धनकुटाः निरन्तरको वर्षाका कारण अवरुद्ध बनेको धरान–धनकुटा सडक खण्ड खुलाइएको छ ।
गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा सडक अवरुद्ध बनेको थियो । पटक–पटक अवरुद्ध गरेको सडक खुलाइएको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । ‘पानी पर्नेवित्तिकै गर्जुवाको शिरमा पहिरो जाने र पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध भइरह्यो’, उनले भनिन्, ‘अहिले केही हदसम्म खुल्ला भइसकेको छ ।’
यसपटकको वर्षाले जिल्लामा ५ घर विस्थापित भएका छन् भने लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगमस्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा रहेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि वस्ती जोखिममा परेको स्थानीयबासीले बताएका छन् । फोटोः ईश्वर थापा