धरानः नेपालमा कोरोना संक्रमित बढ्दै गएका छन् ।
हालसम्म २२ हजार बढी पुगिसकेका छन् । जोखिम बढ्दै गएपनि केही विद्यालयले पठनपाठन थालेका छन् भने कुनै जिल्लामा भइरहेको पठनपाठन पनि बन्द गरिएका छन् ।
सरकारले भदौ १ गतेबाट भर्ना प्रक्रिया थाल्ने निर्णय गरेपनि फेरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण फैलिएसँगै पठनपाठन अनिश्चित नै बनेको छ ।
यो शैक्षिक सत्रलाई कायमै राख्ने गरी केही महिना धकेल्ने वा पाठ्यक्रम संकुचन गर्ने भन्ने बारेमा छलफल शुरु गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । कोरोना भाईरस कोभिड १९ को जोखिम बढ्दै गईरहेका बेला शैक्षिक कृयाकलाप सञ्चालनका लागि मन्त्रालयले निर्माण गरेको योजना र तयारी बारे छलफल गर्न संघीय संसद अन्र्तगत शिक्षा तथा स्वास्थ्य समितिले राखेको बैठकमा मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । शैक्षिक सत्रका बारेमा आज सम्म ढिलो नभएको बताउँदै उनले अन्योलको अवस्था थप जारी रह्यो भने फरक तरिकाले सोच्न पर्ने ठानेर छलफल शुरु गरेको उल्लेख गरे ।

पुरै शैक्षिक सत्र खेर जान नदिने गरी विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह जारी राखेको पनि उनले बताए । उक्त छलफलमा शैक्षिक सत्रलाई आगामी बर्षका केही महिना सम्म धकेल्ने वा पाठ्यक्रममा संकुचन गर्ने भन्ने विषयमा चर्चा भएको बताइएको छ ।
‘अहिलेसम्म त भ्याउन सकिन्छ भन्ने नै हो, तर अवस्था के हुने भन्ने कुरा मन्त्रालयको हातमा मात्रै पनि छैन, त्यसैले फरक तरिकाले सोच्न थालिएको छ’ सांसदहरुलाई सम्बोधन गर्दै उनले भने, ‘यसमा माननीय ज्यूहरुको पनि विचार आयो भने योजना निर्माणमा सजिलो हुन्छ ।’
कोभिड संकट सँगै सरकारले असार १ गते देखि वैकल्पिक विधिबाट सिकाइ प्रकृया शुरु गरेको स्मरण गराउँदै उनले संकटका बेला नियमित शैलीको पठनपाठनको अपेक्षा गर्न नहुने बताए ।
‘सरकारको निर्देशन अनुसार विद्यालय सञ्चालन गर्छौं’ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘सरकारले गरेको निर्णयअनुसार अहिले हामीले भर्ना प्रकृयालाई अगाडी बढाएका छौं, सहज परिस्थिति भएमा भौतिक दुरी कायम गरी पहिला ठूला तह कक्षाको पढाई थाल्ने हाम्रो योजना छ । तर, अब सरकारले के निर्णय गर्छ, सोहीअनुसार हामी अघि बढ्छौं ।’

सरकारले ६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमा भने, ‘६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबच्चाहरु घरबाट बाहिर ननिस्कन अनुरोध छ ।’ यो आग्रहले कतिपय सर्वसाधारण अलमल परेका छन् । बालबालिकाको हकमा उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नसक्ने भएकाले घरबाट ननिस्कन आग्रह गरिएको उनको भनाई छ । कतिपय बालबालिकाले मास्क लगाउन अटेर गर्ने भएकाले पनि घरभित्रै बस्न भनिएको गौतमले बताए ।
शैक्षिक सत्र खेर नफालौं
उता नेपाल शिक्षक संघले तत्काल अध्यादेशमार्फत् शिक्षा ऐन जारी गर्न माग गरेको छ ।
मुलुकमा नयाँ संविधान जारी भएको यति लामो समयसम्म पनि संघीय शिक्षा ऐन निमाण नगरी, सरकारले देखाएको उदासीनतप्रति दुःख व्यक्त गर्दै संघले तत्काल अध्यादेशमार्फत भए पनि संघीय शिक्षा ऐन जारी गरी शैक्षिक अराजकता र अन्योलको अन्त्य गर्न सरकारसँग जोडदार अपिल गरेको हो ।
नेपाल शिक्षक संघ संघीय कार्य समितिको आठौं पूर्ण बैठक तथा दोस्रो अनलाइन बैठकको निर्णय सार्वजनिक गर्न र शैक्षिक सत्र खेर नफाल्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति गरी स्वास्थ्य संवेदनाका आधारमा मुलुकलाई वर्गीकरण गर्दै सो वर्गीकरणका आधारमा आवश्यक पूर्वाधारमार्फत् विद्यालय सञ्चालन गर्नुपर्ने संघको माग छ ।