ताप्लेजुङः ताप्लेजुङको स्थानीय तह आठ राई त्रिवेणी गाउँपालिकामा कार्यरत शिक्षकलाई ६ महिनामा पनि तलब लिन पाएको छैनन् ।
शिक्षकको तलब चार–चार महिनामा निकास गर्नुपर्ने भएपनि ६ महिनामा पनि आठ राई त्रिवेणी गाउँपालिकाको ३३ सामुदायिक विद्यालयमा कार्यरत ३ सय शिक्षक तथा कर्मचारीहरुले आर्थिक वर्ष समाप्त हुँदा समेत आफ्नो तलब नपाएको स्वस्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी खेरेलले जानकारी दिए । जेठ महिनामा तलब निकासा हुनुपर्ने तर साउन लाग्दा पनि तलब हात नपरेको प्रधानाध्यापक खरेलले बताए ।
गाउँपालिकामा कार्यरत कर्मचारीको ढिलासुस्ती कार्य अनुभवको तथा क्षमताको कमीले समयमै तलब भुक्तानी गर्न गाउँपालिकाले नसकेको प्रधानाध्यापक खरेलले बताए । सयमै तलब नपाउँदा पसलबाट आवश्यक खाद्यान्न सामाग्रीको बाँकी ६ महिनासम्म पनि तिर्न नसकेको कोलुङके आधारभूत विद्यालयका शिक्षिका विपना लिम्बूले जानकारी दिइन् ।
आवश्यक शिक्षकलाई तलब दिन पुग्ने बजेट नभएको समयमै शिक्षकहरुको तलब दिन नसकेको आठ राई त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद दाहालले जानकारी दिए । आवश्यक बजेट व्यवस्था गरेर पालिकाबाट चेक काटिसकेको र बैंंकमा जम्मा हुन मात्र बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।