ताप्लेजुङः एक गाँस खान, एकसरो लगाउन, घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौं युवा विदेशी भूमिमा पुग्छन् । विदेशी भूमिमा पुग्नु कसैको रहर होइन । देशमै रोजगारी गरौंला भनेर लाखौं युवा ऋण काढेर अध्ययन गरिरहेका छन् । भएभरको सम्पत्ति अध्ययनमा सकिँदासमेत देशमा रोजगारीको अवसर नहुँदा युवा हैरान भएका छन् ।
देशमा रोजगारी पाइएन भनेर आजभोलि धेरै युवा विदेश धाउँछन् । स्वदेशको जल, जमिन छोडेर गाउँगाउँका युवा खाडी मुलुक तथा भारतीय शहरमा ऊर्जा खर्चिरहेका छन् । तर, हाम्रो समाजमा केही यस्ता व्यक्ति पनि छन् जो देशमै मिहिनेत गरेर लाखौं आम्दानी गरिरहेका छन्, विदेशी भूमिमा फाल्नुपर्ने रगत, पसिना स्वदेशमै खर्चेर केही युवा आफ्नै गाउँठाउँमा सुन फलाइरहेका छन् ।
तिनैमध्येका एक हुन् ४५ वर्षीय टेकबहादुर विष्ट । उनी ताप्लेजुङको फुङलिङ नगरपालिका–११ फावाखोला गाउँको शिर नामसालिङ खर्कमा छन् । फावाखोला गाउँको सिरानमा बाँझो रहेको जमीनमा बाख्राखर्क बनाएर अहिले खर्क नै ढाक्ने गरी बाख्रा चराउँछन् । ७० वटा बोयर बाख्रा माउले फावाखोला शिर सेताम्य बनाउँदै बाख्रा चरिरहेको देख्दा जो कोहीको मन लोभिन्छ ।
विष्टको विदेश जान सोंच पनि नभएको होइन । २०५६ सालतिर अष्ट्रेलिया जाने सपना बोकेर गाउँदेखि हाई हिमालयन म्यानपावर काठमाण्डौमा पुगेको थिए तर अष्ट्रेलिया पुगेर डलर कमाएर शहरमा एउटा आफ्नै पक्की घर, आफ्नै गाडीमा सपरिवारसँग विभिन्न ठाउँङगाउँमा घुम्ने सपना काठमाण्डौंमा धेरै दिन टिकेन । एजेन्टले ८ लाख रुपैयाँ खाएर फरार भएपछि विष्टको रङ्गीन सपना औंसीको रातमा परिणत भएको थियो ।
हुन त विष्टले जमानामा एसएलसी पास गरेर आइएसम्मको अध्ययन गरेकोले त्यो समयमा एसएलसी पास गरेकोले प्रशस्त रोजगारीको अवसर हुन्थ्यो । विष्टको मनले सोच्यो कुनै ठाउँमा रोजगारी गरौं र मेनपावरमा डुबेको ऋण तिर्न लागौं तर सम्भव नरहेकोले आफैले व्यवसाय सञ्चालन गर्नुको विकल्प नदेखेपछि उनी यसतर्फ होमिएका हुन् ।
विष्ट सानै उमेरदेखि नै पशुपालनप्रति रुचि भएकोले अन्तिममा पशुपालनबाटै सफलता हासिल गरेको विष्ट बताउँछन् । विष्टले २०७२ सालमा नामसालिङ बोयर बाख्रा फर्म घरेलु तथा साना उद्योग ताप्लेजुङमा दर्ता गरी ताप्लेजुङमा पहिलो बोयर बाख्रापालन शुरू गरेका हुन् । बिउको लागि बोयर बाख्राको बोका अष्ट्रलियाबाट रु २ लाख ५० हजार रुपैयाँमा खरिद गरेर ल्याए र पालन शुरू गरे । अहिले ७० वटा बोयर र २० वटा साना जातका माउ छन् । बयर बोका अहिले २० वर्ष पूरा हुँदैछ । यसको मासुको तौल ९५ केजीको छ । अहिलेको बोयरको मासुको बजार मूल्य प्रतिकिलो १२ सय रूपैयाँ छ ।

अहिले विष्टले मासु भन्दा पाठापाठी बिक्री गर्दै आएका छन् । उनले मकवानपुर जिल्लाको चिलाङ गाउँबाट २ लाख रुपैयाँमा बिउबोका खरिद हुन् । वार्षिक खर्च कटाएर ७ लाख पाठापाठी बिक्रीबाट जम्मा गर्दछन् । फर्मकै आम्दानीबाट एक जना छोरी व्यवस्थापन विषयमा स्नाकोत्तर (काठमाण्डौंमा) र एकजना ११ र एउटा छोरा कक्षा–३ मा (ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको लिटलबुद्ध बोडिङ स्कुलमा) पढाउँदै आएका छन् ।
विष्ट मात्र फर्मबाट मनग्ये आम्दानी गरिरहेका छैनन् उनले ताप्लेजुङको ९ वटा स्थानीय तहका बाख्रा कृषकहरूलाई बिउबोका उपलब्ध गरएर उनीहरूलाई पनि राम्रो आम्दानी दिइरहेका छन् । विष्टको फर्म पुग्न ताप्लेजुङको सदरमुकामदेखि झण्डै ४ घण्टाको बाटो छ । बाख्रा खोर बनाउन फुङलिङ नगरपालिकाको २ लाख आर्थिक सहयोगमा ४ लाखमा बाख्राखोर तयार गरेको विष्ट बताउँछन् ।
घरेलु तथा साना उद्योग कार्यालयले पनि आवश्यक सामाग्री उपलब्ध गराएको बिष्टले बताए । बोयर बिउ बोका र भर्खरका पाठापाठी बाहेक सबै खुल्ला खर्कमै चरणका लागि छोडिदिन्छन् । गोठालो चाहिँ लाग्नुपर्दैन । साँझ परेपछि खोरमा आफै फर्केर आउँछन् बाख्राहरु । खर्कमा खुल्ला छोड्दा जुका, किर्ना र झरीले कारणले विभिन्न प्रकारको रोगहरुले सताउने भएकोले खुल्लाखर्कमा बाख्रा चराउँदा निकै पछुताएको बताउँछन् । तर छिट्टै उपयुक्त जग्गा भाडामा लिएर आधुनिक खोर बनाएर बधुँवा प्रणालीबाट फर्म संञ्चालन गर्ने योजनामा छन् विष्ट ।
विष्टको एउटा सपना छ । अबको केही वर्षमा आफ्नै गाडी किनेर चढ्ने । विष्टले फर्म विस्तार गर्नको लागि नेपाल बैंकले ४ प्रतिशतमा ऋण दिने भन्दै एक वर्ष झुलाएको र अत्यमा गाउँको जग्गा धितो नलिने भन्दै ऋण नदिएको दुखेसो हाम्रो कोशी आवाजलाई सुनाए । विष्टको एउटा माग छ, ‘व्यवसायीहरुको आफ्नो व्यवसाय तथा फर्मलाई धितो राखेर सहुलियत ब्याजदरमा ऋणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई माग गर्छु ।’

नेपाल कृषि प्रदान देश हो । अहिले कृषिमा आत्मनिर्भर हुनको लागि तीनै सरकारले प्रमुख कृषि उत्पादनलाई प्राथमिता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । विभिन्न अनुदानको प्याकेज घोषणा भइसकेको छ तर यस्तो अनुदान सही कृषकमा नपुग्ने र नेताहरुको आसेपासेमा मात्र पुग्ने गरेकोले दुःख गर्ने कृषकहरुको मनोबल गिर्ने काम मात्र भएकोले किसानहरुलाई पहिचान गरेर सहुलियत ब्याजदरमा कर्जाको व्यवस्था गर्न विष्टले माग गरे ।
युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनी बताउँछन् । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ । उनले विदेशिने युवालाई आफ्नै देशमा काम गर्न सुझाए । स्वदेशमै रोजगारीको सिर्जना गर्नको लागि कृषि क्रान्तिमा होमिएको बताउँदै उनी भन्छन्, ‘बेरोजगार तथा इच्छुक युवाहरू आउनुस् यहाँ रोजगारसहित सीप सिकाउँछु । युवाहरूलाई घरका मान्छेले पनि कृषि कर्मतिर पनि सुझाउनुपर्छ ।’
विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनको भनाइ छ । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्वदेशमै केही गर्न युवालाई उनले सुझाए । बाख्राबाट पनि राम्रै आम्दानी हुन्छ, गरे देशमै सुन फलाउन सकिन्छ’ उनले थपे, ‘बुझेर तर गर्नुस् विदेश जानुपर्दैन ।’
फोटोः दिलकुमार



