धरानः धरानमा लकडाउन बढ्न सक्ने संकेत देखिएको छ । भोलि २८ गतेदेखि धरानमा जारी गरिएको लकडाउन सकिँदैछ । उता जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी नै गरिसकेको अवस्था छ ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले सुनसरीमा ३२ गतेसम्म नै निषेधित क्षेत्र घोषणा गरिसकिएको बताए ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सातादिन लकडाउन बढ्न सक्ने बताए । ‘लगातार संक्रमित बढिरहेका छन्’, उनले भने, ‘भोलि कार्यपालिकाको बैठक राखिएको छ, त्यसबाट सातदिन लकडाउन थप्ने निर्णय हुनेछ ।’
सातादिन भनेको भदौ ३ गतेसम्म हो । उता धरान-९ का वडाध्यक्ष रत्न कटुवालले लकडाउन बढाएपनि तरकारी, दूधलगायतका सामग्रीलाई केही सहज हुनसक्ने बताए । ‘धरानमै मात्र ५५ जनामा कोरोना देखिनु चानचुने कुरा होइन’, धरान-९ का वडाध्यक्ष रत्न कटुवाल भन्छन्, ‘त्यही भएर पनि लकडाउन थपिनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’ उनका अनुसार धरानमा तरकारी, दूधलगायत अन्य कुरालाई केही सहज बनाउँदै लकडाउन जारी राख्नुपर्छ । यसअघि देशव्यापी लकडाउनका बेला धरानमा मापदण्ड बनाएर तरकारी बेचिएजस्तै गर्न सकिने उनले बताए ।
‘धराने जनताले सातादिनसम्म धेरै साथ दिए, यो राम्रो पक्ष हो’, उनले भने, ‘तर जनतालाई पनि हामीले साथ दिने बेला आएको छ, त्यही भएर तरकारी, दूधलगायतलाई केही सहज बनाऔं ।’ अहिले धरानेले तरकारी र दूध खान नपाएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचनासमेत सुनिन थालेको छ ।
