धरानः चोर्नकै लागि झापाबाट काठमाडौं आउजाउ गरिरहने एक व्यक्ति काठमाडौं प्रहरीको फन्दामा परेका छन् ।
झापाका ४८ वर्षीय शोभित कार्की र्चोनकै लागि काठमाडौं जाने र चोरिसकेपछि झापा फर्किने गरेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले पक्राउ गरेको हो । प्रहरीले काठमाडौंमा सवारी–साधनभित्रको सामान चोरी गर्दै हिँडेको भन्ने पत्ता लगाएपछि उनी पक्राउ परेका हुन् । कार, स्कुटी र मोटरसाइकलका ४२ ओटा नक्कली चाबीसहित उनी नयाँबानेश्वरबाट पक्राउ परेका हुन् ।
पछिल्लो समय नयाँबानेश्वरको आन्तरिक राजश्व कार्यालयअगाडि एक स्कुटीको डिकीबाट पैसा चोरी भएको उजुरी परेपछि ‘सीसीटीभी फुटेज’का आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले बताए ।
कार्की चोरीका लागि नै झापाबाट काठमाडौं आउने र चोरी गरिसकेपछि पुनः झापा नै फर्कने गरेको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । विगत २० वर्षदेखि चोरीमा संलग्न रहँदै आएका कार्की २०५६ सालमा पनि चोरी मुद्दामा साढे दुई वर्ष जेल सजाय भुक्तान गरिसकेको खुलेको छ ।