धरानः अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परीक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ (१० औं संशोधन) ले तीन चरणमा परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।
जस अनुसार अब शिक्षक सेवा आयोगले सामान्य परीक्षा– एक सय पूर्णाङक र विषयगत परीक्षा– एक सय पूर्णाङकको परीक्षा लिने छ । यी दुई परीक्षा पनि फरक फरक मितिमा हुने छन् । पहिलो चरणको समान्य परीक्षामा उत्तीर्ण हुनेहरुले मात्रै दोस्रो चरणको लिखित परीक्षामा समावेश हुन पाउने छन् । प्रथम चरण र द्वितीय चरणमा उत्तीर्ण हुनेहरुले मात्रै तेस्रो चरणको परीक्षमा सहभागी हुन पाउने नियमावलीमा प्रष्ट व्यवस्था रहेको छ ।
यस्तै अन्तरवार्ता –२५ पूर्णाङ्कको व्यवस्था गरेको छ । शिक्षक सेवा आयोग नियमावलीको नियम १८ मा यी तीन चरण सबै उम्मेदवारहरुकोे लागि अनिवार्य गरेको छ । साथै नियमावलीको दशौ संशोधनले २५ पूर्णाङ्क प्रयोगात्मक परीक्षाको पनि व्यवस्था गरेको छ । तर प्रयोगात्मक परीक्षा सबैको लागि अनिवार्य छैन । तर, विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ, भन्ने व्यवस्था नियमावलीमा प्रष्ट गरेको छ ।
यस्तै नियमावलीले परीक्षामा कति अङ्क ल्याए उत्तीर्ण हुने भन्ने बारेमा पनि प्रष्ट व्यवस्था गरेको छ । ंनियमावलीको दशौ संशोधनले सामान्य परीक्षाको उत्तीर्णाङ्क ५० अङ्क, विषयगत परीक्षाको उत्तीर्णाङ्क चालीस अङ्क तथा अन्तवार्ता र प्रयोगात्मक परीक्षको उत्तीर्णाङ्क १० अङ्क हुनेछ, भन्ने व्यवस्था पनि प्रष्टरुपमा गरिदिएको छ । अब शिक्षकले स्थायी हुनको लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नै पर्ने व्यवस्था नियमावलीले गरेको छ ।
यसअघि भने, एक सय पूर्णाङ्कको लिखित परीक्षा लिने व्यवस्था गरिएको थियो । सो परीक्षामा ४० अंक ल्याएर पास भएपछि अन्तरवार्तामा सहभागी हुन पाइने व्यवस्था थियो ।