हुन्छ’, उनले थपे, ‘बालबालिकालाई त्रसित नबनाइ, यो रोग भनेको सहज हो भन्दै, सहज वातावरण बनाउँदै इन्टरटेन्टमेन्ट दिनुपर्छ, नत्र भविष्यमा बाल मनोविज्ञानमा त्रास दह्रो भएर बस्छ र उनीहरूको मानसिक, शारीरिक, बौद्धिक क्रियाकलापमा असर गर्दै शिक्षा, स्वास्थ्य, मनोसामाजिक असर पनि पर्न सक्छ ।’
उनले बालबालिकालाई कोरोना भाइरस सङ्क्रमणको शारीरिक प्रभाव र सङ्क्रमणबाट बच्नेबारे सरकारी अभियानमा पर्याप्तमात्रामा सिकाइएपनि दीर्घकालीनरूपमा कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न नभ्याएको बताए । ‘अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, मनोचिकित्सक र राजनीतिज्ञ सबैको ठोस प्रयासबाट मात्रै हामी कोभिड–१९ ले बालबालिका र शिक्षामा परेको असरबारे बुझ्दै अभिभावक र शिक्षकलाई नै विशेष तालिमको व्यवस्था गर्नुपर्छ ।’ उनले थपे ।
धरान उपमहानगरपालिकाका शिक्षा शाखाका रत्न कटुवाल ढिलो चाँडो विद्यालय सञ्चालन हुने बताए । ‘सन्त्रास हटिसकेपछि खोल्ने हुन्’, उनले भने, ‘त्यतिबेलासम्म हामी सबै तयारी पूरा गरेर लागिसकेका हुन्छौं ।’ विद्यालय नखुल्दा बालमनोविज्ञानमा कस्तो असर गर्छ त्यो पनि अभिभावकले बुझ्नुपर्ने बताए । ‘बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ’, उनले सुझाए ।
उनले विद्यालय खुल्नुअघि नै विद्यार्थीलाई मानसिक, शारीरिक र बौद्धिकरूपमा काउन्सेलिङ गरिसक्नुपर्ने बताए । ‘प्रत्येक विद्यालयसँग अहिले विद्यार्थीमा कसरी सकारात्मक सोंचको विकास गराउने, सामान्यीकरण गर्ने भनेर समन्वय भइरहेको छ’, उनले भने, ‘सन्त्रासबाट भाग्ने होइन, सकारात्मक कुरा मात्रै भनिदिऔं अहिले जे जति छ पढौं, पढाऔं, घरमै भएपनि सिकाउने कुरा सिकाऔं भनेर प्रत्येक विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकलाई पनि भनिरहेका छौं ।’
कोभिड–१९ को अवधिमा ८६ प्रतिशत बालबालिका शिक्षकको कुनै पनि सञ्चारसँग सम्पर्कमा नरहेको सेभ द चिल्ड्रेनले हालै गरेको एक सर्वेक्षण अध्ययनले देखाएको छ ।
‘बालबालिकामा कोभिड–१९ को असरमाथि गरिएको द्रुत सर्वेक्षण’ नामक सो अध्ययनमा भनिएको छ, ‘बालबालिकाको सिकाइ सहयोगमा शिक्षक र अभिभावकबीच ठूलो ग्याप देखिएको छ ।’ ‘८६ प्रतिशत शिक्षक सिकाइ प्रक्रियाको कनेक्सनमा नदेखिनु गम्भीर अवस्था हो,’ सेभ द चिल्ड्रेनकी शिक्षा विशेषज्ञ डा. लक्ष्मी पौड्यालले भनिन्, ‘यो तथ्यका आधारमा शिक्षक नै सक्रिय हुनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।’
वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार यही असार १ गतेबाट विभिन्न माध्यममार्फत् पठनपाठन शुरु भइसकेको छ । तर, बालबालिकालाई रेडियो, टेलिभिजन प्रसारण भइरहेका बेला तालिका अनुसार पढाइमा संलग्न गराउन र अनलाइन तथा अफलाइनको नजिक बसाउन शिक्षक एवं अभिभावककै भूमिका हुनुपर्ने देखिन्छ । त्यसो त, ६५ प्रतिशत अभिभावक बालबालिकासित रहनुलाई भने सुखद पक्ष मानिएको छ । ७६ प्रतिशत बालबालिका लकडाउनको अवधिमा पनि पढाइ र खेलमा संलग्न रहेको अध्ययनमा उल्लेख छ ।
(यो आलेख धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको ‘फेलोसीप’ कार्यक्रमअन्तर्गत तयार पारिएको सामग्री हो ।)

प्रकाशित मितिः ०७७ असार ८ गते, सोमबार

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend